दोस्रो टेस्ट दोस्रो दिन नै सकिने सम्भावना : भारतले जितका लागि ७९ रन बनाउनु पर्ने
काठमाडौँ । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन बिहीबार भारतले जितका लागि केवल ७९ रनको लक्ष्य पाएको छ । केप टाउनमा जारी दोस्रो टेस्टको दोस्रो दिन दक्षिण अफ्रिकी टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ७६ रनमा अलआउट भयो ।
दोस्रो पालीमा दक्षिण अफ्रिकाका लागि ओपनर एडिन मारक्रमले शतक बनाए । उनले टोलीका लागि एक सय ६ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका मारक्रमले एक सय तीन बलमा दुई छक्का र १७ चौका हिर्काएका थिए ।
दक्षिण अफ्रिकाले तीन विकेटको नोक्सानीमा ६२ रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो । दोस्रो पालीमा पनि अन्य दक्षिण अफ्रिकी ब्याट्सम्यान भने खासै जम्न सकेनन् । कप्तानसमेत रहेका अर्का ओपनर डिन एल्गार १२ रनमै आउट भएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका डेभिड बेडिङ्घमले ११ रन बनाए । सातौँ नम्बरका ब्याट्सम्यान मार्को जानसेनले पनि ११ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका बलर जसप्रित बुमराह एक्लैले ६ विकेट लिए । उनले १३.५ ओभरमा ६१ रन खर्चिए ।
मुकेश कुमारले पनि दुई विकेट हात पारे । मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले एक–एक विकेट लिए । त्यसअघि दोस्रो टेस्टको पहिलो दिन बुधबार दुबै टोलीको गरेर कुल २३ विकेट खसेको थियो । घरेलु टोली दक्षिण अफ्रिका पहिलो पालीमा २३.२ ओभरमा केवल ५५ रन बनाउँदै अलआउट भएको थियो ।
पहिलो दिन नै भ्रमणकारी टोली भारत पनि आफ्नो पहिलो पालीमा ३४.५ ओभर खेल्दै केवल एक सय ५३ रन बनाएर अलआउट भएको थियो । भारतका पछिल्ला ६ ब्याट्सम्यान त टोलीको खातामा एक रन पनि नथपी पेभेलियन फर्किएका थिए । भारतीय टोलीले दोस्रो दिन नै विजयलक्ष्य पुरा गर्ने बलियो सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण