बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
मध्यपश्चिम विश्वविद्यालय

ओलीलाई नेल्सन मण्डेलासँग दाँज्दै उपकुलपति सिंहले दिए प्रधानमन्त्री कार्यालयविरुद्ध न्यायालय जाने धम्की

शुक्रबार, ०५ माघ २०८०, २० : ३५
शुक्रबार, ०५ माघ २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले आवश्यक परे प्रधानमन्त्री कार्यालयका विरुद्ध न्यायालय जाने चेतावनी दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहलाई जाने बेला दीर्घकालीन असर पर्ने कार्य नगर्न निर्देशनात्मक पत्र लेखेको थियो ।

उपकुलपति सिंहले सोही पत्रका बारेमा शुक्रबार टिप्पणी गर्दै न्यायालय जाने चेतावनी दिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सामु उपकुलपति सिंहले यस्तो चेतावनी दिएका हुन् ।

उपकुलपति सिंहले एमाले अध्यक्ष केपी ओलीबाट विश्वविद्यालय अन्तर्गत स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सिप, तथा प्रविधि संस्थानको भवन उद्घाटन गराउने तय गरेसँगै प्रधानमन्त्रीको कार्यालयबाट बुधबार उक्त पत्र आएको थियो ।

उक्त पत्रमा भनिएको छ, ‘विश्वविद्यालयका उपकुलपतिको पदावधि निकट भविष्यमा समाप्त हुन लागेकाले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय भएको हुँदा बुधबार (माघ ३) बाट लागु हुने गरी कुनै पनि सरुवा, नियुक्ति, सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर गर्ने निर्णयहरु नगर्न नगराउन हुन प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिज्यूको निर्देशानुसार अनुरोध छ ।’

यद्यपि शुक्रवार केपी ओलीले दुईवटै भवन उद्घाटन गरिसकेका छन् । उद्घाटन पश्चात ‘विद्यार्थीसँग केपी ओली’ कार्यक्रमका बोल्दै उपकुलपति सिंहले प्रधानमन्त्री कार्यालयको पत्रलाई ‘काम नलाग्ने’ संज्ञा दिए । उपकुलपति सिंहले ओलीलाई नेल्सन मण्डेलासँग दाँजे । नेपालको राष्ट्रियतालाई जोगाउन ओलीको आवश्यकता रहेको बताउँदै उनले ओलीलाई राजनेताको संज्ञा दिए ।

ओलीले नै आफूलाई नियुक्त गरेको र उनको भनाइ अनुसार भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासहित जिम्मेवारी पूरा गरेको उपकुलपति सिंहले बताए । बेरुजु फर्स्यौटमा सबैभन्दा बढी सुधार ल्याएको उनको दाबी थियो ।

प्रधानमन्त्री कार्यालयको पत्रका बारेमा टिप्पणी गर्दै उनले भने, ‘हिजो एउटा काम नलाग्ने सातौँ नम्बरको पत्र आएको छ । छैटौँ पत्रलाई मैले के–के गरें गरेँ, हामी काम कन्टिन्यू गरिरहेका छौँ, यो सातौँ पनि त्यस्तै गर्छौँ । त्यो पत्र प्रधानमन्त्रीबाट आउँदै गर्छ, हामी कन्टिन्यू काम गर्दै जान्छौँ ।’

उपकुलपति सिंहले आवश्यक परे आफू न्यायालय जाने पनि बताए । उनले भने, ‘म मन्त्री हो र जानुभन्दा अगाडि काम गर्न नपाउने ?’ आफू कार्यकाल सकेर जानुभन्दा एक दिन अगाडिसम्म काम गर्न पाउने उनको दाबी थियो ।

सिंहको पदावधि फागुनमा सकिँदै छ । उनले आफू विरुद्ध १२५ वटा मुद्दा परेको र बेनामी मुद्दा हाल्नेलाई कारबाही गर्ने कानुन बन्छ कि बन्दैन भनेर राजनेतालाई सोध्न चाहन्छु भनी ओलीको ध्यानाकर्षणसमेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप