बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सपेक्टर वाग्ले प्रकरण : रकम ट्रान्सफर गर्न लगाउने प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, ११ पुस २०८०, १६ : ५६
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम ) स्थित इलाका प्रहरी कार्यालय बर्दघाटका सादा पोसाकमा खटिएका प्रहरी जवान सञ्जीव धवल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको घटनाको सम्बन्धमा बनेको छानबिन समितिको प्रतिवेदनले धवलको क्रियाकलापका सम्बन्धमा छानबिन गर्नुपर्ने सुझाव दिएको थियो । 

आयोगले छानबिन गर्दा धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा ५५ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएको देखिएको हो । उनीमाथि थप कारबाही हुन भन्दै गृह मन्त्रालयले अनुसन्धान गर्दा धवलले २०७८ साउन २१ बुलुका अवैध मोबाइलसहितको गाडी लिई आउने अर्जुन प्रसाद शर्मा र इन्द्र लाल श्रेष्ठलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन प्रक्रिया अगाडि बढाउनुको सट्टा व्यक्तिगत लाभ प्राप्त गर्ने उद्देश्यले उनीहरूबाट नगद एक लाख २० हजार र बैंकिङ प्रणालीमार्फत ५५ हजार रुपैयाँ लिएको देखिएको हो ।

गृहले धवलविरुद्ध मुद्दा चलाउन आयोगमा सुझाव दिएको थियो । आयोगले थप अनुसन्धान गर्दा धवलको करतुत बाहिर आएको हो । उनी विरुद्ध  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा घ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा जरिवाना हुन र कैदसजायको मागदावी गरेको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका –८ अर्जुन प्रसाद शर्मा र वडा नम्बर–२१ का इन्द्रलाल श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूले व्यक्तिगत लाभ प्राप्त गर्ने उद्देश्यले राष्ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभावमा पारी अवैध मोबाइलसहितको गाडी छुटाउन र आफूहरू कानुनी कारबाही समेतबाट बच्नको लागि गैरकानूनी रूपमा घुस खुवाएको आरोप छ । २०७८ साउन २५ गते मोटरसाइकलको ठक्करबाट निरीक्षक वाग्लेको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप