बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात

बुधबार, ११ पुस २०८०, २१ : २३
बुधबार, ११ पुस २०८०

मस्को । युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रुसले युरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताएका छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रुसी सेना पठाएपछि पश्चिमा देशहरूले रुसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।

“हामीले पहिले युरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ,” ऊर्जा नीतिका प्रमुख नोभाकले भने । “यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,” नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भने ।  युरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ ।

नोभाकले भने, “तेल निर्यातका लागि चीनको हिस्सा ४५–५० प्रतिशत पुगेको छ र भारत वर्तमान अवस्थामा हाम्रो मुख्य साझेदार बनेको छ ।” भारतले पहिले करिब करिब कत्ति पनि माल प्राप्त गरेको थिएन तर अहिले एक प्रमुख खरीददार बनेको छ । “दुई वर्षको अवधिमा भारतलाई आपूर्तिको कूल हिस्सा करिब ४० प्रतिशत पुगेको छ,” नोभाकले भने । 

रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ । यद्यपि यी बिक्रीहरू वैध छन् । यो रुसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले युरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् । 

मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रुसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ । नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताए । 

नोभाकले रुसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गरेका छन् । नोभाकका अनुसार तेल र ग्यास उद्योगले रुसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रुसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ । नोभाकले रुस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताए ।-(रासस/एएफपी) 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप