बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अयोध्यामा रामको मूर्ति बनाउन नेपालबाट पठाइएका शिला के गरियो ? *

शुक्रबार, १३ पुस २०८०, ११ : ५७
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नजिकै आइरहेको छ । प्राण प्रतिष्ठा नजिकिँदै गर्दा मन्दिरमा रामको मूर्ति बनाउन नेपालबाट पठाइएको शिलाबारे रुचि र चर्चा बढिरहेको छ ।

गत माघमा काली गण्डकी नदीको तिरबाट अयोध्यामा २ ओटा शिला पठाइएको थियो । यिनीहरूको तौल क्रमशः १४ टन र २७ टन थियो । कालीनदी तटबाट सङ्कलन गरिएका यी शिला जनकपुरको जानकी मन्दिरमार्फत अयोध्या पठाइएको थियो ।

सुरुमा यी शिलाबाट रामको मूर्ति बनाइने कुरा सुन्नमा आएको थियो । तर यी शिला मूर्ति बनाउन उचित नभएको खबर पनि आए । भारतीय सञ्चार माध्यमहरूमा छापिएका केही खबरका अनुसार यी पत्थरबाट मूर्ति बनाउने विषयमा राम मन्दिरसँग सम्बन्धित सन्तहरूले नै आपत्ति जनाएका थिए । 

खबरका अनुसार यी शिला काली गण्डकी नदीको भएको अनि त्यहाँको शिला शालिग्राम बराबर भएकोले तिनलाई मूर्ति बनाउन प्रयोग गर्न नसकिने केही सन्तको मान्यता थियो । शिलाको 'टेक्निकल' परीक्षण पश्चात् मूर्तिकारहरूले यस्तो शिलाबाट मूर्ति बनाउन सम्भव नभएको बताइएको छ ।

१४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको शिलामा मूर्ति कोर्न खोजिएको थियो । तर यो शिला पनि मूर्ति बनाउन उपर्युक्त नपाइएपछि दुबैलाई राम मन्दिरको निर्माण स्थल नजिक राखियो । राम मन्दिरको गर्भ गृहमा राख्न भारतको अलग अलग स्थानबाट ल्याइएको ढुङ्गाहरूबाट तीन ओटा मूर्ति बनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यीमध्ये सबैभन्दा राम्रो मूर्तिलाई छानेर गर्भ गृहमा राखिने छ । नेपालबाट पठाइएको शिलाबाट मूर्ति नबनाइएको भए पनि शालिग्रामको रूपमा पूजा गर्नु पर्ने भन्दै नेपालका केही प्रतिनिधिहरूले जोड दिइरहेका छन् ।

कहिले छ प्राण प्रतिष्ठा ?
अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनवरी २२ ( ८ माघ  ) मा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ । ट्रस्टले यसको तयारीका लागि पाहुनाहरूलाई निम्तो पठाउन पनि सुरु गरेको छ ।  मन्दिरको गर्भगृह निर्माणको काम चौबिसै घण्टा भइरहेको छ । समयमै काम सम्पन्न गर्ने प्रयास भइरहेको छ ।

यस कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित देश विदेशबाट विशेष अतिथि अयोध्या आउनेछन् । नयाँ मन्दिरको लागि पुजारीहरू छान्ने काम पनि भइरहेको छ ।

*( पछि सम्पादन गरिएको)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप