मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सौगात–विपिनको ‘द रेड सुटकेस’ नेपाली नयाँ वर्षमा

सोमबार, १६ पुस २०८०, ११ : २७
सोमबार, १६ पुस २०८०

काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म ‘द रेड सुटकेस’ नेपालमा भने आगामी नयाँ वर्ष अर्थात चैत ३० बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । 

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाले निर्देशन गरेका हुन् । 

गत सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्त्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल लगायतमा छनौट भएको थियो ।

निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गरेको बताए । ‘विश्वका दर्शकहरूको प्रतिक्रिया हाम्रो लागि उत्साहपूर्ण रह्यो । अब हामी घरेलु दर्शकको पनि प्रतिक्रियाका लागि उत्सुक छौँ । त्यसैले नयाँ वर्षको पूर्व सन्ध्यामा हामीले फिल्म सार्वजनिक प्रदर्शन गर्ने निर्णय गरेका छौँ ,’ पोखरेलले भने । 

निर्देशक देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’ जस्तै रहेको बताए । ‘सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब चाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो फिल्म समसामयिक समाजको ऐना पनि हो ।  यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ । प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ ।’

फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरो अन्तर्गत डेब्यु फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड जिताएको थियो । फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो । 

निर्देशक फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ लगायतको कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रूपमा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप