शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

खुँखार चोर, जो १६ औँ पटक थुनामा छन्

लागु औषधले देखाएको चोरीको मार्ग
सोमबार, ०९ पुस २०८०, १७ : ५२
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा एकजना थुनुवा छन् । उनी हुन्, अमर देउला । ललितपुरको मंगलबजार घर भएका अमरलाई साथीभाइले ‘लाटो’ भनेर चिन्छन् । मंगलबजारको घर बेचेर अहिले उनी इमाडोलमा डेरामा बस्छन् ।

देउलालाई चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले रातोपाटीलाई बताए । २०८० कात्तिक ३० मा ललितपुर महानगरपालिका–८ खरिबोटस्थित रमेश श्रेष्ठको घरमा छिरेर १५ लाख बराबरको धनमाल चोरी गरेको मुद्दामा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरूले देउलाले चोरेको ८ तोला सुन बरामद गरेका छन् । अमर पहिलोपटक पक्राउ परेका हैनन् । प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) अनुसार अहिले उनी १६ औँ पटक प्रहरीको नियन्त्रणमा छन् ।

यस्तो छ अमरको अपराध तथ्यांक

Capture

२०६७ मङ्सिर ९ मा पहिलोपटक पक्राउ परेका थिए अमर । पहिलोपटक अभद्र व्यवहार मुद्दामा समातिएका उनी धेरैपटक चोरी मुद्दामा जेल परे । २०७१ मा मात्रै उनलाई प्रहरीले ११ वटा मुद्दा चलाएको तथ्याङ्कबाट भेटिएको छ ।

लागु औषधले देखाएको मार्ग

अमर लागु औषध प्रयोगकर्ता हुन् । लागुऔषध सेवन गर्दागर्दै उनले चोर्न थालेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । उनी नसाको सुरमा अर्काको घरमा छिरेर चोर्छन् अनि, चोरेको सामान तत्काल बेच्न भ्याउँछन् ।

अमर देउला आफ्नो मोटरसाइकलमा एक्लै चोर्न हिँड्छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘उनी समूहमा हिँड्दैनन् ।’ ४० वर्षीय अमरलाई प्रहरीले सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेपछि उनले प्रहरीसँग भनेका छन्– ‘मैले चोरेको छैन ।’ अमर अहिले पनि लागुऔषध सिरिन्ज प्रयोग गर्छन् । डेरामा उनीसँगै उनकी पत्नी र छोरी बस्छन् ।

परिवारले उनलाई लागु औषधको लत छुटाउन भैंसेपाटीस्थित रिह्याव सेन्टरमा राखेको थियो । तर, त्यहाँबाट एक दिन आउट निस्केर उनी खरिबोटमा चोर्न पुगेका हुन् ।  २०६७ देखि अमरलाई चोरी र अभद्र व्यवहार मुद्दामा पक्राउ गर्न थालिएको ललितपुरका एसपी कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप