मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारी घटनाको ‘प्रमुख कारक’ प्रदर्शन स्थलमा मन्त्री ज्वालाको प्रवेश !

सोमबार, १६ पुस २०८०, १९ : ०४
सोमबार, १६ पुस २०८०

काठमाडौँ । पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु र मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी हुनुको प्रमुख कारक तत्त्व भौतिक पूर्वाधार मन्त्री ज्वाला रहेको प्रारम्भिक सुरक्षा विश्लेषणबाट खुलेको छ ।

घटनापछि सरकारी पक्षले गरेको विश्लेषणमा उक्त दिन मन्त्री ज्वाला प्रदर्शन स्थलमा नगएको भए वा वैकल्पिक मार्ग प्रयोग गरेको भए त्यति गम्भीर क्षति हुनबाट जोगिन्थ्यो भन्ने निष्कर्ष निकालिएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले समेत ‘बालकुमारी घटना’ हुनुमा तीनचार वटा कारणमध्ये मन्त्री ज्वालाको प्रवेश पनि एक प्रमुख कारण रहेको बताएका हुन् । जिम्मेवार निकायको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै अनुसन्धानको सुइरो अब मन्त्री ज्वालामाथि पनि घुमाउनुपर्ने देखिएको छ ।

यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका डीआइजी लालमणि आचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकोमा पीडितहरुले त्यसमा चित्त नबुझाएपछि सोमबारै सरकारले उक्त घटनाको निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पौडेल नेतृत्वको तीन सदस्यीय आयोग गठन गरेर कार्यादेश दिएको हो ।

एक महिनाको कार्यादेश पाएको आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको भनाइ छ । घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले १२४ सेल अश्रुग्याँस, रबर बुलेट र हवाई फायर गरेको बताए ।

‘मन्त्रीज्यू हिँड्दाखेरी पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो’, आइजीपी कुँवरले समितिमा घटना विवरण सुनाउँदै भने, ‘त्यसबेला मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’

मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको प्रहरी महानिरीक्षक कुँवरको भनाइ छ । घटनामा गोली कतिबेला चल्यो र कति जना घाइते भए भन्नेबारे उनले स्पष्ट बताउन सकेनन् । बालकुमारी घटनामा २ जनाको ज्यान गएको थियो । मृतक दुईमध्ये १२ः४० मा देलेखका सुजन रावत घाइते भएको र १२ः४२ मा वीरेन्द्र शाहलाई पाटन अस्पताल पु¥याएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले उक्त घटनामा अदालतको आदेशसहित ईपीएस कार्यालयको कदमका बारेमा समेत अध्ययन गर्नुपर्ने बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखले मात्रै होइन, गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत बालकुमारीमा युवाहरूले प्रदर्शन गरिरहेको ठाउँमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिले प्रदर्शनलाई उग्र बनाउन क्याटलिस्ट (उत्प्रेरक) को काम गरेको बताए ।

साथै उनले ईपीएस कार्यालय प्रमुखले समेत सकारात्मक भूमिका नखेलेको भन्दै युवाहरूले अनियन्त्रित प्रदर्शन गर्दा  मन्त्रीको सुरक्षामा खटिएका अधिकारीहरूले प्रभावकारी भूमिका निभाउन नसकेको घटनाक्रमहरुले देखाएको बताए ।

घटना हुने दिन बिहानै ईपीएस कार्यालय प्रमुखलाई गृह मन्त्रालयको सुरक्षा महाशाखा प्रमुखले बोलाएर सोध्दा ‘केही छैन, ३ बजेसम्म बस्छन् अनि जान्छन्’ भनेर हल्का जवाफ पाएको मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले ईपीएस कार्यालय प्रमुखको भूमिका ‘रियाक्टिभ’ भएको पाइएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको पीएसओले पनि जिम्मेवारी पूरा नगरेको बताए ।

‘पीएसओले बाटो चेक गर्छ । कन्ट्रोल रुमबाट भएको कुरा पनि वाकीटकीमा सुनिरहेको हुन्छ । तर मन्त्री आर्मीको सेक्युरिटी गार्ड र पीएसओ लिएर जानुभएको छ । त्यसले यो घटनालाई अर्को मोडतिर जानका लागि क्याटलिस्ट (उत्प्रेरक)को भूमिका खेलेको छ,’ मन्त्री श्रेष्ठले समितिमा भने ।

गृह मन्त्रालयले प्रदर्शन स्थलमा मन्त्री ज्वालाको सवारी हुनुभन्दा पहिले प्रहरीले लाठीचार्र्ज, टियर ग्यास हान्ने र ईपीएस कार्यालयमा क्षति हुन नदिन प्रयास गरे पनि मन्त्रीको सवारी हुँदा प्रदर्शन उग्र बन्दै गएको उनले बताए ।

घटना हुनुमा तीन कुराले भूमिका खेलेको भन्दै मन्त्री श्रेष्ठले अघि भने, ‘पहिलो मुलुकमा बेरोजगार युवाको अवस्था, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको तनावग्रस्त क्षेत्रमा उपस्थिति र त्यस क्षेत्रमा कार्यरत सुरक्षाकर्मी र प्रदर्शनकारी बिचको अवस्था ।’

मन्त्री ज्वाला ग्वार्को नजिकैको कान्तिपुर पार्टी प्यालेसमा आयोजित एकीकृत समाजवादीको बैठकमा सहभागी भएर मन्त्रालय जान निस्किएको अवस्थामा घटना भएको गृहमन्त्रीको भनाइ छ ।

‘मन्त्रीजीको गाडी आएको छ र घेराबन्दीमा परेको छ भनियो । त्यसपछि फिल्ड कमाण्डर त्यो दिशामा जान खोजेको देखिन्छ, त्यसै क्रममा गोली प्रहार भएको देखिन्छ’, मन्त्री श्रेष्ठले भने, ‘एक जना गोली लागेर ढलेपछि पाटन हस्पिटल लगेको र अर्कोको छातीमा डाम देखिन्छ । यसैबिचमा मन्त्रीको गाडी जलेको देखिन्छ ।’ उनले बाँकी कुरा छानबिनले पुष्टि हुने पनि बताए ।

गृहमन्त्रीसहित सुरक्षा अङ्गका प्रमुखहरुको विश्लेषणबाट के प्रष्ट हुन्छ भने बालकुमारी घटना हुनुमा मन्त्री ज्वाला जिम्मेवार छन् । घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोग बनिसकेकाले थप अनुसन्धान र बयान लिएर प्रतिवेदन बनाउने काम आयोगले नै गर्ला । तर यो घटनामा मन्त्री ज्वालाको बयान लिने हिम्मत आयोगले गर्छ या गर्दैन ? यो प्रश्न गम्भीर बनेको छ ।

हुन त गृहमन्त्री श्रेष्ठले आयोगको प्रतिवेदनका आधारमा जोसुकै दोषी देखिए पनि कारबाही गर्ने प्रतिबद्धता जनाइसकेका छन् । तर, विगतका ठुलठुला घटनामा सानालाई देखाएर ठुलालाई जोगाउने प्रवृत्ति यो घटनामा पनि दोहोरिने हो कि भन्ने आशंका सर्वसाधारणले गरिरहेका बेला अनुसन्धानको सुइरो कसरी घुमाइन्छ, त्यो भने हेर्न बाँकी नै छ । यसका साथै मन्त्री ज्वालामाथि यति प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएर अनुसन्धानलाई सघाउने नैतिकता देखाउलान् या घटना भएकै दिनजस्तो ‘झुठ’ बोलेर पन्छिन खोज्लान् ? त्यो पनि चासोको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप