बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नेपालमा सुरु भयो ‘सिल्भर डलर युकालिप्टस’ अर्थात् ‘डलर फल्ने’ रूखको खेती

शनिबार, ०६ माघ २०८०, १० : ०७
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । दिनेश खत्रीले मकवानपुरको भीमफेदी गाउँपालिका– ७ कोगटेमा करिब ५० रोपनी जमिन खरिद गरेर ‘सिल्भर डलर युकालिप्टस’ लगाएका छन् । उनले खेती गरेसँगै नेपालमा पनि यसको प्रचार हुन थालेको छ । 

सुगन्धित बिरुवा ‘सिल्भर डलर युकालिप्टस’लाई कीटनाशक वनस्पतिका रूपमा लिइन्छ । यो बिरुवा अस्ट्रेलियाको स्थानीय प्रजाति हो । यसलाई लामखुट्टे, साङ्ला लगायत किरा भगाउन प्रयोग गर्न सकिन्छ । घरलाई प्राकृतिक रूपमा सुगन्धित पार्न पनि यसको प्रयोग गरिन्छ । 

यस बिरुवाको पातबाट तेल निकालेर अरोमा थेरापीमा पनि प्रयोग गरिन्छ । यसको वरिपरि बसे श्वासप्रश्वासको समस्या घटाउन र तनावमा मुक्तिका लागि पनि सहयोगी बन्छ । यसको पात उमालेर चियाका रूपमा खानाले रुघाखोकी निको हुने विश्वास गरिन्छ । 

दिनेशले कतारको राजधानी दोहामा व्यवसाय गर्दै आएका छन् । उनका विभिन्न व्यवसायमध्ये फूल व्यवसाय पनि एउटा हो । उनी कतार र नेपालका दुवै फूल पसलमा ‘सिल्भर डलर युकालिप्टस’ पनि बिक्री गर्छन् । कतारका लागि उनले यो बिरुवाका हाँगा युरोपबाट आयात गर्छन् । अहिले खत्रीको पसलबाट सिल्भर डलरका हाँगाबिँगा बिक्री हुन्छन् । स–साना हाँगाहरूको झुन्डलाई दुईदेखि तीन सय रुपैयाँमा बिक्री हुने गरेको खत्रीले बताए । 

‘बजारमा माग बढ्दै आएकाले अब अरु किसानसँग मिलेर खेती विस्तार गर्ने विचार छ,’ उनले भने ।

‘नेदरल्यान्ड्सबाट कतार ल्याउन आठ घन्टा लाग्छ, तर काठमाडौंबाट कतार लैजान मात्र चार घन्टा लाग्छ । दूरी कम भएकाले नेपालमै सिल्भर डलर युकालिप्टसको उत्पादन सुरु गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र यसको खेती सुरु गरेँ,’ पेटल्स नेपालका प्रबन्ध निर्देशक समेत रहेका दिनेश खत्रीले भने ।

यसको खेती गर्न सजिलो छ । खत्रीका अनुसार, यसलाई उमार्न भने अलि कठिन हुन्छ, जब यसले जरा हाल्छ, सितिमिती मर्दैन । अस्ट्रेलियामा एक सय ग्राम बिउको मूल्य साढे दुई सय अमेरिकी डलर पर्छ । यो चिसोमा हुने बिरुवा हो । 

WhatsApp Image 2024-01-16 at 10.33.08 AM

अरु किसानलाई पनि बिरुवा उपलब्ध गराउने र उनीहरूले उत्पादन गरेको सिल्भर डलर खरिद गर्ने ग्यारेन्टी गर्ने योजना समेत उनले बनाएका छन् । उनका अनुसार यसमा एउटै कुराको समस्या छ, त्यो हो, बिरुवाको मूल्य । अमेरिकामा एउटा हुर्केको बिरुवालाई ३० डलरसम्म पर्छ । नेपालमा भने १०००–१५०० रुपैयाँ हाराहारीमा बिरुवा उपलब्ध गराउन उनी प्रयासरत छन् । कसैले यसको खेती गर्न चाहन्छ र एउटा सानो गाडी भरिने गरी हाँगा उत्पादन गर्ने भए सम्झौता गरी जीवनभर खरिद गरिने दिने उनी बताउँछन् । 

सामान्यतः शूून्य डिग्री सेल्यिससम्म यसको बिरुवा मर्दैन तर धेरै तुसारो पर्ने वा हिमपात हुने ठाउँमा भने पात झर्न सक्छ । धेरै तापक्रम भएको ठाउँमा सप्रँदैन, गुणतरीय बिरुवा पनि बन्दैन । नेपालको सन्दर्भमा मध्यपहाड यसका लागि उत्तम भूमि मानिन्छ । 

दिनभर घाम लाग्ने र पानी नजम्ने ठाउँमा यसको राम्ररी खेती गरिन्छ । पीएच ६ देखि ८ सम्मको अम्लीय माटोमा यो राम्ररी सप्रन्छ । यसको आयु ३० देखि ५० वर्ष मानिन्छ । एकपटक लगाएपछि आठ महिनामा पहिलोपटक हाँगा काट्न मिल्छ, त्यसपछि स्याहार अनुसार एक–दुई महिनाको फरकमा हाँगा काटिन्छ । पातसहितको सानो हाँगो नै यसको बेच्ने जिनिस हो । एउटा बिरुवाले लगभग ३० वर्षसम्म लगातार हाँगा दिन्छ । नकाटी छोड्ने हो भने अग्लो रुख बन्छ, तर व्यावसायिक खेतीमा अग्लो हुन दिइँदैन । खत्रीकै शब्दमा भन्ने हो भने साँच्चिकै डलर फल्ने रूख हो यो । सय बोट हुर्काउन सके स–सानो परिवारलाई खानपान तथा निजी सवारी साधानको व्यवस्था समेत गर्न सकिने उनको दाबी छ । 

यसलाई रोपेर माथिबाट केही मात्रामा छाप्रो दिए राम्रो हुन्छ । पहिलो साताभर दैनिक सिँचाइ दिनुपर्छ । जब सर्छ, त्यसपछि एक–दुई साताको अन्तरालमा सिँचाइ दिए पनि पुग्छ । 

यसलाई फूलको गुच्छा, माला आदिमा प्रयोग गरिन्छ । मध्यपूर्वतिर धनाढ्यले घर सजाउन पनि यसको प्रयोग गर्छन् । यसलाई ऐश्वर्यको प्रतीकका रूपमा लिइन्छ । त्यसैले दिनेशले कतारमा यो बिरुवा निर्यात गर्ने योजना बनाएका छन् । उनको योजना सफल भएमा हजारदेखि १५ सय मिटरको उचारको मध्यपहाड र सिँचाइको सुविधा भएका ठाउँमा यसको खेती विस्तार गर्न सकिन्छ । 

सामान्यतः बिउ रोपेको तीन महिनामा बिरुवा रोप्नका लागि तयार हुन्छ । सानो बिरुवाका लागि एक फिटको फरकमा, अलिकति ठूलो बिरुवा बनाउन दुई फिटको फरकमा र व्यावसायिक उत्पादनका लागि तीन मिटरको फरकमा रोप्नुपर्छ । एउटा लहरदेखि अर्कोबिचको दूरी तीन मिटर राखे राम्रो मानिन्छ । सिँचाइका लागि थोपा सिँचाइ जडान गर्नु उत्तम मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप