आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राज्यव्यवस्था तथा सुशासन समिति बैठक

‘पीएसओले  नजाऔँ भन्दाभन्दै मन्त्री ज्वाला आन्दोलन भएको ठाउँमा गए’

सोमबार, १६ पुस २०८०, १३ : ४१
सोमबार, १६ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।  सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको बताएका हुन् ।   

उनले भने, ‘पीएसओले नजाऔँ भन्दाभन्दै, त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले कत्रो मूल्य चुकाउनुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठुलो दुर्घटना भयो ।’

बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए । उनले भने, ‘यो समितिले मन्त्रीको लापरबाही हेर्छ की हेर्दैन ? लापरबाही हो भने दण्ड हुन्छ ।’  

गत शुक्रवार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले प्रदर्शन गरिरहेको क्षेत्रबाट मन्त्री ज्वालाले यात्रा गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी जलाइदिएका थिए ।

यो घटनामा मन्त्री ज्वालाले आफू घटनास्थलमा भएर पनि थिइनँ भनेर झुट्टो बोलेको पनि पुष्टि भएको छ । उनले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएको र आफूलाई बैठकस्थलमा छोडेर फर्किंदा गाडीमा आगजनी भएको बताएका थिए । मन्त्री ज्वालाले शुक्रवार मध्यान्ह रातोपाटीसँग भनेका थिए, ‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला गाडीमा आगो लगाएछन् ।'

रातोपाटीले मुलुकको जिम्मेवार मन्त्रीको भनाइमा विश्वास गरेर समाचार बनाएको थियो l तर अहिले सामाजिक सञ्जाल मार्फत बाहिरिएको भिडियोमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ । दृश्यमा प्रदर्शनकारीले मन्त्री ज्वालालाई पछाडिबाट धकेलेको र सुरक्षाकर्मीले उनलाई जोगाउन खोजेको पनि देखिन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप