शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘मध्यपश्चिम विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा घेराबन्दी भइरहेको छ’

आइतबार, १५ पुस २०८०, १४ : १२
आइतबार, १५ पुस २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई इज्जतका साथ चलाउन खोज्दा आफूमाथि चारैतिरबाट घेराबन्दी गरिएको बताएका छन् । राजनीतिको आडमा आफूमाथि घेराबन्दी गरिएको उनको आरोप छ । 

आइतबार प्रश्न पत्र चुहावट सम्बन्धी कारबाहीको विषयमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति सिंहले विश्वविद्यालय राजनीतिको चङ्गुलमा फसिरहेको र आफूले त्यसबाट माथि उठाउन खोजेको बताए । पुस तीन गतेदेखि सञ्चालन हुने भनिएको स्कुल अफ इन्जिनियरिङ स्नातक तह छैटौँ सेमेस्टरको प्रश्न पत्र परीक्षा सञ्चालन हुनुभन्दा पहिला नै बाहिरिएको थियो । 

प्रश्न पत्र चुहावटको विषयमा छानबिन समिति समेत बनाइसकिएको छ भने परीक्षा स्थगित गरिएको छ । परीक्षा व्यवस्थापन कार्यालयबाट नै प्रश्न पत्र चुहावट भएको आशङ्का गरिएको छ ।

उपकुलपति सिंहले अहिलेसम्म ६ जना शंकाको घेरामा रहेको र उनीहरूमाथि छानबिन भइरहेको बताए । सिंहले जसरी भए पनि दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरे । 

विश्वविद्यालयमा यस्ता खालका गतिविधि यसअघि पनि भइरहेको र आफू आएपछि त्यस्ता गतिविधि बन्द गरेको दाबी उनको छ । ‘म आए देखिनै विश्वविद्यालयलाई कडाइ गर्ने र सुधार गर्ने कोसिस गरिरहेको छु,’ उनले भने, ‘ तर, राजनीतिका नाममा ममाथि चारैतिरबाट घेराबन्दी भइरहेको छ ।’ 

परीक्षामा समेत राजनीति गर्ने काम भइरहेको बताउँदै सिंहले यस्तो खालको गतिविधिले शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप