मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

उस्तै नामका दुई फिल्मले तरङ्ग : एउटा सेन्सर पास, अर्को लाइनमा

निर्माता भण्डारी भन्छन्, ‘हाम्रो अङ्ग्रेजी वर्ड र थिम फरक छ’
मङ्गलबार, ०९ माघ २०८०, १४ : २३
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । नेपाली फिल्म क्षेत्र बेलाबेलामा नाम विवादले गर्माउने गरेको छ । केही अगाडि फिल्म ‘भागवत गीता’को नाम विवादमा परेको थियो । धार्मिक संस्थाले फिल्मको नाम ‘भागवत गीता’ मा असहमति जनाएपछि विवाद निम्तिएको थियो । निर्माण युनिटले नाममा केही परिमार्जित गरेपछि विवाद साम्य भयो ।

यस्तैमा पछिल्लो समय उस्तै उस्तै नामका दुई फिल्म बन्ने भएपछि लफडा सुरु भएको छ ।  एउटा समुहले प्रदीप खड्का र आना शर्मा लिएर फिल्म ‘अक्टोर’ बनाउने भनेर केही समयदेखि मिडिया प्रचार गरिरहेको छ । फिल्म निर्माण पहिले चलचित्र विकास बोर्डमा नाम दर्ता गर्नुपर्छ । तर भएको छैन ।

यस्तै ‘एक्टर’ नामबाट भने अर्काे फिल्म दर्ता, निर्माण भएर सेन्सर समेत भैसकेको छ । उच्चारण जसरी गरेपनि सुनिने नाम एकै भएको भन्दै विवाद उत्पन्न भएको हो । 

 पुराना निर्देशक मदन घिमिरेको निर्देशन ‘एक्टर’नामबाट फिल्म निर्माण भएर पनि सेन्सर भएको हो । फिल्ममा प्रिन्स थापा, सिभानी गिरी, कशिष दाहाल, सिभु शाह लगायतका कलाकारको मुख्य भूमिका छ । मनोहरी थापाको निर्माणमा नेपाली डायस्पोरा इन्टरटेन्मेन्टले यो फिल्म तयार गरेको हो । फिल्मको छायाँकन ७–८ महिना अगाडि नै गरेको निर्देशक मदन घिमिरेको भनाइ छ ।

आफूले निर्माण तथा सेन्सर समेत गरिसकेको फिल्मको नामबाट फिल्म बन्न लागेको सुन्दा अचम्म लागेको निर्देशन घिमिरेले बताए । ‘भन्न त उहाँहरू फिल्मको अङ्ग्रेजी नाम फरक छ भन्नु हुन्छ । तर प्रचार एउटै नामबाट गरिरहनु भएको छ’, निर्देशक घिमिरेले भने, ‘मैले जुराएको नामबाट अर्काेले फिल्म दर्ता गरेको छ, छैन । हेरेर बुझेर मात्र बाहिर हल्ला गर्नुपर्ने हो ।’ एउटै नामबाट फिल्म बन्दा मानिस झुकिनेदेखि ब्यवसायमा समेत असर पर्ने घिमिरेको धारणा छ ।

फिल्मको नाम राख्न मिल्ने नाम यहाँ हजारौँ भएको बताउने घिमिरे यो विषयमा विकास बोर्डको पनि भूमिका हुनुपर्ने धारणा राख्छन् । ‘अहिलेसम्म उहाँहरू फिल्म दर्ताका लागि जानु भएको छैन । जानु भयो भने बोर्डले केही भूमिका खेल्ला’, घिमिरेले अगाडि भने ‘त्यसै पनि नेपाली चलचित्र उद्योग धराशायी छ । यसले सकारात्मक सन्देश जाँदैन ।’ 

‘अक्टोर’ नामबाट थमन कुमार भण्डारीले फिल्म निर्माण गर्न लागेका हुन् । राजन भुसालको निर्देशन रहने बताइएको फिल्म अदृत फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको हो । फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । फिल्ममा अभिनेता राजबल्लभ कोइराला पनि रहने चर्चा गरिएको छ । निर्माता थमन कुमार भण्डारी फिल्म विकास बोर्डमा दर्ता सहित निर्माण हुने बताउँछन् । ‘फिल्म दर्ताका लागि हामीले निर्माता संघसँग सिफारिस लिइसकेका छौ’,भण्डारीले भने ‘दर्ता हुन बाँकी रहेको छ । छिट्टै गर्छाैँ ।’

भण्डारीले भने, ‘हामीले निर्माण गर्न लागेको फिल्मको नाम ‘अक्टोर’ (एकेटिओआर) हो । अहिले निर्माण भैसकेको फिल्म हो ‘एक्टर’ (एसिटीओआर) हो ।’ नाम फरक भएपछि फिल्म दर्ता नहुने त कुरै भएन नि ।’

भण्डारीका अनुसार फिल्मको नाम अंग्रेजीमै दर्ता हुनेछ । यो खासमा एउटा नाटक थिम पनि हो । अल्भानियन वडबाट यो नाटक थिम लिइएको हो । ‘हाम्रो फिल्मको थिम फरक छ । त्यो खुलाउने कुरोपनि भएन । अहिले बन्नेको एक्टरसँग हाम्रो फिल्मको कुनै कनेक्सन छैन’ भण्डारीले थपे ‘म चलचित्र निर्माता संघको सदस्य पनि हो  । मैले एकेटिओरा नामको फिल्म दर्ताका लागि चिठ्ठी लिएको छु । त्यो दर्ता हुन्छ ।’ 

एक पक्षले नामबारे आपत्ति जनाइसकेको अवस्थामा यो विवाद कसरी समाधान हुन्छ, त्यो हेर्न बाँकी नै छ । तर, चलचित्र विकास बोर्डले एउटै नामबाट २ फिल्म दर्ता नगर्ने परम्परा छ ।  भण्डारीले भने जस्तै अङ्ग्रेजी उच्चारणलाई आधार बनाएरै बोर्डले दर्ता गर्छ या गर्दैन त्यो छिट्टै टुंगो लाग्ने नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप