बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको छ : मन्त्री बस्नेत

सोमबार, २३ पुस २०८०, १९ : २८
सोमबार, २३ पुस २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन् ।  

आज काठमाडौँ नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको जानकारी दिए । 

उनले भने, “देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो ।” लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विशेष ध्यान दिने उनको भनाइ छ । आयुर्वेदिक उपचार महत्त्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो । 

त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे । उनले निकट भविष्यमै यस अस्पतालमा सिटीस्क्यान सेवासमेत सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्‍याइएको जानकारी दिँदै उनले सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए । अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रुपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको पनि उनको भनाइ थियो । अस्पताल १९७४ सालमा स्थापना भएको थियो । हाल अस्पतालमा एक सय १८ शय्या छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप