सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संगीत

गायक–गायिकालाई मेला–महोत्सवमा भ्याइ–नभ्याई, आम्दानी लाखौँ

मङ्गलबार, २४ पुस २०८०, १४ : ५९
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । ‘म महोत्सवमा एकदमै व्यस्त छु, पछि कुरा गरौँला है,’ यतिबेला धेरैजसो गायक गायिकाले आफ्नो मोबाइलमा फोन गर्नेहरूलाई दिने रेडिमेड जवाफ हो यो । हुन पनि लोकदोहोरी, आधुनिकदेखि फिल्मको पार्श्व गायनमा जमेका गायक/गायिका कसैलाई पनि अहिले फुर्सद छैन ।

देशको पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म चौतर्फी मेलामहोत्सव आयोजना गरिएका छन् । ती महोत्सवमा उनीहरूलाई गीत गाउनका लागि बोलाइन्छ । यसले गायक गायिकालाई भ्याइ–नभ्याई छ । अहिले गीत–संगीतमा चलेका कुनै पनि कलाकार फुर्सदमा छैनन् । फरक यति हो, कोही नेपालका मेला–महोत्सवमा व्यस्त छन्, कोही विदेशका सांगीतिक टुरमा ।

लोकदोहोरीतर्फ राधिका हमाल, भूमिका गिरी, प्रकाश सपुत, पशुपति शर्मा, पुष्कल शर्मा, खेम सेन्चुरी, ज्योति मगर, बद्री पंगेनी, शान्तिश्री परियार, कुलेन्द्र विश्वकर्मा, नवीन पौडेलदेखि सुगम संगीतका प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, हेमन्त शर्मा, अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहान, आस्था राउत, कर्णराज गिरी, साहिमा श्रेष्ठ लगायत थुप्रैलाई यतिबेला मेला–महोत्सवकै चटारो छ ।

त्यसो त सांगीतिक ब्याण्डदेखि र्‍यापरसम्म पनि खाली छैनन् । हेटौँडा, गुल्मी, कपिलवस्तु, मोरङ, कैलालीको लम्की, विराटनगर, पोखरा, बागलुङ, झापा, भैरहवा, दाङ, नेपालगञ्ज लगायत देशका अधिकांश सहर तथा जिल्लामा विभिन्न महोत्सव आयोजना भइरहेका छन् । ती सबै महोत्सवमा कलाकारको सहभागिता हुने गरेको छ ।

अहिले दैनिक एउटा कार्यक्रम भ्याउने कलाकारमध्ये पर्छिन् गायिका एलिना चौहान । मेला–महोत्सवले आफूलाई अहिले सास फेर्ने फुर्सदसमेत नभएको उनी बताउँछिन् ।

Eleena-Chauhan

‘अहिले दैनिकजसो कार्यक्रम पर्ने गरेको छ,’ एलिनाले भनिन्, ‘केही समयदेखि एक दिन पनि फुर्सद छैन ।’ बोलाएको ठाउँमा मिलेसम्म सहभागी हुने गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘माया गरेर बोलाएको ठाउँ नाइँ भन्न पनि सक्दिनँ ।’

samikshya

एलिना झैँ समीक्षा अधिकारी पनि व्यस्त गायिका हुन् । पछिल्लो समय उनी पनि दैनिकजसो यस्ता कार्यक्रममा व्यस्त हुन्छिन् । ‘पहिले पहिले महिनाको २० वटासम्म कार्यक्रम हुन्थ्यो । अहिले दैनिकजसो परिरहेको छ,’ उनले भनिन् ।

लोकगायक पशुपति शर्मा पनि अहिले धेरै व्यस्त छन् । उनलाई दैनिकजसो मेला–महोत्सवमा देख्न सकिन्छ । थोरैमा पनि महिनामा १९÷२० वटा कार्यक्रममा सहभागी हुने गरेको उनी बताउँछन् ।

pasupati

‘हामी कलाकारका लागि मेला–महोत्सव एउटा नियमित कर्म जस्तै हो । त्यो गर्नुपर्छ,’ शर्माले थपे, ‘कहिले धेरै हुन्छ, कहिले थोरै ।’

गायिका आस्था राउत पनि यस्ता महोत्सवमा सहभागी हुन्छिन् । उनी साताको दुई÷तीन वटा कार्यक्रममा सहभागी हुने गरेकी छन् ।

लाखौँ आम्दानी

हरेक वर्ष भदौ सकिएपछि चैतसम्म मेला–महोत्सवको लहर नै चल्ने गरेको छ । यो समय गायक–गायिकाहरू गीत रेकर्डिङदेखि व्यक्तिगत कामसमेत छोडेर यस्ता मेला–महोत्सवमा होमिने गरेका छन् ।

मेला–महोत्सव उनीहरूका लागि कमाउने एउटा अवसर पनि हो । कतिपयले यसलाई दर्शक–श्रोतासँग प्रत्यक्ष भेट गर्ने अवसरका रूपमा पनि लिँदै आएका छन् । केही भने यस्ता कार्यक्रमले आफूलाई व्यस्त बनाउने र तनावमुक्त तुल्याउने समेत बताउँछन् ।

hamanta

चर्चित लोकगायक नवीन पौडेल मेला–महोत्सव भनेको गायक–गायिकाका लागि कमाउने अवसर भएको बताउँछन् । ‘गायक–गायिकाको बाँच्ने आधार भनेको मेला–महोत्सव हो,’ पौडेलले भने, ‘यो समय राम्रो आम्दानी गर्न सकिन्छ ।’ सिजनमा गायक–गायिकाले मेला–महोत्सवबाट १०/१५ लाखसम्म आम्दानी गर्ने उनको भनाइ छ । पौडेलले थपे, ‘अहिले त्यो झरेर ३ लाख पुगेको छ ।’

आर्थिक मन्दीको प्रभावले पहिलेको तुलनामा महोत्सवमा आम्दानी घटेको पौडेलले सुनाए ।

गायिका शान्तिश्री परियार पनि आफ्नो आम्दानी राम्रो भएको बताउँछिन् । उनले भनिन्, ‘आम्दानी एउटा कुरो हो । म त अडियन्ससँग प्रत्यक्ष भेट्न र रमाउने उद्देश्यले पनि महोत्सव जाने गरेको छु ।’

shantshree

गायिका एलिना चौहान पनि मेला–महोत्सवबाट राम्रो आम्दानी हुने बताउँछिन् । राम्रो परिश्रमिक चार्ज गर्नेले महिनामा १०/१२ लाखसम्म कमाउने उनको भनाइ छ ।

‘मेरो आम्दानी मलाई पुग्ने र सन्तुष्ट हुने गरी छ’, एलिनाले भनिन्, ‘महोत्सवले मलाई देशको कुना कुनासम्म पनि कलाकारको रूपमा चिनाउँछ, व्यस्त बनाउँछ ।’

महोत्सवको व्यस्तताले तनावमुक्त समेत बनाउने एलिना बताउँछिन् । उनी थप्छिन्, ‘नयाँ ठाउँमा पुग्ने, त्यहाँको बारेमा जान्ने अवसर पनि दिन्छ ।’

aasta

गायिका आस्था राउत महोत्सवबाट राम्रो आम्दानी हुने स्विकार्छिन् । तर पछिल्लो समय उनले महोत्सवबाट धेरै फाइदा लिन सकेकी छैनन् । किनभने थोरै कार्यक्रम मात्र उनको रोजाइमा पर्ने गरेको छ ।

‘म थोरै, राम्रो र मनले खाने कार्यक्रम मात्र छान्छु,’ आस्थाले थपिन्, ‘मलाई मानिसलाई मोटिभेसन गर्दा मिल्ने सन्तुष्टि पारिश्रमिकसँग तुलना गर्न मिल्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप