आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दीप लामिछाने प्रकरण

सन्दीप प्रकरणमा उमेर विवाद : उमेर कायम गर्न बालबालिकासम्बन्धी ऐनले के भन्छ ?

सोमबार, ०९ पुस २०८०, १३ : १८
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ चलिरहेको छ । वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीका तर्फबाट समेत बहस नोट पेस भई सुनुवाइ चलिरहेको हो । आइतबारको सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर बुधबार सुनुवाइको तयारी छ । 

सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको उक्त मुद्दामा हाल जन्ममिति नै मुख्य विवादको विषय रहेको छ । वारदात भएको समयमा जाहेरवालीको उमेर १८ वर्ष पुगेको हो कि १८ वर्षभन्दा कम हो भन्ने विषयमा विवाद छ । 

जाहेरवाली तथा वादी नेपाल सरकारका तर्फबाट पेस गरिएको कागजातमा जाहेरवाली गौशाला २६ को जन्ममिति २०६२ जेठ १८ रहेको उल्लेख छ । वादी नेपाल सरकारका तर्फबाट पेस भएको एसइईको सर्टिफिकेट, नागरिकता र जन्मदर्ता प्रमाणपत्रमा उनको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख रहेको छ ।

तर प्रतिवादी सन्दीप लामिछानेतर्फका कानुन व्यवसायीहरूले पेस गरेको कागजातमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गरिएको छ । उनीहरूले पेस गरेको कागजातमा उनी काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गरी नुवाकोटको स्थानीय तहमा जाँदा भरेको जन्म सूचना फारम, गौशाला २६ ले पहिलोपटक लिएको जन्ममदर्ता प्रमाणपत्र आदिबाट उनको जन्म २०६१ असार १८ गते भएको पुष्टि हुने भन्दै वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते उनी १८ वर्ष पुगिसकेको जिकिर लिएका छन् ।

जाहेरवाली गौशाला २६ कक्षा ८ सम्म काठमाडौँकै एक विद्यालयमा अध्ययन गरेकी थिइन् । कक्षा ८ बाट कक्षा ९ मा अध्ययन गर्नका लागि उनी कास्कीको एक विद्यालयमा भर्ना भएकी थिइन् । कास्कीको उक्त विद्यालयमा भर्ना हुने समयमा उनी र उनका दाजु पनि सँगै भर्ना भएका थिए । त्यतिबेला उक्त विद्यालयमा भर्ना हुने समयमा पनि गौशाला २६ ले जन्मदर्ता प्रमाणपत्र पेस गरेकी थिइन् । २०७५ पुस १८ गते नुवाकोटको एक स्थानीय तहबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उनको जन्ममिति २०६१ असार १८ गते रहेको छ । जन्ममितिका आधारमा सुरुको चार अङ्क जन्म वर्ष, त्यसपछिको दुई अङ्क जन्म महिना, त्यसपछिको दुई अङ्क जन्मदिन र त्यसपछिको अङ्क स्थानीय तहको दर्ता किताबमा रहेको रजिस्ट्रेसन नम्बरलाई आधार मानी दिने गरिएको पाइएको छ । सोही आधारमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ मानी उनको जन्मदर्ता प्रमाणपत्र नम्बर २०६१०३१८००५९२ कायम गरिएको थियो ।

नुवाकोटको स्थानीय तहले दिएको सोही प्रमाणपत्र पेस गर्दै उनले कास्कीको विद्यालयमा कक्षा ९ मा भर्ना भएकी थिइन् र उक्त विद्यालयको रेकर्डमा पनि उनको जन्ममिति २०६१ असार १८ नै उल्लेख रहेको छ । 

जाहेरवालीले कास्कीको एक विद्यालयमा भर्ना हुने समयमा पेस गरेको जन्मदर्तामा भन्दा फरक पर्ने गरी विद्यालयको रजिस्ट्रेसन फारम भरेकी थिइन् । उनले रजिस्ट्रेसन फारम भर्ने समयमा भने २०६२ जेठ १८ गतेको मिति राखेर भरेको पाइएको छ । सोही मितिलाई आधारमा मानेर पछि एसइईको प्रमाणपत्र, क्यारेक्टर सर्टिफिकेट र नागरिकता समेत बनेको थियो । पछि नागरिकता बनाउने समयमा भने उनले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरी जन्ममिति समेत सच्याएको नुवाकोटको एक स्थानीय तहले काठमाडौँ जिल्ला अदालतलाई लेखेको पत्रमा उल्लेख छ ।

बालबालिकाको उमेर विवाद आएमा कसरी हुन्छ निरूपण ?

बालबालिकाको उमेरसम्बन्धी विवाद आएको खण्डमा त्यसको निरूपण गर्नका लागि भन्दै बालबालिका सम्बन्धी ऐन, २०७५ का दफा ८५ मा उल्लेख गरिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ८५ मा उमेरमा विवाद आएमा अस्पतालले जारी गरेको प्रमाणपत्र भएमा त्यसलाई मान्यता दिने, त्यो नभए स्थानीय पञ्जिकाधिकारी कार्यालयमा रहेको रेकर्ड वा जन्मदर्ता प्रमाणपत्रलाई मान्ने उल्लेख छ । त्यो पनि नभएमा विद्यालयमा रहेको चारित्रिक प्रमाणपत्रमा रहेको उमेर वा विद्यालयमा भर्ना हुँदाका समयमा पेस भएको कागजातका आधारमा खुलाइएको उमेरलाई मान्यता दिनुपर्ने उल्लेख छ ।

  • यस्तो छ कानुनी व्यवस्था 

८३. बालबालिकाको उमेर कायम गर्ने आधार : 

बालबालिकाको उमेर कायम गर्दा देहायका कुरालाई आधार मानिनेछ :–

(क) अस्पतालबाट जारी भएको बालबालिकाको जन्मदर्तामा उल्लिखित जन्म मिति,

(ख) खण्ड (क) बमोजिमको जन्म मिति नभएमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति,

(ग) खण्ड (ख) बमोजिमको प्रमाणपत्र नभएमा विद्यालयको चारित्रिक प्रमाणपत्रमा उल्लिखित जन्म मिति वा विद्यालयमा भर्ना हुँदाका बखत उल्लेख गरेको जन्म मिति,

(घ) खण्ड (ग) बमोजिमको प्रमाणपत्र वा जन्म मिति पनि नभएमा अस्पतालबाट प्रमाणित उमेर सम्बन्धी प्रमाणपत्रमा उल्लिखित मिति,

(ङ) खण्ड (घ) बमोजिमको प्रमाणपत्र पनि नभएमा जन्मकुण्डली, चिना, टिपोट, बालबालिकाको बाबु आमा, संरक्षक वा परिवारका अन्य सदस्यले खुलाई दिएको उमेर वा यस्तै अन्य सम्बद्ध प्रमाण ।

Dafa 85

बालबालिका सम्बन्धी ऐनले बालबालिकाको उमेर विवाद आएमा त्यसको निरूपण गर्ने आधार पेस गर्दा यो विधि अपनाउने भनेको थियो । हालको कानुनले १८ वर्ष नपुगेसम्म उनीहरू बालबालिका हुने भन्ने उल्लेख गरेको छ भने नागरिकता लिने उमेरचाहिँ १६ वर्ष तोकेको छ । नेपाल नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता अध्यादेश, २०७८ मा पनि नागरिकता लिने उमेर १६ वर्ष कायम गरिएको छ । 

सोही व्यवस्था बमोजिम बालबालिका हुने भनिए पनि १६ वर्ष उमेर पुगेपछि नागरिकता बनाउन सकिन्छ । सोही आधारमा गौशाला २६ ले पनि नागरिकता बनाएको देखिन्छ । उक्त नागरिकतामा भने गौशाला २६ को जन्ममिति २०६२ जेठ १८ गते उल्लेख रहेको छ । यही मितिलाई आधार मान्दा वारदाता भएको भनिएको मितिमा यी जाहेरवालीको उमेर १७ वर्ष ३ महिना मात्रै पुगेको देखिन्छ । 

काठमाडौँ जिल्ला अदालतमा स्पष्टरुपमा उमेरमा कैफियत भएको कागजातहरू पेस भएका छन् । मुख्यतः जन्ममिति र उमेर विवादकै विषयमा बहस केन्द्रित रहेको अवस्थामा अदालतले नागरिकतालाई जन्ममितिको आधार मान्छ कि स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा रहेको रेकर्डलाई मान्यता दिन्छ, सोही आधारमा सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको मुद्दाको छिनोफानो हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप