सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

नलगाडमा ८०९७ अस्थायी आवास बनाउनुपर्ने, अहिलेसम्म जम्मा ३ हजार ९२९ तयार

जाडो महिनाभर त्रिपालमै बिताउनुपर्ने जोखिम, कष्टकर बन्दै दैनिकी
मङ्गलबार, १० पुस २०८०, १३ : ४७
मङ्गलबार, १० पुस २०८०

सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ भूकम्प गएको एक महिना २४ दिन भइसकेको छ । यद्यपि भूकम्प प्रभावित क्षेत्रका नागरिक अझै त्रिपालमुक्त हुन सकिरहेका छैनन् । जाजरकोट भूकम्पबाट निकै प्रभावित नलगाड नगरपालिकामा ८ हजार ९७ परिवार भूकम्पबाट प्रभावित छन् । उनीहरुको घर बस्न नमिल्ने गरी भत्किएको हो ।

प्रभावित सबैजसो नागरिकहरु कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा कष्टकर दैनिकी बिताइरहेका छन् । त्रिपालको बसाइ असहज बन्दै गइरहेको छ भने चिसोका कारण विभिन्न खालका रोग देखिन थालेको छ । तर, मङ्सिरभित्रै नागरिकलाई त्रिपालमुक्त गर्ने भनिए पनि सार्थक हुन सकेको छैन ।

अस्थायी आवास निर्माणमा ढिलाइ हुनाले पीडितले चिसो मौसम त्रिपालमै गुजारा गर्नुपर्ने अवस्था रहेको सरोकारवालाहरु बताउँछन् । नलगाड नगरपालिकाको तथ्याङ्क अनुसार नगरपालिकाभित्र अहिलेसम्मम ३ हजार ९२९ वटा मात्रै अस्थायी आवास निर्माण भएका छन् । निर्माण भएका कतिपय आवास छानोबिनाका छन् भने कतिपय अधुरा पनि छन् ।

अस्थायी आवास कति बने ?

८ हजार ९७ घरधुरीमध्ये वडा नम्बर १ मा ९८४ वटा अस्थायी आवास आवश्यक पर्छ । उक्त वडामा अहिलेसम्म ६५१ वटा अस्थायी आवास निर्माण भएका छन् । यो नगरको सबैभन्दा बढी मानवीय क्षति भएको वडा यही हो । यो वडाका कतिपय गाउँनै जोखिममा छन् । ४७७ वटा अस्थायी आवास आवश्यक पर्ने वडा नम्बर २ मा अहिलेसम्म ३७५ वटा अस्थायी आवास बनेका छन् भने ६७४ वटा आवश्यक पर्ने वडा नम्बर ३ मा ४५० वटा अस्थायी टहरा बनेका छन् ।

वडा नम्बर ४ मा ४५१ अस्थायी आवास आवश्यक पर्नेमा अहिलेसम्म १०१ वटा मात्रै निर्माण भएको नगरपालिकाका सूचना अधिकारी जुना शाहीले बताइन् । वडा नम्बर ५ मा ९८५ वटा अस्थायी आवास निर्माण भएका छन् । ६६९ वटा अस्थायी आवास आवश्यक पर्ने वडा नम्बर ६ मा ६३० वटा निर्माण भएका छन् ।

वडा नम्बर ७ मा ६३८ वटा आवश्यक पर्नेमा अहिलेसम्म ५०१ वटा निर्माण भएका छन् भने वडा नम्बर ८ मा ९१३ आवश्यक पर्नेमा १० वटा मात्रै बनेका छन् । वडा नम्बर ९ मा ३० वटा मात्रै अस्थायी आवास बनेका छन् । जबकि यो वडामा ५५६ वटा टहरा आवश्यक पर्छ ।

३७८ वटा टहरा आवश्यक पर्ने वडा नम्बर १० मा ११, ३७४ वटा आवश्यक पर्ने वडा नम्बर ११ मा ५५ टहरा बनेका छन् । यस्तै ५५१ वटा आवश्यक पर्ने वडा नम्बर १२ मा १०५ र वडा नम्बर १३ मा २५ वटा मात्रै अस्थायी आवास निर्माण भएका छन् । उक्त वडामा ४१८ टहरा आवश्यक पर्छ । सूचना अधिकारी शाहीका अनुसार उक्त तथ्याङ्क वडाहरुबाट संकलन भएको हो ।

नगरपालिकाभित्र कुन राजनीतिक दलहरुले कतिवटा अस्थायी आवास निर्माण गरेका हुन् भन्ने यकिन नभए पनि केही संस्था तथा पार्टी संगठनले बनाएको आवासको तथ्याङ्क भने संकलन भएको छ । वडा नम्बर १ मा एचआरडीसी नामको संस्थाले दुई सय आवास निर्माण गरेको छ भने नेकपा (माओवादी केन्द्र) निकट वाइसीएलले वडा नम्बर ३ मा ५० वटा आवास बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वडा नम्बर ४ मा १३, आरआरएन नामक संस्थाले वडा नम्बर ६ मा ६५, आत्मनिर्भर संस्थाले वडा नम्बर ७ मा २९ वटा टहरा बनाएको छ ।

यस्तै विप्लप नेतृत्वको नेकपाले वडा नम्बर ८ मा १५ वटा टहरा निर्माण गरेको छ भने सुन्दर ढोका साथी सेवा नामक संस्थाले वडा नम्बर १२ मा ५ र १३ मा ४ वटा अस्थायी आवास निर्माण गरेको छ । यसरी दलहरु तथा संघ संस्थाबाट ३८१ वटा अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवासमध्ये कुन दलले कति बनाए भन्ने तथ्याङ्क छैन । विशेषगरी नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसले यहाँ आवास निर्माण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप