सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रिमियर लिग

घाइते समस्याले पिरोलिएको प्रिमियर लिग : १६० भन्दा बढी खेलाडी मैदान बाहिर

शुक्रबार, २७ पुस २०८०, २३ : ४१
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । नयाँ वर्षको प्रारम्भसँगै विश्वको सबैभन्दा चर्चित व्यावसायिक फुटबल लिग ‘इङ्लिस प्रिमियर लिग’ आफ्नो मध्य अवस्थाबाट अगाडि बढेको छ अर्थात् जारी सिजनको प्रिमियर लिगमा सहभागी सबै टोलीले आधा खेल (१९ खेल) खेलिसकेका छन् । केही टोलीले भने २० खेल पनि खेल्न भ्याइसकेका छन् । 

आधाभन्दा बढी खेल सकिँदासम्म तालिकामा लिभरपुलले आफ्नो अग्रता कायम राखेको छ । २० खेल सकेको लिभरपुल ४५ अङ्कसहित पहिलो स्थानमा छ । लिभरपुलले हालसम्म १३ खेलमा जित, ६ खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ ।

तालिकाको दोस्रो स्थानमा आसिन एस्टन भिल्ला ४२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १९ खेल सकेको म्यानचेस्टर सिटी ४० अङ्कसहित तेस्रो, २० खेल खेलेको आर्सनल ४० अङ्कसहित चौथो र २० खेल खेलेको टोट्टनहाम ३९ अङ्कसहित पाँचौँ स्थानमा आसिन छन् ।

हालसम्मको लिग तालिकालाई हेर्दा उपाधि होड निकै रोमाञ्चक देखिएको छ । यसका अतिरिक्त च्याम्पियन्स लिग र युरोपा लिगमा स्थान बनाउन पनि टोलीहरूबिच निकै ठुलो प्रतिस्पर्धा देखिएको छ । अर्कोतिर प्रिमियर लिग मध्य भागबाट अगाडि बढिरहँदा अधिकांश क्लब खेलाडीको घाइते समस्याबाट पनि पीडित देखिएका छन् । अहिले प्रिमियर लिगमा विभिन्न क्लबका एक सय ६० भन्दा बढी खेलाडी घाइते अवस्थामा देखिएका छन् । 

खेलाडी घाइते हुने समस्या बढ्दै गएपछि क्लबलाई उत्कृष्ट नतिजा दिने लक्ष्य बोकेका प्रशिक्षकहरू पनि दबाबमा परेका छन् । प्रशिक्षकहरूले अत्यन्तै ब्यस्त खेल तालिकाका कारण पनि बढी खेलाडी घाइते हुन थालेको गुनासो समेत गरेका छन् । 

आवश्यकताभन्दा व्यस्त खेल तालिकाका अनुसार खेलाडीले आराम गर्ने समय पनि नपाएको प्रशिक्षकहरूको गुनासो छ । चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड, न्युक्यासल युनाइटेड, नटिङ्घम फरेस्ट, टोट्टनहाम, ब्रेन्ट फोर्ड, ब्राइटन, बर्नमाउथ जस्ता क्लबहरू सबैभन्दा बढी खेलाडीको घाइते समस्याबाट प्रभावित बनेका छन् । 

यसका अतिरिक्त प्रिमियर लिगका अन्य क्लब पनि खेलाडीको घाइते समस्याबाट पीडित बनेका छन् । प्रिमियर लिगमा आधा खेल सकिँदासम्म कुन क्लबका कुन खेलाडी कस्तो समस्याबाट पीडित छन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ । 

बर्नमाउथ (१९ खेलबाट २५ अङ्क जोड्दै तालिकाको १२औँ स्थानमा)

बर्नमाउथका १० जना खेलाडी अहिले घाइते अवस्थामा छन् । बर्नमाउथका टेलर एडम्स तिघ्राको चोटबाट पीडित छन् । चिकित्सकले उनलाई कम्तीमा सात साता मैदान बाहिर रहन सुझाव दिएका छन् । उनी कम्तीमा मार्च १ तारिखसम्म मैदानमा देखा पर्ने छैनन् । 

यसै गरी मार्कोस सेनेसी बारोन र हमिद ट्रोरे पनि घाइते छन् । मार्कोस तीन साता र हमिद पाँच साता मैदान बाहिर रहने छन् । मार्कोस फेब्रुअरी १ र हमिद फेब्रुअरी १७ तारिखमा मैदानमा फर्कने समाचारमा जनाइएको छ । 

यसै गरी बर्नमाउथका लोयड केली तिघ्राको समस्याबाट र मिलोस किर्केज गोली गाँठाको समस्याबाट पीडित छन् । लोयड तीन साता र मिलोस दुई साता मैदानबाट बाहिर रहने छन् । लोयड फेब्रुअरी १ र मिलोस जनवरी २१ तारिखमा खेलमा फर्कने छन् । 

यसै गरी डोमिनिक सोलान्के, एडम स्मिथ, रायन फ्रेड्रिक्स, डाँगो ओटारा र एन्टोइन सेमेन्यो पनि घाइते अवस्थामा छन् । डोमिनिक र एडम छिट्टै मैदानमा फर्कने भए पनि बाँकी तीन खेलाडी भने लामो समय मैदानबाट बाहिर रहने समाचारमा जनाइएको छ । 

आर्सनल (२० खेलबाट ४० अङ्क जोड्दै तालिकाको चौथो स्थानमा)

आर्सनलका पनि सात जना खेलाडी अहिले घाइते अवस्थामा छन् । जुरिन टिम्बर घुँडाको समस्याबाट पीडित छन् । चिकित्सकले उनलाई १५ सातासम्म मैदान बाहिर रहन सुझाव दिएका छन् । उनी आगामी अप्रिल २० तारिखमा मात्र मैदानमा फर्कने छन् । 

यसै गरी फाबियो भिएरा र टोमस पार्टी पनि चार–चार साता मैदानमा देखा पर्ने छैनन् । यी दुवै खेलाडी फेब्रुअरी ४ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । ओलेकस्यान्डर जिनचेन्को र ग्याब्रियल जिसस पनि दुई दुई साता मैदान बाहिर रहने छन् । 

जिनचेन्को पिँडुलाको र ग्याब्रियल जिसस घुँडाको समस्याबाट पीडित छन् । यी दुवै खेलाडी कम्तीमा जनवरी २० तारिखसम्म मैदानबाट बाहिर रहने छन् । यसका अतिरिक्त मोहमद एल्नी र ताकिेहिरो तोमियासु पनि अनिश्चित समयसम्म प्रिमियर लिगमा देखिने छैनन् । 

एस्टन भिल्ला (२० खेलबाट ४२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा)

प्रिमियर लिग उपाधिको होडमा देखिएको एस्टन भिल्लाका पनि सात जना खेलाडी अहिले मैदानभन्दा बाहिर छन् । एमिलियानो बुएन्डी र टाइरोन मिङ्स घुँडाको समस्याबाट पीडित देखिएका छन् । उनीहरू ६ महिना खेलमा फर्कने छैनन् । 

यी दुवै खेलाडी आगामी जुन ३ तारिखमा मैदानमा फर्कने अनुमान गरिएको छ । लुकास डिग्नी पनि तिघ्राको समस्याबाट ग्रसित छन् । उनी तीन साता मैदानबाट बाहिर रहने छन् । उनी जनवरी ३० मा खेलमा फर्कने अनुमान गरिएको छ । 

यसै गरी पाउ टोरेस, युरी टिलिम्यान्स र रोविन ओल्सन पनि घाइते अवस्थामा छन् । उनीहरू भने छिट्टै मैदानमा फर्कने बताइएको छ । यसका अतिरिक्त बेट्रान्ड इसिडोर पनि अनिश्चित समयका लागि मैदान बाहिर रहने छन् । 

ब्रेन्टफोर्ड (१९ खेलबाट १९ अङ्क जोड्दै तालिकाको १६औँ स्थानमा)

प्रिमियर लिग आधा भागमा पुग्दा ब्रेन्टफोर्डका सबैभन्दा बढी खेलाडीको घाइते समस्याबाट प्रभावित भएको देखिन्छ । हाल ब्रेन्टफोर्डका ११ जना खेलाडी घाइते अवस्थामा छन् । रेलिगेसनको खतरा टार्न सङ्घर्षरत ब्रेन्टफोर्डलाई खेलाडीको घाइते समस्याले निकै पिरोलेको छ । 

घुँडाको समस्याबाट पीडित रिको हेनरी ६ महिना मैदानबाट बाहिर रहनेछन् । उनी जुन ३ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । ब्रायन एमब्युमो पनि गोली गाँठोको समस्याबाट पीडित छन् । उनी ११ साता खेलमा देखिने छैनन् । उनी मार्च ३० मा खेलमा फर्कने अनुमान गरिएको छ । 

यसै गरी आरोन हिकी र केभिन स्चाडे पनि चार–चार साता मैदानभन्दा बाहिर रहने छन् । यी दुवै खेलाडी कम्तीमा फेब्रुअरी ५ तारिखसम्म खेलमा फर्कने छैनन् । क्रिस्टोफर एजर, इभान टोनी र बेन मी पनि दुई–दुई साता मैदानबाट बाहिर रहने छन् । यसका अतिरिक्त क्रिस्टियन नोरगार्ड, योएन विसा, फ्रान्क अनेका र सामन घोडोस पनि अनिश्चित समयसम्म मैदानभन्दा बाहिर रहने समाचारमा जनाइएको छ । 

ब्राइटन (२० खेलबाट ३१ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा)

ब्राइटनका आठ जना खेलाडी हाल घाइते अवस्थामा छन् । ब्राइटनका जोल भेल्टम्यान सबैभन्दा लामो समय मैदानबाट बाहिर रहने छन् । उनी घुँडाको समस्याबाट पीडित छन् । उनी ६ साताको आरामपछि आगामी फेब्रुअरी १७ मा खेलमा फर्कने अनुमान गरिएको छ । 

यसै गरी जुलियो स्पिनोला पनि घुँडाको समस्यासँग जुधिरहेका छन् । उनी पाँच साता मैदान बाहिर रहने छन् । उनी फेब्रुअरी १० तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । अन्सु फाती तिघ्रा र काओरु मितोमा गोली गाँठोको समस्याबाट पीडित छन् । फाती चार र मितोमा तीन साता मैदानबाट बाहिर रहने भएका छन् । 

यसका अतिरिक्त सिमोन एडिङ्ग्रा, इगोर जुलियो डस सान्तोष, तारिक लाम्पटी र सोलोमोन मार्च पनि घाइते अवस्थामा छन् । सिमोन तीन साता, इगोर दुई साता, तारिक दुई साता र सोलोमोन अनिश्चित समय मैदानभन्दा बाहिर रहने छन् । 

बर्नली (२० खेलबाट ११ अङ्क जोड्दै तालिकाको १९औँ स्थानमा)

बर्नलीका पाँच जना खेलाडी अहिले घाइते अवस्थामा छन् । हाल रेलिगेसन क्षेत्रमा रहेको बर्नलीलाई यसले सबैभन्दा बढी पीडा दिएको छ । बर्नलीका लुका कोलेओसो घुँडाको समस्याबाट पीडित छन् । उनी ६ महिना मैदान बाहिर रहने छन् । उनी आगामी जुन ३ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । 

यसै गरी चार्ली टेलर पनि काँधको समस्यासँग जुधिरहेका छन् । उनी दुई साता खेलमा देखिने छैनन् । घुँडाको समस्यासँग जुधिरहेका हजालमर एकदल र तिघ्राको चोटसँग लडिरहेका जोर्डन बेयर एक–एक साता मैदानबाट बाहिर रहने छन् । गोलीगाँठोको समस्याबाट पीडित लिले फोस्टर भने अनिश्चित समयका लागि खेलमा देखा पर्ने छैनन् । 

चेल्सी (२० खेलबाट २८ अङ्क जोड्दै तालिकाको १०औँ स्थानमा)

प्रिमियर लिगको आधा खेल सकिँदासम्म खेलाडीको चोटको समस्याले सबैभन्दा बढी पीडित बनेको अर्को क्लब चेल्सी पनि हो । जारी सिजनको लिगमा खासै गतिलो प्रदर्शन गर्न नसकिरहेको चेल्सीका ११ जना खेलाडी हाल घाइते अवस्थामा छन् । 

चेल्सीका वेस्ली फोफना घुँडाको समस्याले पिरोलिएका छन् । उनी कम्तीमा ६ महिना मैदान बाहिर रहने छन् । उनी आगामी जुन ३ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । तिघ्राको चोटबाट पीडित रिसे जेम्स पनि ११ साता मैदान बाहिर रहने छन् । उनी आगामी मार्च ३० मा खेलमा फर्कने अनुमान गरिएको छ । 

यसै गरी मार्क कुकुरेल्ला, रोमियो लाभिया र रोबर्ट सान्चेज पनि तीन–तीन साता खेलमा देखिने छैनन् । मार्क गोली गाँठोको, रोमियो तिघ्राको र रोबर्ट घुँडाको समस्याबाट पीडित छन् । उनीहरू कम्तीमा पनि मार्च २ तारिखसम्म खेलबाट बाहिर रहने छन् । 

यसका अतिरिक्त बेन चिलवेल तिघ्राको र कार्नी चुकवुएमेका घुँडाको समस्याबाट पीडित छन् । यद्यपि उनीहरू छिट्टै खेलमा फर्कने अनुमान गरिएको छ । लेस्ली युगोचुकवु, ट्रेभोच चालोभा, क्रिस्टोफर एनकुनकु र निकोलस ज्याक्सन भने लामै समय मैदानबाट बाहिर रहने समाचारमा जनाइएको छ ।

क्रिस्टल प्यालेस (२० खेलबाट २१ अङ्क जोड्दै तालिकाको १४औँ स्थानमा)

रेलिगेसनको खतरा कायमै रहेको क्रिस्टल प्यालेसका पनि सात जना खेलाडी हाल घाइते अवस्थामा रहेका छन् । क्रिस्टल प्यालेसका दुई जना खेलाडी त लामै समय मैदानबाट बाहिर रहने चिकित्सकले जनाएका छन् । 

खुट्टाको समस्याबाट पीडित बनेका चेक डुकोउर करिब ६ महिना मैदान बाहिर रहने छन् । उनी आगामी जुन ३ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । तिघ्राको समस्याबाट पीडित जेसुरन राक साकी पनि कम्तीमा ६ साता मैदानमा देखिने छैनन् ।

यसका अतिरिक्त तिघ्राको समस्याका कारण जोल वार्ड तीन साता, गोल गाँठोको समस्याका कारण रोब होल्डिङ दुई साता र पिँडुलाको समस्याका कारण साम जोनस्टोन दुई साता मैदान बाहिर रहने भएका छन् । माइकल ओलिस र जोर्डन एवे भने अनिश्चित समय मैदान बाहिर रहने छन् । 

एभर्टन (२० खेलबाट १६ अङ्क जोड्दै तालिकाको १७औँ स्थानमा)

जारी सिजनको प्रिमियर लिगमा हालसम्म एभर्टन रेलिगेसनको जोखिममा छ । अहिले पनि एभर्टन रेलिगेसन क्षेत्रमै छ । हाल एभर्टनका पाँच खेलाडी घाइते छन् । नितम्बको चोटबाट पीडित बामिडेल अली करिब चार साता खेलमा देखिने छैनन् । उनी फेब्रुअरी ३ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ । 

यसै गरी आस्ले योङ र अब्दुलाई डुकोउरमा पनि स्वास्थ्य समस्या देखिएको छ । उनीहरू छिट्टै नै खेलमा फर्कने बताइएको छ । यसका अतिरिक्त ड्विट म्याकनिल र इद्रिसा गाना गुए भने अनिश्चित समयसम्म मैदान बाहिर रहने समाचारमा जनाइएको छ । 

फुलहाम (२० खेलबाट २४ अङ्क जोड्दै तालिकाको १३औँ स्थानमा) 

फुलहाम हाल तालिकाको मध्यतिर छ । आधा खेल अझै खेल्न बाँकी रहेकाले फुलहामको अगाडि बढ्ने सम्भावना पनि उत्तिकै छ । हाल फुलहामका पाँच जना खेलाडी घाइते छन् । फुलहामका एडमा ट्राओर ह्यामस्ट्रिङ समस्याबाट पीडित छन् । उनी कम्तीमा दुई साता खेलमा देखिने छैनन् । 

यसै गरी पिँडुलाको समस्याबाट पीडित टिम रिम भने छिट्टै नै खेलमा फर्कने समाचारमा जनाइएको छ । तर काल्भिन बासी, फोडे बालो टुरे र एलेक्स इओबी भने अनिश्चित समयका लागि प्रिमियर लिगमा देखा नपर्ने समाचारमा जनाइएको छ । 

लिभरपुल (२० खेलबाट ४५ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा)

जारी सिजनको लिगमा तालिकाको अग्रस्थानमा रहेको लिभरपुल पनि खेलाडी घाइते समस्याले सबैभन्दा बढी पीडित क्लबमध्ये एक हो । लिग मध्य भागमा पुग्दासम्म लिभरपुलका नौ जना खेलाडी स्वास्थ्य समस्याबाट पीडित देखिएका छन् । 

घुँडाको समस्याबाट पीडित जोल माटिप सबैभन्दा लामो समय मैदान बाहिर रहने छन् । उनी कम्तीमा आठ महिना खेलमा देखिने छैनन् । यी प्रभावशाली खेलाडी आगामी सेप्टेम्बर १ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ ।

यसै गरी स्टेफन बाजेटिक र थिआगो अलकान्ट्रा सात सात साता खेलमा देखिने छैनन् । स्टेफनमा फिटनेसको समस्या देखिएको छ भने थिआगो ग्रोइन इन्जुरीबाट पीडित छन् । उनीहरू आगामी फेब्रुअरी २४ तारिखमा खेलमा फर्कने अनुमान गरिएको छ ।

यसै गरी काँधको समस्याबाट पीडित कोनस्टान्टिनो सिमिकस र एन्ड्र्यु रोबर्टसन चार–चार साता मैदानबाट बाहिर रहने बताइएको छ । घुँडाको समस्याबाट पीडित ट्रेन्ट एलेज्यान्डर आर्नोल्ड तीन साता र तिघ्राको समस्याबाट पीडित डोमिनिक जोबोसजलाई दुई साता खेलमा देखिने छैनन् । वाटारु एन्डो र मोहम्मद सलाह भने राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएकाले केही समय प्रिमियर लिगमा देखिने छैनन् ।

लुटन टाउन (१९ खेलबाट १५ अङ्क जोड्दै तालिकाको १८औँ स्थानमा)

जारी सिजनको लिगमा लुटन टाउन हालसम्म रेलिगेसन क्षेत्रमा रहेको छ । लुटन टाउन यो सिजन रेलिगेसनमा पर्ने सम्भावना निकै बढी देखिएको छ । त्यसमाथि हाल लुटन टाउनका ६ जना खेलाडी घाइते अवस्थामा छन् । 

घुँडाको समस्याबाट पीडित मार्भेलस नाकाम्बा करिब १५ साता मैदानबाट बाहिर रहने छन् । उनी आगामी अप्रिल २० मा खेलमा फर्कने सम्भावना छ । तिघ्राको चोटका कारण रिसे बुर्के र डन पोट्स पनि तीन तीन साता मैदानबाट बाहिर रहने छन् ।

यसका अतिरिक्त पिँडुलाको चोटका कारण कार्लटन मोरिस पनि हाल मैदान बाहिर छन् । उनी छिट्टै खेलमा फर्कने बताइएको छ । पेटमा चोट लागेका थोमस लोकिर भने अनिश्चित समय मैदान बाहिर रहने छन् । इसा काबोरेले भने केही समय राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएको छ । 

म्यानचेस्टर सिटी (१९ खेलबाट ४० अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा)

जारी सिजनको प्रिमियर लिगमा म्यानचेस्टर सिटी उपाधि होडमा कायमै देखिएको छ । प्रारम्भदेखि नै म्यानचेस्टर सिटीले लिभरपुल र एस्टन भिल्लालाई गतिलो चुनौती दिँदै आएको छ । तर लिग मध्य भागमा पुग्दा म्यानचेस्टर सिटीका पनि थुप्रै खेलाडी घाइते भएका छन् । 

हाल म्यानचेस्टर सिटीका ६ जना खेलाडी घाइते छन् । जोन स्टोन्स गोली गाँठोको समस्याका कारण तीन साता मैदान बाहिर रहने छन् । स्वास्थ्य समस्याका कारण मैदान बाहिर रहेका बेनार्डो सिल्भा, स्कट कार्सन, काल्भिन फिलिप्स, म्यानुअल अकान्जी र अर्लिङ हल्यान्ड भने छिट्टै खेलमा फर्कने तयारीमा रहेको समाचारमा जनाइएको छ । 

म्यानचेस्टर युनाइटेड (२० खेलबाट ३१ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा) 

म्यानचेस्टर युनाइटेडले जारी सिजनको लिगमा पनि आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत गर्न सकेको छैन । उपाधि होडमा केही पछि परेको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा भने आँखा गाडेको छ । 

हाल सबैभन्दा बढी खेलाडी घाइते भएका क्लबमध्ये म्यानचेस्टर युनाइटेड पनि एक हो । हाल म्यानचेस्टर युनाइटेडका १३ जना खेलाडी मैदानमा उपस्थित छैनन् । गोली गाँठोको समस्याका कारण लिस्यान्ड्रो मार्टिनेज, तिघ्राको समस्याका कारण कासेमिरो र पिँडुलाको समस्याका कारण मासन मोन्ट चार–चार साता मैदान बाहिर रहने छन् ।

यसका अतिरिक्त लुक स, टाइरेल मालासिया, क्रिस्टियन इरिक्सन, अमाद डियाल्लो, एन्टोनी डस सान्तोष, भिक्टर लिनडोल्फ, ह्यारी मागुइरे र एन्थोनी मार्सल पनि हाल स्वास्थ्य समस्याका कारण मैदान बाहिर छन् । तर उनीहरू छिट्टै खेलमा फर्कने बताइएको छ । 

प्रभावशाली खेलाडी जाडोन सान्चो ६ महिनाका लागि ऋणमा जर्मन क्लब बोरुसिया डर्टमन्ड पुगेका छन् । अर्का खेलाडी सोफयान अमराबट पनि केही समय क्लबमा देखिने छैनन् । उनले केही समय राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएको छ । 

न्युक्यासल युनाइटेड (२० खेलबाट २९ अङ्क जोड्दै तालिकाको नवौँ स्थानमा) 

जारी सिजनको लिगमा राम्रो प्रदर्शन गरिरहेको न्युक्यासल युनाइटेड तालिकाको मध्य भागतिर छ । न्युक्यासल युनाइटेड पनि यतिबेला खेलाडीको घाइते समस्याबाट सबैभन्दा बढी जुधिरहेको क्लबमध्ये एक हो । हाल न्युक्यासलका १० जना खेलाडी घाइते अवस्थामा छन् ।

प्राविधिक समस्याका कारण स्यान्ड्रो टोनाली आगामी अगस्ट ३१ तारिखसम्म मैदानमा देखिने छैनन् । काँधमा लागेको चोटका कारण निक पोप पनि १४ साता मैदानबाट बाहिर रहने छन् । सम्भवतः उनी आगामी अप्रिल १३ तारिखमा मैदानमा फर्कने छन् ।

यसै गरी तिघ्राको चोटका कारण म्याट टार्गेट पाँच साता र काँधको समस्याका कारण ज्याकोब मर्फी तीन साता मैदानबाट बाहिर रहने छन् । स्वास्थ्य समस्याका कारण हार्भी बार्नस, कालुम विल्सन, जोसेफ विलक र एलियट एन्डर्सन पनि तीन–तीन साता मैदानबाट बाहिर रहने भएका छन् । 

यसका अतिरिक्त जोएलिन्टन र जाभियर मनक्विलो पनि अनिश्चित समयका लागि मैदानभन्दा बाहिर रहने समाचारमा जनाइएको छ । जोएलिन्टन तिघ्राको समस्याबाट पीडित छन् भने जोभियरलाई ग्रोइन इन्जुरीले सताएको छ । 

नटिङ्घम फरेस्ट (२० खेलबाट २० अङ्क जोड्दै तालिकाको १५औँ स्थानमा)

जारी सिजनको लिगमा नटिङ्घ फरेस्टको अवस्था खासै सन्तोषजनक देखिँदैन । अहिलेसम्म नटिङ्घम फरेस्ट रेलिगेसनको जोखिममा देखिएको छ । नटिङ्घम फरेस्टले हालसम्म पाँच खेलमा मात्र जित हासिल गर्न सकेको छ । 

त्यसमाथि हाल नटिङ्घम फरेस्टका १० जना खेलाडी टोलीमा छैनन् । ताइवो आवोनियी ग्रोइन इन्जुरीका कारण करिब नौ साता मैदान बाहिर रहने छन् । उनी आगामी मार्च ९ तारिखमा मात्र मैदानमा देखा पर्ने छन् । 

यसै गरी स्वास्थ्य समस्याकै कारण फेलिप डे अल्मिडा तीन साता, एन्थोनी जुनियर दुई साता र डिभोक ओरिगी पनि दुई साता मैदानबाट बाहिर रहने छन् । अन्य ६ जना खेलाडी इब्राहिम सानगर, ओलालुवा आइना, मोउसा नियाखाते, चेखु कोयुयाते, विली बोली र सर्जी आउरियर पनि विभिन्न कारणले टोलीमा समावेश छैनन् । 

सेफिल्ड युनाइटेड (२० खेलबाट नौ अङ्क जोड्दै तालिकाको २०औँ स्थानमा)

जारी सिजनको प्रिमियर लिगमा सबैभन्दा कमजोर देखिएको टोली हो सेफिल्ड युनाइटेड । हालसम्म सेफिल्ड युनाइटेड तालिकाको सबैभन्दा तल छ । सेफिल्ड युनाइटेडले हालसम्म दुई खेलमा मात्र जित हात पार्न सकेको छ । 

यतिबेला सेफिल्ड युनाइटेड रेलिगेसनबाट जोडिने योजनामा लागेको छ । तर त्यो योजना पूरा हुन निकै अप्ठ्यारो छ । त्यसमाथि हाल सेफिल्ड युनाइटेडका पाँच जना खेलाडी घाइते अवस्थामा छन् । थप दुई खेलाडी राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् । 

गोली गाँठोको समस्याका कारण क्रिस बसाम करिब ६ महिना मैदानमा देखा पर्ने छैनन् । उनी आगामी जुनमा मात्र टोलीमा फर्कने सम्भावना छ । स्वास्थ्य समस्याका कारण म्याक लोवे, जोन एगन, टम डेभिस र ड्यानियल जेबिसन पनि केही समय मैदान बाहिर रहने छन् । यासिर लारुसी र एनिस बेन स्लिमान भने राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् । 

टोट्टनहाम (२० खेलबाट ३९ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा)

टोट्टनहामले जारी सिजनको लिगमा सन्तोषजनक प्रदर्शन गर्दै आएको छ । अहिले पनि टोट्टनहाम उपाधि होडमा कायमै देखिएको छ । लिगमा अझै आधा खेल बाँकी रहेकाले टोट्टनहामले उपाधि जित्ने सम्भावनालाई नकार्न सकिँदैन ।

तर यतिबेला टोट्टनहामका थुप्रै खेलाडी घाइते अवस्थामा छन् । अहिले टोट्टनहामका १२ जना खेलाडी टोलीमा छैनन् । नौ जना खेलाडी घाइते अवस्थामा छन् । बाँकी तीन जना खेलाडी राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् । 

इभान पेरिसिच सबैभन्दा लामो समय मैदानबाट बाहिर रहने छन् । घुँडाको चोटका कारण उनी ६ महिना मैदानबाट बाहिर रहने छन् । उनी आगामी जुनसम्म मैदानमा देखिने छैनन् । एलेजो भेलिज पनि सोही समस्याका कारण आठ साता खेलमा देखिने छैनन् । 

यसका अतिरिक्त स्वास्थ्य समस्याकै कारण क्रिस्टियन रोमेरो, मानोर सालोमोन, जेम्स माडिसन, रायन सेसेग्नन, एरिक डियर, बेन डेभिस र जियोभानी लो सेल्सो पनि केही समय मैदानमा नदेखिने समाचारमा जनाइएको छ । एभस विसुमा, पापे सार र ह्युङ मिन सन भने राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् । 

वेस्ट हाम युनाइटेड (२० खेलबाट ३४ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा)

जारी सिजनको लिगमा वेस्ट हाम युनाइटेडले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लिग मध्य भागमा पुग्दासम्म वेस्ट हाम युनाइटेडले पनि आफूलाई उपाधिको दाबेदारकै रूपमा उभ्याएको छ । यद्यपि, वेस्ट हाम युनाइटेडको यो यात्रा भने निकै कठिन देखिन्छ । 

हाल वेस्ट हाम युनाइटेडका सात जना खेलाडी टोलीमा छैनन् । ६ जना खेलाडी स्वास्थ्य समस्याका कारण टोलीबाट बाहिरिएका हुन् भने एक जना खेलाडी राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका हुन् । त्यसैले वेस्ट हाम युनाइटेड यतिबेला खेलाडीको घाइते समस्याबाट जुधिरहेको छ । 

पिँडुलाको समस्यासँग जुधिरहेका लुकास टोलेन्टिनो आठ साता मैदान बाहिर रहने भएका छन् । उनी आगामी मार्चमा मात्र टोलीमा फर्कने सम्भावना देखिन्छ । घुँडाको समस्याबाट पीडित मिचेल एन्टोनियो र गोली गाँठोको समस्याबाट पीडित जारोड बोवेन तीन–तीन साता मैदान बाहिर रहने छन् । 

यसका अतिरिक्त स्वास्थ्य समस्याका कारण कोनस्टानटिनोस माभरोपानोस, भ्लादिमिर कुफाल र मोहम्मद कुडुस पनि केही समय मैदानबाट बाहिर रहने छन् । नाएफ एग्वेर्ड भने राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएकाले केही समय टोलीमा उपलब्ध हुने छैनन् ।

उल्भरह्याम्पटन वन्डरर्स (२० खेलबाट २८ अङ्क जोड्दै तालिकाको ११औँ स्थानमा) 

प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गरिरहेको उल्भरह्याम्पटन वन्डरर्स हाल अङ्क तालिकाको मध्यतिर रहेको छ । बाँकी खेलमा गतिलो प्रदर्शन गरेमा उल्भरह्याम्पटन वन्डरर्सको अगाडि बढ्ने सम्भावना पनि उत्तिकै देखिन्छ । 

हाल उल्भरह्याम्पटन वन्डरर्सका ६ जना खेलाडी विभिन्न कारणले टोलीमा छैनन् । केही खेलाडी घाइते छन् भने केही खेलाडी राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका छन् । उल्भरह्याम्पटन वन्डरर्सका जोओ गोमेस, जोनी क्यास्ट्रो, मारियो लेमिना, रायन नोउरी, बुबाकर ट्राओर रही चान ह्वाङ टोलीमा समावेश छैनन् । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप