बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जनमत पार्टीको आन्दोलन मधेसमा, बैठक काठमाडौँमा !

बुधबार, ०४ पुस २०८०, १७ : ५०
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । जनमत पार्टीले विभिन्न समयमा आन्दोलन गरेका आन्दोलनकारीलाई काठमाडौँ बोलाएको छ । तर आन्दोलनकारीलाई काठमाडौँ बोलाएकोमा सो पार्टीको आलोचना भएको छ ।

आन्दोलन मधेसमा हुने तर बैठक काठमाडौँमा राख्ने भन्दै जनमत पार्टीको आलोचना भएको हो । यस्तो चिसोमा काठमाडौँमा हुने छलफलमा जान गाह्रो हुने उनकै पार्टीका कार्यकर्ता तथा आन्दोलनमा संलग्न नेताहरुले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयमार्फत बैठकका लागि सूचना जारी भएको हो । आन्दोलनकारीको मुद्दा तथा समस्याको बारेमा छलफल गर्नका लागि भन्दै उनीहरुलाई काठमाडौँ बोलाइएको हो ।

धनुषाका स्वरुप मण्डलले भनेका छन्, ‘स्वराज आन्दोलनमा म पनि धनुषाको बरमझिया चौकीमा बसेको छु तर पैसा छैन काठमाडौँ जानका लागि धेरै स्वराजीको ।’

कृष्ण कृषले त बैठक जनकपुर हुनुपर्ने वा मधेस प्रदेशको कुनै ठाउँ हुनुपर्ने माग गर्दै अन्यथा यो आन्दोलनकारीको बैठक परिवर्तन गराउनका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

जनमतका रामईश्वर यादवले बैठक काठमाडौँमा राख्नु उचित नभएको भन्दै आउने, जाने, बस्ने, खाने सबै सुविधाको व्यवस्था गरेमात्र आउने बताए । आर्थिक मन्दीका कारण ९० प्रतिशत आन्दोलनकारी जान सक्ने अवस्था नरहेको उनले बताए ।

सो पार्टीकी नेतृ फूलकुमारी यादवले पनि आन्दोलन मधेसमा र बैठकमा पहाडमा राखिएको भन्दै जनकपुरमा बैठक राख्न सुझाव दिएकी छन् ।

जनमतका नेता किलेश मण्डलले आफूसँग बस भाडा नभएको कारण आउन असमर्थ रहेको भन्दै आन्दोलन मधेसमा, बैठक काठमाडौँमा राखेर कार्यकर्तालाई किन आर्थिक बोझ बढाएको भन्दै अध्यक्ष राउतसँग प्रश्न गरेका छन् ।

स्वराज आन्दोलन, किसान आन्दोलन वा जनमत पार्टीको आन्दोलनमा भाग लिएका तथा कम्तीमा एक रात प्रहरी हिरासतमा बसेका वा त्यस क्रममा कुनै मुद्दा लागेका पार्टीभित्र वा बाहिरका आन्दोलनकारीलाई छलफलका लागि काठमाडौँ आउन सो पार्टीका अध्यक्ष डा.सीके राउतले आग्रह गरेका छन् । उनीहरुसँग पुस ११ गते पार्टी कार्यालयमा छलफल गर्ने बताइएको छ ।

त्यसैगरी, अध्यक्ष राउतले सप्तरीमा लगानीका लागि उद्योगी तथा लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । सानाठुला उद्योग, विद्यालय, अस्पताल, कलेज, शपिङ्ग मल, चार–पाँच तारे होटल, फन पार्क, आइटी पार्क, कल सेन्टर, अडिटोरियम, प्लानेटोरिम, बन्दरगाह, सांस्कृतिक केन्द्र आदि निर्माण गर्न चाहनेलाई सप्तरी आउन उनले आग्रह गरेका हुन् । त्यसका लागि जनमत पार्टी पूर्णरुपमा सहयोग गर्न तयार रहेको भन्दै उनले उद्योगी तथा लगानीकर्तालाई आह्वान गरेका छन् ।

भारतसँग रेल्वे जोडिने र परिवहन हिमाल–पहाड जोडिने भएकाले तथा समुन्द्रदेखि गंगा र कोशी नदी हुँदै ‘वाटर–वे’को सम्भावना रहकाले सप्तरीले सुनौलो भविष्य बोकेको दाबी अध्यक्ष राउतले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप