शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने

आइतबार, २२ पुस २०८०, २१ : १९
आइतबार, २२ पुस २०८०

हेटौँडा । बागमती प्रदेश सरकारले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा दिने भएको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्ु बैठकले सो सेवा संचालनका लागि कार्यविधि स्वीकृत गरी कार्यान्वयनका लागि अघि बढेको हो ।

मन्त्रिपरिषद् बैठकले गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गर्ने निर्णय गरेसंगै प्रदेशका विकट क्षेत्रका नागरिकहरुलाई सहज हुने स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिए ।

मन्त्री जोशीकाअनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरी पहिलो पटक सो कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढेको हो । कार्यविधि स्वीकृत भएसंगै राजपत्रमा प्रकाशन गरी  हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर थप प्रक्रिया अघि बढाइने उनले बताए ।

१३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पुर्याएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था गरिएको उनको भनाइ छ ।

उक्त कार्यक्रम कार्यानवयन पश्चात दुर्गम र विकट क्षेत्रका कतिपय महिलाले बच्चा जन्माउँदा उपचार नपाएर ज्यान गुमाउनुपरेको र कतिपयले बच्चा जन्मिएपछि उपचार नपाएर पनि मृत्यु हुने अवस्थाको न्युनीकरण हुने उनले बताए ।

स्वीकृत कार्यविधि अनुसार सरकारी स्वास्थ्य संस्था वा अस्पतालबाट सेवा लिइरहेका महिलाको उक्त स्वास्थ्य संस्थामा उपचार सम्भव नभएको अवस्थामा अन्य अस्पताल लैजानका लागि हवाई उद्धार सेवा दिइनेछ ।

सडक यातायात अवरुद्ध भएको र तत्काल एम्बुलेन्स पुग्न नसक्ने स्थिति हुँदा स्वास्थ्यकर्मी वा चिकित्सकले अन्य अस्पतालमा लागि तत्कालै उपचार गर्न सके ज्यान जोगाउन सकिन्छ भनी सिफारिस गरेको अवस्थामा उक्त सेवा दिइने कार्यविधिमा व्यवस्था गरिएको छ ।

कार्यविधि अनुसार लगातार १८ घण्टाभन्दा बढी प्रश्रव व्यथा लागेर बच्चा जन्मिन कठिन भएमा, बच्चाको हात, खुट्टा वा शरीर पहिला बाहिर निस्केर बच्चा जन्मिन कठिनाइ भएको स्थितिमा, बच्चा जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केमा गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा दिइनेछ भने गर्भधारण गरेको २० हप्तापछि गर्भमा नै बच्चाको मृत्यु भएमा, गर्भवती महिलाको हात, खुट्टा र शरीर अत्याधिक सुन्निएमा, गर्भवती अवस्थामा रक्तश्राव भएमा, प्रसूति भएपछिको अवस्थामा रक्तश्राव भएको स्थितिमा पनि हवाई सेवा दिइने छ ।

गर्भवती र सुत्केरी महिलामा रक्तचाप अत्याधिक बढेमा, पाठेघर फुटेको लक्षण देखिएमा, गर्भासय बाहिर भ्रुण बसेमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चालाई सास फेर्न गाह्रो भएमा र अन्य किसिमको ज्यान जान सक्ने रोग पत्ता लागेमा, रक्तअल्पता भएको गर्भवती तथा सुत्केरी महिलालाई रगत दिनुपर्ने स्थिति भएमा, सास फेर्न कठिनाइ भएको अवस्थामा, अंगहरुमा कुनै किसिमको इन्फेक्सन देखिएमा, गर्भपतनको क्रममा जटिल समस्या देखिएमा, गर्भावस्था वा सुत्केरी अवस्थामा आकस्मिक रुपमा देखापर्ने समस्याहरु देखापरेमा सो सेवा प्रदान गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप