शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय
क्यानको निर्णय

सन्दीपको निलम्बन : क्यानको गजबको ताल !

बिहीबार, २६ पुस २०८०, २२ : ४८
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुस १३ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्‍यो । जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको फैसला सुनाउँदा सन्दीप भने वीरगन्जमा नेपाल प्रो क्लब च्याम्पियनसिप खेल्दै थिए ।

उक्त प्रतियोगितामा सन्दीप पर्साको कप्तान थिए । उनको टोली फाइनलमा पुगिसकेको थियो । उनले सेमिफाइनलसम्मका खेल खेलेका थिए । तर, फाइनलअघि नै अदालतको फैसला आएकाले उनले फाइनल खेल भने खेलेनन् ।

त्यतिबेलासम्म अदालतले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरे पनि सजाय भने सुनाइसकेको थिएन । तर, अदालतले सजाय नसुनाए पनि सन्दीप आफै प्रतियोगिताबाट बाहिरिएका थिए । किनभने उनी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइसकेका थिए ।

त्यसपछि पुस २५ गते अदालतले सन्दीपलाई आठ वर्षको कैद सजाय सुनायो । कैद सजाय सुनाएलगत्तै सन्दीप आफैले आफू राष्ट्रिय टोलीबाट टाढिएको जानकारी दिए । उनले नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) लाई पनि यस विषयमा जानकारी गराए ।

उनले आफू जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालतमा जाने जानकारी पनि क्यानलाई दिए । उनले माथिल्लो अदालतबाट सफाइ पाए आफू पुनः सक्रिय खेलजीवनमा फर्कने जानकारी पनि क्यानलाई गराएका थिए ।

जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भए लगत्तै सन्दीप कुनै पनि आधिकारिक प्रतियोगिता खेल्न अयोग्य घोषित भइसकेका थिए । यो कुरा सन्दीप आफैले बुझेर उनले वीरगन्जमा भएको नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनल पनि खेलेनन् ।

त्यसपछि उनी आफैले क्यानलाई राष्ट्रिय टोलीबाट बाहिरिएको जानकारी पनि गराए । त्यसपछि मात्र बिहीबार क्यानले विज्ञप्ति जारी गर्दै सन्दीपलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निलम्बन गर्ने निर्णय गर्‍यो । जबकि पुस १३ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर भए लगत्तै उनी घरेलु र राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भइसकेका थिए ।

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौदजारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारको क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँछौँ ।’

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?