बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीले जनताको पक्षमा काम गर्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

मङ्गलबार, ०९ माघ २०८०, १८ : १९
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणाममुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०—८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्तिसहित उपलब्धिमूलक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिएका हुन् ।

नेपाल सरकारको उच्च प्राथमिकतामा सञ्चालित खोप कार्यक्रमको वर्तमान अवस्थाप्रति उनले असन्तुष्टि जनाउँदै कामलाई सुधार गर्न जरुरी रहेको बताए । ‘हाल ५२ प्रतिशत मात्रै पूर्ण खोप सुनिश्चितता भएका अवस्थामा यति गतिमा जाँदा सन् २०२६ मा लक्ष्य हासिल गर्न गाह्रो छ’, मन्त्री बस्नेतले भने, ‘परिणाममुखी काममा मन्त्रालय सहजीकरणका लागि तयार छ ।’ खोप सेवाले बालबालिकाको रोगदर, मृत्युदर र अपाङ्गताको दरमा कमी ल्याउने भन्दै उनले सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवारी रहेको बताए ।

सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण त्यो पुरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको मन्त्री बस्नेतको भनाइ छ । ‘जागिर मात्र खाने मानसिकताले काम गर्दा तोकिएको लक्ष्य पुरा गर्न सकिँदैन । आफूमा भएको क्षमता प्रदर्शन गर्न सक्नु पर्छ,’ मन्त्री बस्नेतले भने,  ‘स्वास्थ्यका अधिकारीको काम महिनामा दुई दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन । सरकारी सेवामा प्रवेश गरेपछि जनताको पक्षमा काम गर्नु पर्छ ।’

मन्त्रालयका सचिव डा रोशन पोखरेलले यसका लागि तीन वटै तहबिच समन्वयन हुन नसकेको भन्दै आगामी दिनमा यसमा सुधार आवश्यक रहेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छाले १६औँ पञ्चवर्षीय योजनामा खोपमा कसरी आत्मनिर्भर बन्ने सम्बन्धमा योजना समेटिएका बताए । उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘आवश्यक खोप मुलुकभित्रै उत्पादन गर्नुको विकल्प छैन । सङ्कटको समयमा प्रणालीलाई सुदृढ बनाइ सबल बनाउनुपर्छ । मितव्ययिता अपनाएमा लक्ष्य प्राप्त गर्न कठिनाइ छैन तथ्याङ्क र अभ्यासमा एकरुपता हुनुपर्छ’, उनले भने । महाशाखाका निर्देशक डा. विवेककुमार लालले हालसम्म ७२ जिल्ला र सात सय ३३ स्थानीय तह पूर्णखोप घोषणा भइसकेको जानकारी दिँदै सङ्ख्यामा मात्र नभई गुणस्तरीयता कायम गर्न जरुरी रहेको बताए ।

महाशाखाले चार–पाँच वर्षको अन्तरालमा खोप अभियान सञ्चालन गर्दै आएको छ । खोप अभियान प्रभावकारी रहेको आयोजकले जनाएको छ । नेपालमा २३ प्रतिशत खोप खेर जाने गरेको तथ्यांक प्रस्तुत गर्दै यसको प्रतिशत घटाउन तिर सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याए ।

उनले ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई र २५ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनीका बालबालिकालाई केन्द्रित गरेर दादुरा र रुवेलाको खोप अभियान सञ्चालन गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप