सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेजनदेखि गुगलसम्म सबै कम्पनी छन् रोजगारी कटौतीको लाइनमा

बिहीबार, २६ पुस २०८०, १५ : ३७
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । प्रविधि क्षेत्रमा यो वर्षको सुरुआतले अघिल्लो वर्षको झल्को दिइरहेको छ । 

नयाँ वर्षको सुरुमै प्रविधि कम्पनीहरुले धमाधम रोजगारी कटौतीको घोषणा गरिरहेका छन् । २०२३ मा यस क्षेत्रमा एक दशकभन्दा बढी समययताकै उच्च रोजगारी कटौती भएको थियो ।

यस वर्ष प्राइम भिडियो र लाइभ स्ट्रिमिङ साइट ट्विचसमेत कन्टेन्ट बनाउने एकाईमा एमाजनडटकमले सयौँ कर्मचारीलाई कामबाट निकाल्दैछ । कम्पनीले गएको वर्ष पनि ठूलो संख्यामा कर्मचारी कटौती गरेको थियो । 

कम्पनीले फेरि कर्मचारी कटौतीको नयाँ सूचि तयार पारेको छ । ब्लुम्बर्गमा छापिएको समाचारलाई पत्याउने हो भने कम्पनीले ५०० कर्मचारीलाई निकाल्दैछ । गएको वर्ष अमेजनले प्रविधि क्षेत्रमा सबैभन्दा धेरै २७ हजार आसपास कर्मचारीलाई बेरोजगार बनाएको थियो ।

अल्फावेटको गुगलले पनि डिजिटल असिस्टेन्ट, हार्डवेयर र इन्जिनियरिङ टिमबाट सयौँ कर्मचारी निकाल्दैछ । खर्च कम गर्ने प्रयासलाई जारी राख्दै गुगलले यो उपाय अपनाएको हो । गएको वर्ष कम्पनीले १२ हजार कर्मचारीलाई कामबाट निकालेको थियो । पोकेमन जस्ता चर्चित मोबाइल गेम बनाउने कम्पनी युनिटी सफ्टवेरले पनि आफ्नो कार्यबललाई २५ प्रतिशत घटाउँदैछ । कम्पनीले यो वर्ष १ हजार ८०० जनासम्म कर्मचारी कटौती गर्ने बताएको छ ।

मेटा र सेल्सफोर्सले गएको वर्षको तुलनामा थोरै संख्यामा कर्मचारी निकाल्दैछन् । यसले प्रविधि उद्योग गएको दशकमा देखिएको तीव्र वृद्धिको बाटोमा नरहेको संकेत गरेको छ । उच्च ब्याजदरका कारण कम्पनीहरुको सारा ध्यान अहिले आम्दानी बढाउने भन्दा पनि मुनाफा बचाइराख्नेतिर छ । 

गएको वर्ष १ हजार १८६ ओटा प्रविधि कम्पनीहरुले २ लाख ६२ हजार ६० कर्मचारीलाई कामबाट निकालेका थिए । जनवरी १ यता १८ ओटा प्रविधि कम्पनीहरुले २ हजार ९४५ जना कर्मचारीलाई निकालिसकेका छन् । श्रम बजारमा स्थिरता आयो भने पनि कम्पनीहरु केही समय मुनाफा केन्द्रित रहने भएकोले नयाँ कर्मचारी भर्ती पनि सुस्तै रहने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप