आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सहकारी

आदर्श सहकारीमा १ करोड १५ लाख घोटालाको नालीबेली

घोटालाको रकम जग्गा र घरमा लगानी
सोमबार, १६ पुस २०८०, १६ : १४
सोमबार, १६ पुस २०८०

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नवआदर्श सहकारी संस्थाका व्यवस्थापक ३० वर्षीय उमेशकुमार मण्डलले चार वर्षमा सहकारीको एक करोडभन्दा बढी रकम  अपचलन गरेको खुलेको छ ।

कटहरी गाउँपालिकाले गठन गरेको विज्ञ टोलीले गरेको छानबिन प्रतिवेदन र अदालतमा दायर भएको अभियोग पत्र अनुसार मण्डलले २०७५ भदौ १९ देखि २०७९ असार १२ सम्म चार वर्षमा १ करोड १५ लाख ८७ हजार ४५४ रुपैयाँ अपचलन गरेको खुलेको हो ।

तत्कालीन व्यवस्थापक किशोर कुमार पाण्डे २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कटहरी गाउँपालिका–२ को वडाध्यक्षमा निर्वाचित  भएपछि राजीनामा दिएका थिए । पाण्डेले राजीनामा दिएपछि सञ्चालक समितिको २०७५ चैत २२  गते बसेको बैठकले यसअघि काम गर्दै आएका मण्डललाई व्यवस्थापकको जिम्मेवारी दिएको थियो ।

उनी उक्त सहकारीमा २०७३ भदौ १९ देखि कार्यरत थिए । उनी त्यसबेला सहकारीको सम्पूर्ण आर्थिक सहायक खाता व्यवस्थापन र कम्प्युटर सफ्टवेयर व्यवस्थापनको जिम्मेवारीसहित सहायक तृतीय पदका कर्मचारी थिए ।

व्यवस्थापकको जिम्मेवारी पाएपछि मण्डलले चार वर्षमा ३ सय ८० जना बचतकर्ताको रकम हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनबाट खुलेको हो । चार्टर एकाउन्टेन्ट सुरज तिम्सिनाको नेतृत्वमा २०७९ माघमा गठन गरेको छानबिन प्रतिवेदन अनुसार मण्डलले पदको दुरुपयोग गरी नक्कली कागजपत्र बनाएर विभिन्न बचतकर्ताको बचत फिर्ता लिएको पाइएको छ ।

मण्डलले फिक्स डिपोजिट भन्दै बचतकर्ताको रकम लिने र बचत नगरी आफैँ रकम चलाइदिने गरेको पनि खुलेको छ । उनले हस्ताक्षर दुरुपयोग गरी सफ्टवेयरमा जथाभाबी अघिल्लो मिति राखी कागजात बिना रकम प्रविष्ट गर्ने, इन्ट्री डिलिट गर्ने, एक व्यक्तिको बचत अर्को व्यक्तिमा प्रविष्ट गर्ने, एक व्यक्तिको ऋण सेयर अरू व्यक्तिको नाममा प्रविष्ट गर्ने, ऋण समितिमा ऋण निवेदनका लागि आफूखुसी ऋण प्रवाह गरेर सहकारीको रकम हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको रकम अपचलन गरेर मण्डलले चार ठाउँमा घडेरी, कटहरीमा ब्रदर्स वर्कसप र एक ठाउँमा घर किनेको खुलेको छ । उनले त्यस अवधिमा जोडेको अचल सम्पत्ति अदालतको आदेशले रोक्का भएको छ । उनले बचतकर्ताको पासबुकमा रकम चढाए पनि सहकारीको सफ्टवेयरमा राखिने व्यक्तिगत खातामा रेकर्ड नराखेको पाइएको छ ।

मण्डलले सहकारीमा खाता नै नभएका उनका बाबु शम्भुप्रसाद मण्डल र आमा सीतादेवी मण्डलका नाममा १६ लाख ५२ हजार रुपैयाँ बचत फिर्ता गरेको देखाएका छन् । खाता भएकी स्थानीय गायत्रीदेवी ठाकुरको नाममा २ लाख रुपैयाँ ऋण निकालेर १ लाख मात्रै दिएका थिए भने बाँकी १ लाख रुपैयाँ आफैँले चलाएको खुलेको छ ।

सहकारीको नाममा रहेको जमिन बिक्रीका लागि बैना कागज बनाउँदा पूर्वअध्यक्ष लालबहादुर खत्रीलाई नक्कली साक्षी खडा गरेर उनको नाममा किर्ते हस्ताक्षर गरी  मण्डलले ९ लाख ५० हजार रुपैयाँ बुझेको देखिएको छ । बचतकर्ता अर्चना साहको ११ लाख ९४ हजार ६३५ रुपैयाँ फिक्स डिपोजिट भन्दै २०७८ साउन १४ गते सहकारीमा जम्मा गरिदिएको पासबुकमा उल्लेख छ । तर, फिक्स डिपोजिटको रकम मण्डल आफैँले चलाउने गरेको खुलेको छ ।

खाता परिपक्व भएपछि साहले रकम माग्दा बचतमा १२ प्रतिशत ब्याज दिने गरी जम्मा गरेको बताउँदै आएका थिए । साहले रकम माग्दै दबाब दिन थालेपछि हस्ताक्षर नै नचल्ने भए पनि व्यवस्थापक मण्डलले १० लाखको चेकमा २०७९ माघ १९ गते सही गरेर सहकारीको चेक दिएको अभियोग पत्रमा उल्लेख छ ।

सहकारीका अर्का कर्मचारी कटहरी गाउँपालिका–२ का ४४ वर्षीय भविश्वर न्यौपानेले पनि  १६ लाख ३० हजार रुपैयाँ सहकारीको हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । २०७५ वैशाख ३० गते उनले सहकारीको रकम हिनामिना गरेको खुलेको छ । ‘न्यौपानेलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरी चार खातामा कागजात बिना रकम प्रविष्ट गर्ने, भौचर नभिडाउने, आफू खुसी ऋण समितिलाई जानकारी नगराइ आफ्नो नाममा तथा आफ्नो जमानीमा अन्य व्यक्तिलाई ऋण प्रवाह गर्ने लगायतका अनैतिक कार्य गरेको पाइयो,’ छानबिन प्रतिवेदनमा उल्लेख छ ।

‘संस्थाको विधान अनुसार सञ्चालक समिति, लेखा समिति तथा ऋण समितिलाई आ–आफ्नो काम कर्तव्य तथा अधिकार प्रत्यायोजन भएकोमा समितिको माइन्युट बुक हेर्दा सो समितिले पनि मासिक, चौमासिक तथा वार्षिक रुपमा यतिका वर्षसम्म भएको अनियमितता समयमै रोक्न नसक्नु तथा सम्पूर्ण अधिकार एक व्यक्तिमा निहित पारेर मण्डललाई चेक एण्ड ब्यालेन्स नगरी सञ्चालक समिति, लेखा समिति तथा ऋण समितिका सदस्यले व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

 बचतकर्ताको निक्षेप फिर्ता दिन्छौँ : सहकारी

नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले सेयर सदस्यहरूको निक्षेप फिर्ता दिने बताएका छन् ।

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति रोक्का भएर कारबाहीको प्रक्रिया पनि अघि बढेको छ । ‘सहकारीको नियमित काम कारबाहीहरू भइरहेको छ । नियमित बचत र ऋण प्रवाह र बजारबाट कर्जा सङ्कलन पनि भइरहेको छ । हामीले बचतकर्ताको निक्षेप फिर्ता दिनेछौँ,’ सहकारीका अध्यक्ष किशोर कुमार पाण्डेले भने, ‘अहिले सञ्चालक समितिका सदस्यहरू पनि लागिपरेका छौँ । हामी सेयर सदस्यहरूलाई ढुक्क हुन आग्रह गर्दछौँ । तपाईंहरुको निक्षेप फिर्ता गर्नेछौँ ।’

 मण्डललाई थुनामै राख्ने आदेश

सहकारी घोटाला गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उमेशकुमार मण्डललाई थुनामै राखिने भएको छ । उनलाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको संयुक्त इजलासले मण्डललाई जिल्लाको आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन् ।

अर्का कर्मचारी भविश्वर न्यौपानेलाई १६ लाख ३० हजार रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ । न्यौपानेले सहकारीबाट १६ लाख ३० हजार रुपैयाँ चलाएको प्रमाण भेटिएको थियो । उनले सो रकम तिरिसकेको भए पनि अदालतले त्यति नै रकम धरौटी माग गरेको थियो ।

साउन २३ गते मोरङ अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप