बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

विराटनगरमा मौन अवधि उल्लङ्घनको होडमा दलहरू

बुधबार, १० माघ २०८०, १२ : ५३
बुधबार, १० माघ २०८०

विराटनगर । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न रोक लगाइए पनि दलहरूले त्यसलाई उल्लङ्घन गरेका छन् । 

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार प्रसारमा रोक लगाएको हो । तर, कोशी प्रदेशका उम्मेदवारहरु कृष्णप्रसाद सिटौला, चम्पा कार्की, उद्धव पौडेल र रुक्मिणी कोइरालाले आचारसंहिता विपरीत चुनाव प्रचार गरेको पाइएको हो । 

राष्ट्रियसभाको निर्वाचन बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि समय निर्धारण गरिएको छ । जसअनुसार आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्मका लागि राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रसार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने भन्दै सूचना जारी गरेको छ ।

तर, राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि नेपाली काँग्रेसले चियापान गरेको छ भने नेकपा एमाले र राप्रपाले भेला राखेका छन् । मौन अवधिमा नेकपा एमाले र राप्रपा गठबन्धनले उम्मेदवार तथा मतदाताहरू बोलाएर भेला राखेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरू भेलामा सहभागी छन् । 

koirala Nibas (1)

राष्ट्रिय सभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् 

कोशीबाट प्रतिनिधित्व गर्ने एमालेका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरू बुधवार विराटनगरको होटेल ह्यारिसनमा भइरहेको भेलामा सहभागी छन् । सो होटेल एमाले केन्द्रीय सदस्य मोती दुगर्डको होटेल हो । एमालेले मंगलबार नै निर्वाचनको सन्दर्भभा प्रदेशका सबै सांसदलाई विराटनगर केन्द्रित गरेको थियो । 

उता, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै मौन अवधिमा विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । चियापानमा राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि सहभागी छन् । कार्यक्रममा काँग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत सहभागी छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । एमाले र राप्रपा गठबन्धनबाट भने राप्रपाका उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइराला उम्मेद्वार बनेकी छिन् । एमालेले राप्रपासँग गठबन्धन गरेपछि यसअघि उम्मेदवार बनाइएका पर्शुराम अधिकारीको उम्मेदवारी भने निष्क्रिय गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप