शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सबै सहकारी खराब छैनन् : उपसभामुख

शनिबार, १४ पुस २०८०, १९ : २६
शनिबार, १४ पुस २०८०

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्थाहरु खराब नरहेको बताएकी छन् । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न २४औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले पछिल्लो समय थुप्रै सहकारीमा समस्या देखिएको भए पनि सबै सहकारी खराब छन् भन्न नमिल्ने बताइन् । 

हाल आफू विभिन्न अध्यादेशहरुको अध्ययनमा व्यस्त रहेको भन्दै उनले सहकारी अभियानलाई अझ बढी आफ्ना सेयर सदस्यहरुको आर्थिक जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्ने धारणा राखिन् । उनले सहकारी साक्षारता, आर्थिक साक्षारता वृद्धिमा काम गर्न पनि सुझाव दिइन् ।

उनले कालिमाटी तरकारी बजारका व्यवसायीहरुले संचालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उक्त सहकारी सुशासनमा संचालन भइरहेको आफूले पाएको बताइन् ।  तरकारी बजारका व्यवसायीले निःशुल्क उपलब्ध गराउने तरकारीका कारण कोभिड १९ को महामारी चलेका बेला आफूले दुई वर्षसम्म लाखौँ नागरिकलाई खाना खुवाउन सकेको उनले स्मरण गरिन् । 

संचालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका विशिष्ट अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलपूmल साकोस सुशासनमा चलेको आफूले पाएको चर्चा गरे । 

यस्तै सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले पनि तरकारी फलफूल साकोसको आर्थिक विवरणको सरसर्ती अध्ययन गर्दा सुशासनमा संचालन भइरहेको आफूले पाएको बताए ।  आफू नियमनकारी निकायको प्रतिनिधि भएको नाताले आफूले सहकारीभित्रका विकृति सुधारका निम्ति प्रयास गरिरहेको भन्दै उनले अझ बढी सदस्यमुखी बन्न सुझाब दिए । 

मुलुकको अर्थतन्त्रका तीनमध्ये एक खम्बा भए पनि सहकारी संस्थाहरुमा समस्या देखिएकाले कानुनी व्यवस्था गरेरै समाधान खोज्न प्रदेश सरकार प्रयासरत रहेको उनले बताए । 

साधारणसभाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको सहकारी संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए । कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुंगानालाई सम्मान गरिएको थियो । यसैगरी, सहकारी संस्थाका सेयर सदस्यहरुका छोराछोरीमध्येबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले बताइन् ।

२०५६ साल माघ २१ गते ३० जना सदस्यहरूले ३१ हजार ९ सय सेयरपुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २४ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप