शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
यू-१९ विश्वकप क्रिकेट

यू–१९ विश्वकप : हरेक संस्करणले प्रतिभाशाली क्रिकेटर जन्माउँछ

लारा र जयसूर्यादेखि कोहली र बाबर आजमसम्मको उदय
शनिबार, २१ पुस २०८०, १८ : ५६
शनिबार, २१ पुस २०८०

काठमाडौँ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना हुँदै थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वर्ल्ड कप’ राखिएको थियो । कालान्तरमा विश्व क्रिकेट हल्लाउने ब्रायन लारा जस्ता महान् खेलाडीको उदय यही प्रतियोगिताबाट हुँदै छ भन्ने सायदै कसैले सोचेको थियो । 

वेस्ट इन्डिजका लारा मात्र होइन रिड्ली ज्याकोब्स, पाकिस्तानका इन्जमाम उल हक, मुस्ताक अहमद, सहिद अनवर, न्युजिल्यान्डका क्रिस क्रेन्स, मार्क डगलस, श्रीलङ्काका सनथ जयसूर्या, सन्जिवा रणतुङ्गा, भारतका प्रवीण आम्रे, नयन मोंगिया, नरेन्द्र हिरवानी, वेंकटपथी राजु, इङ्ल्यान्डका माइक एथर्टन, नासिर हुसैन तथा अस्ट्रेलियाका माइकल कोलिन्स, स्टुअर्ट लजस्ता प्रभावशाली क्रिकेटर पनि यही युथ विश्वकपको पहिलो संस्करणबाट उदाएका खेलाडी हुन् । 

विश्व क्रिकेटमा नयाँ र उदीयमान खेलाडी जन्माउन यू–१९ विश्वकपको निकै ठुलो योगदान रहँदै आएको छ । समकालीन विश्व क्रिकेटमा महान् भारतीय खेलाडी विराट कोहली, इङ्ल्यान्डका बेन स्टोक्स र अस्ट्रेलियाका स्टिभन स्मिथ पनि यू–१९ विश्वकपबाटै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका प्रभावशाली खेलाडी हुन् । 

EGLzZ5jXkAAqKE_

यू–१९ विश्वकपको १५औँ संस्करण यही जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदै छ । यो ३६ वर्षको अवधिमा यू–१९ विश्वकपबाट विश्व क्रिकेटका हरेक हस्ती राष्ट्रले थुप्रै प्रभावशाली खेलाढी पाइसकेको छ । 

दुर्भाग्य, पहिलो संस्करण सम्पन्न भएको लामो समयसम्म यू–१९ विश्वकपको दोस्रो संस्करण आयोजना हुन सकेन । यस बिचमा थुप्रै युवा खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रतिभा देखाउने उपयुक्त अवसर पाएनन् । यही यथार्थलाई ध्यानमा राखी सन् १९९८ मा पुनः यू–१९ विश्वकपको दोस्रो संस्करण आयोजना गरिएको थियो । 

पहिलो संस्करणबाट उदाएका युवा खेलाडीहरू भने यतिबेलासम्म विश्व क्रिकेटको उत्सर्गमा पुगिसकेका थिए । हुन पनि एउटा खेलाडीका लागि १० वर्षको समय निकै लामो अवधि हो । त्यसयता भने यू–१९ विश्वकपको हरेक संस्करण नियमित रूपमा आयोजना हुँदै आएको छ । 

India_-_2000

सन् २००० मा प्रतियोगिताको तेस्रो संस्करण श्रीलङ्कामा आयोजना भएको थियो । त्यो संस्करणबाट पनि भारतका युवराज सिंह, मोहम्मद कैफ, दक्षिण अफ्रिकाका ग्राहम स्मिथ, ज्याक्स रुडोल्फ, जोनाथन ट्रट, बङ्गलादेशका हनान सरकार, अस्ट्रेलियाका सन मार्स, एड कोवेन, सेन वाट्सन, मिचेल जोन्सन, पाकिस्तानका हसन राजा, फैसल इक्बाल, दानिस कनेरिया, इङ्ल्यान्डका जिमी एडम्स, इयान बेल, इयान प्याटिसन जस्ता खेलाडी चर्चामा आएका थिए ।

यू–१९ विश्वकपको यही संस्करणमा नेपालले पनि पहिलो पटक सहभागिता जनाउने अवसर पाएको थियो । नेपालले विनोद दासको कप्तानीमा यो विश्वकप खेलेको थियो । टोलीमा युनिल शाह, उत्तम सारु, वीरेन्द्र शाह, दीपेन्द्र चौधरी, सन्दीप श्रेष्ठ, राजु बस्न्यात, पारस लुनिया, महबुब आलम, आमिर अख्तर, मनोज वैश्यल, कलामुद्दिन अन्सारी, किरण अग्रवालगायतका खेलाडीले आफ्नो प्रतिभा देखाएका थिए । 

120648

सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । विश्वकपको यो संस्करणमा नेपालले दोस्रो पटक सहभागिता जनाएको थियो । यो विश्वकपमा पनि नेपाल विनोद दासकै कप्तानीमा सहभागी भएको थियो । नेपाली टोलीमा कनिष्क चौगाईं, यशवन्त सुवेदी, वरदान चालिसे, शक्ति गौचन, प्रेम चौधरी, मन्जित श्रेष्ठ, मनोज कटुवाल, संजम रेग्मी, लाक्पा लामालगायतका खेलाडीले आफ्नो प्रतिभा देखाएका थिए ।

यही विश्वकपमा नेपालले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । नेपालले समूहगत चरणको खेलमा पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । यो विश्वकपमा नेपाली टोली प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशलाई २३ रनले हराएको थियो । 

033412

विश्वकपको यो संस्करणबाट वेस्ट इन्डिजका डेनोभन पागोन, लेन्डल सिमोन्स, ड्वेन ब्राभो, रवि रामपौल, ड्यारेन सामी, नर्सिङ देवनारिन, अस्ट्रेलियाका क्रेग सिमोन्स, क्यामरुन ह्वाइट, जर्ज बेली, पाकिस्तानका सलमान बट, उमर गुल, श्रीलङ्काका उपुल थारङ्गा, जीवन मेन्डिस, धामिका प्रसाद, भारतका इरफान पठान, पार्थिव पटेललगायतका खेलाडी चर्चामा आएका थिए ।

यसै गरी सन् २००४ को यू–१९ विश्वकप बङ्गलादेशमा आयोजना भएको थियो । यो विश्वकपमा पनि नेपालले सहभागिता जनाएको थियो । यो विश्वकपमा नेपालले समूहगत चरणमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई एक विकेटले हराएको थियो । यही विश्वकपबाट बङ्गलादेशका नफिस इक्वाल, नइम इस्लाम, आफताब अहमद, भारतका शिखर धवन, सुरेश रैना, रोविन उथप्पा, दिनेश कार्तिकलगायतका खेलाडी चर्चामा आएका थिए ।

nepal-after-win-nz-1024x640

यसै गरी सन् २००६ को यू–१९ विश्वकप श्रीलङ्कामा आयोजना भएको थियो । यो विश्वकप नेपालका लागि ऐतिहासिक थियो । यही विश्वकपमा पहिलो पटक नेपालले प्लेट च्याम्पियनसिपको उपाधि चुमेको थियो । यू–१९ विश्वकपमा नेपालले हासिल गरेको यो हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि हो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो । त्यसअघि सेमिफाइनलमा नेपालले दक्षिण अफ्रिकालाई दुई रनले हराएको थियो । 

त्यो विश्वकपमा नेपाली टोलीको नेतृत्व कनिष्क चौगाईंले गरेका थिए । टोलीमा महेश क्षेत्री, शरद भेष्वाकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, यशवन्त सुवेदी, प्रेम चौधरी, वसन्त रेग्मी, सशी केशरी, रतन रौनियार, राज श्रेष्ठ, अमृत भट्टराईलगायतका खेलाडी थिए । न्युजिल्यान्डको टोलीमा भने मार्टिन गप्टिल, मार्क एलिसन, टिम साउथी, कोलिन मुनरो, हामिस बेनेटलगायतका खेलाडी थिए ।

ec4750ae9506c1d94df24ee81d28e4c0

यही विश्वकपबाट भारतका चेतेश्वर पुजारा, रोहित शर्मा, रवीन्द्र जडेजा, पियूष चावला, पाकिस्तानका रामिज राजा, नासिर जमसेद, सरफराज अहमद, अनवर अली, अस्ट्रेलियाका उसमान ख्वाजा, टम कुपर, मोसेस हेनरिक्स, म्याथ्यु वेड, एरोन फिन्च, डेभिड वार्नर, श्रीलङ्काका दिमुथ करुणारत्ने, थिसरा परेरा, इङ्ल्यान्डका मोइन अली, मार्क नेल्सनलगायतका खेलाडी चर्चित बनेका थिए । 

यसै गरी सन् २००८ को यू–१९ विश्वकप मलेसियामा आयोजना भएको थियो । यो विश्वकपको उपाधि भारतले जितेको थियो । विराट कोहलीको कप्तानीमा रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई १२ रनले हराएको थियो । यही यू–१९ विश्वकपबाट कोहली चर्चामा आएका थिए । समकालीन विश्व क्रिकेटका महान खेलाडी कोहलीले सफलताको पहिलो खुड्किलो यही प्रतियोगितामार्फत उक्लिएका थिए । 

88008

यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई वेस्ट इन्डिजले सात विकेटले हराएको थियो । यो विश्वकपमा नेपाली टोली पारस खड्काको कप्तानीमा सहभागी भएको थियो । क्यारेबियन टोलीमा भने काइरन पोवेल, एड्रिन बाराथ, ड्यारेन ब्राभो, स्टेभन ज्याकोब्सलगायतका प्रभावशाली खेलाडी थिए । 

यही विश्वकपबाट इङ्ल्यान्डका जेम्स टेलर, बेन ब्राउन, टम विस्ली, जर्ज उड, लियाम दावसन, जेम्स ह्यारिस, स्टिभन फिन, अस्ट्रेलियाका मार्कुस स्टोइनिस, जेम्स फल्कनर, जेम्स प्याटिन्सन, दक्षिण अफ्रिकाका पिटर मलान, रिली रोसु, रिजा हेन्ड्रिक्स, वेन पार्नेल, न्युजिल्यान्डका केन विलियम्सन, कोरी एन्डर्सन, जर्ज मोर्गन, माइकल ब्रासवेललगायतका खेलाडी चर्चित बनेका थिए । 

यसैगरी सन् २०१० को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । यो विश्वकपबाट भारतका केएल राहुल, मायांक अग्रवाल, इङ्ल्यान्डका जोए रुट, क्रिस डेन्ट, जेम्स भिन्स, जस बट्लर, बेन स्टोक्स, दक्षिण अफ्रिकाका स्टिफन स्मिथ, कोलिन एकरम्यान, अस्ट्रेलियाका मिचेल मार्स, एडम जाम्पा, जोस हेजलउड, न्युजिल्यान्डका टम लाथम, जेम्स निसाम, कोरी एन्डर्सन, लोगान भान बिक, माइकल ब्रासवेल, श्रीलङ्काका कसुन मदुसनका, पाकिस्तानका बाबर आजम, अहमद सेहजाद, वेस्ट इन्डिजका जासन होल्डर, क्रेग ब्राथवेट, एभिन लेविसलगायतका खेलाडी चर्चामा आएका थिए ।

202421_471059429579825_166497468_o

सन् २०१२ को यू–१९ विश्वकप अस्ट्रेलियामा आयोजना भएको थियो । यो विश्वकपबाट दक्षिण अफ्रिकाका क्विन्टन डी कक, इङ्ल्यान्डका बेन डुकेट, अस्ट्रेलियाका ट्राभिस हेड, अफगानिस्तानका हसमतुल्लाह साहिदी, नजिबुल्लाह जदरान, न्युजिल्यान्डका विल योङ, ईश सोढी, बङ्गलादेशका सौम्य सरकार, लिटन दास, एनामुल हक, तास्किन अहमदलगायतका खेलाडी चर्चित बनेका थिए । 

विश्वकपको यो संस्करणमा नेपालबाट सुवास खकुरेल, प्रदीप ऐरी, नरेश बुढाऐर, पृथु बाँस्कोटा, सागर पुन, राजेश पुलामी, हासिम अन्सारी, राहुल विश्वकर्मा, कृष्ण कार्की, भुवन कार्की, अविनाश कर्णलगायतका खेलाडीले सहभागिता जनाएका थिए । तर यो विश्वकपमा नेपालले कुनै गतिलो छाप छाड्न सकेको थिएन । 

224149

यसै गरी सन् २०१४ को यू–१९ विश्वकप यूएईमा आयोजना भएको थियो । यो विश्वकपबाट भारतका सन्जु सामसन, कुलदीप यादव, पाकिस्तानका इमाम उल हक, हसन राजा, साउद सकिल, दक्षिण अफ्रिकाका एडिन मारक्रम, वेस्ट इन्डिजका सिमरोन हेटमायर, श्रीलङ्कका सदिरा सामराविक्रमा, कुशल मेन्डिजलगायतका खेलाडी चर्चाको शिखरमा पुगेका थिए । 

यसै गरी सन् २०१८ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । यो विश्वकपबाट घरेलु टोलीका रचिन रवीन्द्र, दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जी, भारतका पृथ्वी स, शुभमन गिल, अस्ट्रेलियाका ज्याक एडवार्डस, इङ्ल्यान्डका ह्यारी ब्रुक, विल ज्याकलगायतका खेलाडीको उदय भएको थियो । 

यसरी यू–१९ विश्वकपको हरेक संस्करणले विश्व क्रिकेटलाई प्रतिभाशाली खेलाडीहरू दिँदै आएको छ । यस पटक यू–१९ विश्वकपमा नेपालले पुनः सहभागिता जनाउँदै छ । प्रतियोगितामा १६ वटा राष्ट्रले भाग लिएका छन् । यो विश्वकपबाट पनि विश्व क्रिकेटले भविष्यमा केही प्रतिभाशाली खेलाडी पाउने सहज अनुमान गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप