आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रियसभा निर्वाचनका लागि यस्तो छ लुम्बिनी प्रदेशमा तयारी

बुधबार, १० माघ २०८०, ०८ : ३९
बुधबार, १० माघ २०८०

बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदान स्थलको अनुगमन गरी पूर्वाधार निर्माण तथा व्यवस्थापकीय कार्यका लागि आवश्यक निर्णय भइसकेको उनको भनाइ छ । निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको सूचना अधिकारी कुँवरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अब मतदान केन्द्र निर्माणको काम मात्रै बाँकी छ ।

मतपत्र, मतदाता नामावली, ब्यालेट बक्स लगायतका सामग्रीको व्यवस्थापन भइसकेको उनले बताए । दुई वटा मतदान केन्द्रमा दश÷दश जना गरी २० जना कर्मचारी खटिनेछन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कर्मचारी सहयोगी गरी दश जना हुने कुँवरको भनाइ छ ।

निर्वाचन सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सुरक्षाकर्मी परिचालन गर्ने गरी व्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ । यस निर्वाचनमा प्रदेशसभा सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

असक्त र अपाङ्गता भएका मतदाताको हकमा लाइन बस्न नपर्ने गरी मतदानको व्यवस्था गरिएको छ । मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । लुम्बिनी प्रदेशमा २ सिटका लागि ६ जना उम्मेदवार छन् । अन्य र महिला क्लस्टरका दुई सिटका लागि निर्वाचन हुने छ ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले महिला क्लस्टरमा गुल्मीकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री, महिलातर्फ दाङकी तुलसा कुमारी केसीलाई उम्मेदवार बनाएको छ ।

राप्रपाले महिला क्लस्टरमा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार छन् । १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप