बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनामीको जोखिमलाई लिएर सुदूरपूर्वी रुस ‘सतर्क’ अवस्थामा

सोमबार, १६ पुस २०८०, २१ : २९
सोमबार, १६ पुस २०८०

मस्को । जापानमा गएको ठूलो भूकम्पपछि सम्भावित सुनामीको खतरालाई लिएर रुसको सखालिन टापु र प्रशान्त सहर भ्लाडिभोस्टक सोमबार ‘सतर्क’ अवस्थामा थिए । 

जापानमा सात दशमलव पाँच म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिँदै जापानी अधिकारीहरूले मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । सखालिन जापानको उत्तरमा रहेको एउटा लामो टापु हो र भ्लाडिभोस्टक रुसको प्रमुख प्रशान्त सहर हो । 

सखालिनका अधिकारीहरूले टापुको पश्चिमी तट सुनामीको लहरहरूबाट प्रभावित हुनसक्ने बताएका छन् । यद्यपि उनीहरूले सुनामीले टापुको जनजीवनलाई कुनै ठूलो खतरा नपार्ने र टापु खाली गर्न कुनै आदेश नदिइएको बताएका छन् । 

आपत्कालीन सेवाहरूले मानिसहरूलाई ‘शान्त रहन’ आह्वान गरेका छन् । “सखालिनको पश्चिमी तटको तटीय भाग सुनामीको लहरहरूबाट प्रभावित हुनसक्छ”, आपत्कालीन सेवाहरूले भनेका छन्, “अहिले मानिसहरूलाई निकालिएको छैन किनकि सुनामी लहरको अपेक्षित उचाइ ५० सेन्टिमिटरभन्दा धेरै छैन ।”

स्थानीय समयानुसार राति ८ः४४ मा सुनामीका लहरहरू टापुको दक्षिणी छेउ नेभेल्स्की जिल्लासम्म पुग्ने अपेक्षा गरिएको थियो । लहरहरूको अपेक्षित उचाइले बासिन्दाहरूका लागि जीवन खतरामा नपार्ने अधिकारीहरूले बताएका छन् । 

भ्लाडिभोस्टक सहरले पनि सुनामीको चेतावनी जारी गरेको छ । “मछुवा र समुद्रमा जाने योजना बनाइरहेकाहरू तत्काल किनारामा फर्किनु पर्छ”, सहरका अधिकारीहरूले सामाजिक सञ्जालमा भनेका छन्, “त्यहाँ सुनामीको लहर शून्य दशमलव तीन मिटरसम्म बढ्ने अपेक्षा गरिएको छ ।”-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप