सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

लगातार चौथो दिन घट्यो सेयर बजार, १९ सय बिन्दुतर्फ परिसूचक

सोमबार, ०८ माघ २०८०, १५ : २८
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो घट्दो क्रमलाई निरन्तरता दिएको छ । गत साताको बुधबारदेखि नै घट्न थालेको नेप्से परिसूचक आजसम्म लगातार चौथो दिन घटेको रोकिएको छ । 

लगातार बढेर २१७५ अंकसम्म पुगेको नेप्से परिसूचक निरन्तर घटेसँगै २०९८ अंकमा आइपुगेको छ ।

गत साताको बुधबार १२ अंकले घटेको नेप्से बिहीबार ७ अंकले घटेको थियो । यस्तै, हिजो आइतबार २५ अंकले घटेको परिसूचक आज ३१ अंकले घटेको हो । परिसूचक १.४७ अंकले घटेको दिन कारोबार रकम समेत घटेको छ । दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको सेयर बजारमा आज ६ अर्ब ३६ करोडको कारोबार भएको छ ।

यसक्रममा आज १ करोड ८० लाख कित्ता सेयर किनबेच भएको छ । ३६ कपनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य भने स्थिर कायम भएको छ । कारोबार सुरु भएदेखि नै परिसूचक घटेपनि २ कम्पनीको सेयर मूल्यमा भने ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ । अप्पर स्याङ्गे हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको सेयर मूल्य उच्च अंकले बढेको हो ।

यस्तै, आज दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ । परिसूचक उच्च अंकले घट्दा हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ७८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । निरन्तर बढेर उकालो लागिरहेको यो कम्पनीको सेयर मूल्यमा समेत गिरावट आएको छ । आज ३५ अंकले घटेसँगै कम्पनीको सेयरमा ‘सेल प्रेसर’ बढेसँगै सबैभन्दा धेरै कारोबार भयो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार समूहको सूचकमा १० अंकको सुधार आउनुबाहेक सबैजसो समूहमा गिरावट आएको छ । निर्जीवन बीमा कम्पनी समूहको सूचकमा १३७ अंकको गिरावट आउँदा जीवन बीमा समूहको सूचकमा ८१ अंकको गिरावट आएको छ । यस्तै, उत्पादनमूलक समूहको सूचकमा ७८ अंक र लघुवित्त समूहको सूचकमा ७६ अंकको गिरावट आएको छ । यीबाहेक पनि सबैजसो समूहको सूचकमा गिरावट आएको छ ।

परिसूचक निरन्तर घट्दै गएसँगै कारोबार समेत खुम्चिँदै गएको छ । दैनिक ९ अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको सेयर बजारमा आज ६ अर्बको मात्रै कारोबार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको अर्धवार्षिक समिक्षाको प्रतिवेदन आएसँगै बजारमा निराशा देखिएको छ । सबैजसो बैंकहरुको प्रतिवेदनमा नाफा घटेर सार्वजनिक भएको छ । जसबाट लगानीकर्ताको मनोबल घट्दा परिसूचक समेत घटेको हो ।

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप