बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस मधेस प्रदेश सम्मेलनको तयारी पुरा, शेखर सहभागी नहुने

बुधबार, ०४ पुस २०८०, १९ : ३८
बुधबार, ०४ पुस २०८०

जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम पुस ५ र ६ गते हुने प्रथम सम्मेलनको तयारी पुरा भएको हो ।

बिहीबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुने कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, फर्मुल्लाह मन्सुर लगायत केन्द्रीय पदाधिकारी सहभागी हुने छन् ।

कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको बिहीबार उद्घाटन र शुक्रबार बन्दसत्र हुने प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बताए । बन्दसत्रमा प्रदेशका ८ वटै जिल्लाबाट छनौट भएका ८ सय २५ जना प्रदेश प्रतिनिधि सहभागी हुने छन् ।

श्रेष्ठले प्रथम प्रदेश सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनसहित प्रदेश कार्यसमितिले बुधबार पारित गरेको बताए ।

यस्तै कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीको प्रथम प्रदेश सम्मेलनले मधेसको भविष्य निर्माण गर्ने बताए  । जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रहेका यादवले प्रदेश सम्मेलन मधेस प्रदेशलाई गरिएको उपेक्षा विरुद्धको दबाबमूलक कार्यक्रम भएको बताए ।

यादवले कानुन नबन्दा संविधानले दिएको अधिकारबाट मधेसलाई वञ्चित गरी उपेक्षा गरिएको बताए । उनले भने, ‘संघीयता विरुद्धका गतिविधि भइरहेको बेला संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन मधेस प्रदेश सम्मेलन आयोजना गरिएको छ । संघीयताको खाँचो मधेस र मधेसका जनतालाई छ ।’

मधेस प्रदेशले पाएको अधिकार कार्यान्वयन गर्न र बन्न नसकेको कानुन बनाउन दबाब दिने सम्मेलनको मुख्य उद्देश्य रहेको यादवले बताए ।

बुधबार बसेको प्रदेश कार्यसमिति बैठकमा नेता शेखर कोइरालाको वरियतालाई लिएर विवाद उत्पन्न भएको थियो । मधेस प्रदेश सम्मेलन उद्घाटन समारोहमा सभापति देउवापछि मर्यादाक्रममा कोइरालालाई राखेको छैन ।

बुधबार बसेको कांग्रेसको मधेस प्रदेश समितिको बैठकले देउवापछि पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई आशन ग्रहण गराउने गरी मर्यादाक्रम मिलाएको छ ।

कोइरालालाई भने केन्द्रीय सदस्यको हैसियतमा आशन ग्रहण गराइने बैठकले निर्णय गरेको छ । उक्त निर्णयप्रति आपत्ति जनाउँदै कोइराला पक्षीय ८ जना नेताले फरक मत राखेका छन् । । ‘हामीले शेखर दाईलाई दोस्रो मर्यादामा राख्न बैठकमा कुरा राख्यौं,’ कांग्रेस मधेस प्रदेशका सदस्य रविनराज कोइरालाले भने ,‘तर, हाम्रो कुराको सुनुवाइ भएन । त्यसपछि हामीले फरक मत राखेका हौँ।’

यसअघि गण्डकी र लुम्बिनी प्रदेश सम्मेलनमा कोइरालालाई देउवापछि दोस्रो मर्यादाक्रममा राखिएको थियो । रविनराजका अनुसार मधेस प्रदेश सम्मेलनमा सहभागी हुन शेखर कोइराला बिहीबार बिहानै जनकपुर आइपुग्ने कार्यक्रम थियो । तर, वरियताका किचलोले शेखर अब सम्मेलनमा सहभागी नहुने उनले रातोपाटीलाई बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप