आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

‘त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मूर्खतापूर्वक त्यो बाटो जाँदिन थिएँ’

बालकुमारी सडक अवरोध भएको कुरा सुरक्षा निकायले जानकारी नै गराएन : मन्त्री ज्वाला
सोमबार, १६ पुस २०८०, १५ : १०
सोमबार, १६ पुस २०८०

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन् ।  सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गत शुक्रवार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताएका हुन् । 

गत शुक्रवार रोजगार अनुमति प्रणाली(ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरूको ज्यान समेत गएको थियो ।

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिन पनि बैठक स्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए ।  उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे । आफूहरूलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाई छ । 

मन्त्री ज्वालाले घटनाप्रति दुःख पनि व्यक्त गरे । उनले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गरे । आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आफूहरू नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरूको कमजोरीलाई आफूहरूतिर थोपरिएको बताए । 

  • यस्तो छ मन्त्री ज्वालाको भनाई

यो बालकुमारी घटना आफैँमा दुःखद घटना हो । दुई जना युवाहरूको ज्यान गएको छ । केही घाइते भएका छन् । र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसमा हामी दुःखी छौँ । यसप्रति म दुःख पनि व्यक्त गर्न चाहन्छु । 

त्यस दिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक सुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेस बैठक कक्षबाट बाहिर निस्केँ । 

बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किँदाखेरि पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रूपमा बाहिर निस्कियौँ । 

संयोगले त्यतिबेलै हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । उहाँको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौँ । राज्यमन्त्रीज्यूको गाडीभित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

हामी निस्किसकेपछि बिचमा अलिकति अगाडी बढिसकेपछि पारी पट्टी केही डिस्टर्ब हामीले महसुस गर्‍यौँ । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बिचमा छलफल भयो । अगाडी बढ्न पनि नसकिने पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौँ । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । 

त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । र प्रदर्शनकारीहरू रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरूले यो गाडीलाई अगाडी जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे । त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन् उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किइहालेँ । फर्केपछि म बैठकमा बसेँ ।

त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला । त्यहाँ गाडी पुग्यो । म केही समय त्यहाँ रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालेँ । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडी बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरूले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०–२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरू पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरूले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिँदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहिँ सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो । 

यस विषयमा हामी प्रस्ट के छौँ भने न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ । न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसाबमा जोडिँदैनौँ । 

अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रूपमा गलत कुरा हो । किनकि सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरू गाडीहरू पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भए पनि त्यो बाटोमा हामी जाँदैन थियौँ । त्यो जानकारी पनि भएन ।

हाम्रो गाडी त्यो बाटोमा हिँडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भिडन्त भएको रहेछ । त्यसपछि पनि भिडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भिडन्त भएको पनि छैन । त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्ने कुरा गलत छ ।

त्यतिबेला म बैठक कक्षबाट निस्किएँ । त्यसपछि मैले पीएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔँ भने । हामी सबै गाडीमा बस्यौँ । गाडीबाट हिड्यौँ । हिँड्दाहिँड्दै पिएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौँ भनेर आफ्नो सेन्ट्रलमा उनले खबर गरिरहेको मैले सुने । त्यतिबेला सम्म पीएसओले वा अरू सुरक्षाकर्मीले कहीँ कतैबाट यो बाटो डिस्टर्ब छ । यो बाटोमा जानु हुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौँ भन्ने किसिमको जानकारी कहीँ कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । 

त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मूर्खतापूर्वक त्यो बाटो त जाँदैन । बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्टर्बेन्स् देखियो । त्यसपछि हामी सतर्क भयौँ र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौँ । प्रयत्न गर्दागर्दै हामी सफल भएनौँ त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडी बढ्यो भन्ने कुरा जुन भनिँदैछ । यो आफ्नो दोष अरूतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ । 

हामी त पीडित पक्ष हौँ । मान्छेको ज्यान जानेभन्दा गाडी आगलागी हुने कुरा सानो कुरा होला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो । हामी बिना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । सरकारी सम्पत्ति क्षति भएको छ । 

त्यसकारण पीडित पक्षतिर नै फेरि यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन् । चाहेँ सुरक्षासम्बन्धी सूचना दिने कुरा होला । चाहे गोली चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोली चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढङ्गले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभूति हुन थालेको छ । 

कतिले त्यहाँ किन गएको मन्त्री भन्ने पनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, तिन दिनदेखि बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रीय सदस्य पनि जान्छ नि । बैठकमा दिनदिनै गएका छौँ हामी । दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौँ । त्यसकारण आउने जाने त तीन दिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरू प्रस्ट पारिएको छ । हामी प्रस्ट पार्न तयार छौँ । जुनसुकै हिसाबले पनि यो कुरालाई सत्य साबित गर्न हामी सक्षम छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप