बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सेवा सुविधा

कोशीका मुख्यमन्त्रीको पारिश्रमिक मासिक ७१ हजार ९४५ रुपैयाँ, अन्य सुविधा कति ?

बुधबार, १० माघ २०८०, १४ : ५४
बुधबार, १० माघ २०८०

विराटनगर । संघीयताको विरोध गर्नेहरुले मुख्य गरी प्रदेश संरचनालाई नै निशाना बनाउने गरेको पाइन्छ । जनतामा सहज रुपमा सेवा प्रवाह गर्ने, विकास निर्माणका कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लक्ष्यसहित प्रदेश सरकारको परिकल्पना गरिए पनि कतिपय विषयले यो आलोचनाको केन्द्र बन्ने गरेको छ ।

संघीयताको आलोचकहरु प्रदेश संरचना खर्चिलो भएको तर्क गर्दछन् । सात वटा प्रदेशका कार्यपालिका र व्यवस्थापिका अन्तर्गत बजेटको ठुलो हिस्सा खर्च हुने गरेको उनीहरुको भनाइ छ ।

प्रदेश संरचना आर्थिक रुपमा बोझमात्र बनेकै हो या आलोचकहरुले आलोचनाका लागिमात्र यस्ता विषय उठाएका हुन् भन्ने जान्नका लागि हाम्रा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरुको पारिश्रमिक, सेवा–सुविधा पनि मूल्याङ्कनको एउटा आधार हुन सक्छ ।

कोशी प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा ९ मन्त्रालय छन् । तर २०७९ को निर्वाचन यता सबैभन्दा बढी राजनीतिक अस्थिरता देखिएको यो प्रदेशमा एक वर्ष यता मन्त्रिपरिषदले पूर्णता नै पाउन सकेको छैन ।

कोशीमा हाल चार सदस्यीय मन्त्रिपरिषद छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा अन्य तीन मन्त्री छन् । मन्त्रालय संख्याको आधारमा पाँच मन्त्री नियुक्त हुन बाँकी नै छन् ।

मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक कति ?

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार कोशी प्रदेशका मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७१ हजार ९४५ रुपैयाँ छ । यस्तै कोशीका मन्त्रीको पारिश्रमिक मासिक ६१ हजार ३६० रुपैयाँ छ ।

प्रदेश सरकारले पूर्णता नपाएका कारण मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकमा हाल कोशीको खर्च अन्य प्रदेशको तुलनामा कम छ । कोशीमा एक मुख्यमन्त्री र तीन मन्त्रीका लागि मासिक दुई लाख ५६ हजार २५ रुपैयाँ खर्च हुँदै आएको छ । कोशी सरकारका सबै मन्त्रालयमा मन्त्री नियुक्त भएको अवस्थामा भने मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिकमा मात्र मासिक ५ लाख ६२ हजार ८२५ रुपैयाँ खर्च हुने देखिन्छ ।

मुख्यमन्त्री र मन्त्रीहरुलाई अन्य के के सुविधा ?

कोशीका मुख्यमन्त्रीका लागि आवास सुविधाका साथै आवश्यक फर्निचरका साथै दुई वटा सवारी साधनको व्यवस्था छ ।

यस्तै सवारी इन्धनबापत पेट्रोल मासिक २५० लिटर, मोबिल त्रैमासिक १५ लिटर, सञ्चार सुविधा मासिक ४ हजार, धारा तथा बिजुलीको बिल अनुसार भुक्तानीको सुविधा पनि मुख्यमन्त्रीलाई छ । मुख्यमन्त्री दैनिक भ्रमणमा जाँदा स्वदेशमा प्रतिदिन ३ हजार रुपैयाँ र विदेश भ्रमणमा प्रतिदिन २२५ अमेरिकी डलर तथा १० लाखको यात्रा बीमाको व्यवस्था छ ।

मन्त्रीहरुको हकमा आवास उपलब्ध नभएसम्म मासिक २९ हजार घरभाडा, एउटा गाडी, मासिक २ सय लिटर पेट्रोल, मोबिल त्रैमासिक १० लिटरको व्यवस्था छ । यस अतिरिक्त सञ्चार सुविधा मासिक ३ हजार ५ सय, धारा तथा बिजुली बापत मासिक २ हजार ५ सयको व्यवस्था पनि छ ।

मन्त्रीहरुलाई दैनिक भ्रमणभत्ता अन्तर्गत स्वदेशमा २ हजार ५ सय रुपैयाँ तथा विदेशका लागि २ सय अमेरिकी डलर र १० लाख रुपैयाँको यात्रा बीमाको व्यवस्था छ ।

यस्तै राज्यमन्त्रीलाई तलब सुविधा मासिक ५७ हजार ८२०, आवासका लागि २४ हजार घरभाडा, गाडी एउटा, मासिक १५० लिटर पेट्रोल, मोबिल त्रैमासिक ७ लिटर, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, धारा तथा बिजुलीका लागि मासिक २ हजारको व्यवस्था छ ।

राज्यमन्त्रीलाई दैनिक भ्रमण अन्तर्गत स्वदेशका लागि २ हजार रुपैयाँ र विदेश भ्रमणमा गए दैनिक १७५ अमेरिकी डलर तथा १० लाख रुपैयाँको यात्रा बीमाको व्यवस्था छ ।

सहायक मन्त्रीका लागि तलब तथा पारिश्रमिक मासिक ५५ हजार ४६० रुपैयाँ निर्धारण गरिएको छ । अन्य सेवा सुविधामा राज्यमन्त्री सरहकै व्यवस्था गरिएको छ ।

सचिवालयतर्फ यस्तो छ सुविधा

कोशीका मुख्यमन्त्रीले प्रमुख स्वकीय सचिव १ जना (राप द्वितीय श्रेणी वा सो सरह), स्वकीय सचिव १ जना (राप तृतीय श्रेणी वा सो सरह), सचिवालय १ जना राप द्वितीय श्रेणी वा सो सरह, राजनीतिक सल्लाहकार १ जना राप प्रथम श्रेणी वा सो सरह, जनसम्पर्क सल्लाहकार राप द्वितीय श्रेणी वा सो सरह, आर्थिक सल्लाहकार राप द्वितीय श्रेणी वा सो सरह, प्रेस सल्लाहकार राप द्वितीय श्रेणी वा सो सरह १–१ जना राख्ने व्यवस्था छ । यस्तै सूचना प्रविधि विज्ञ १ जना (राप द्वितीय श्रेणी वा सो सरह, सूचना प्रविधि १ जना राप अनं. प्रथम श्रेणी वा सो सरह, हलुका सवारी चालक २ जना, आवास सहयोगी २ जना, कार्यालय सहयोगी २ जना र अतिथि सत्कारका लागि मासिक १० हजार रुपैयाँ दिइने व्यवस्था छ ।

यस्तै मन्त्रीहरुका लागि भने प्रमुख स्वकीय सचिव १ जना राप तृतीय श्रेणी वा सो सरह, स्वकीय सचिव १ जना राप अनं प्रथम श्रेणी वा सो सरह, सचिवालयमा १ जना राप तृतीय वा सो सरह रहनेछन् ।

मन्त्रीका लागि सूचना प्रविधिमा १ जना राप अनं. द्वितीय श्रेणी वा सो सरह, हलुका सवारी चालक १ जना, आवास सहयोगी १ जना, कार्यालय सहयोगी १ जना र अतिथि सत्कारका लागि मासिक ७ हजार रुपैयाँ दिइने उल्लेख छ ।

राज्यमन्त्री र सहायक मन्त्रीका लागि भने स्वकीय सचिव १ जना राप अनं प्रथम श्रेणी वा सो सरह, सचिवालयमा १ जना राप तृतीय वा सो सरह रहनेछन् भने हलुका सवारी चालक १ जना, आवास सहयोगी १ जना, कार्यालय सहयोगी १ जना र अतिथि सत्कारका लागि मासिक राज्यमन्त्रीका लागि ५ हजार रुपैयाँ र सहायक मन्त्रीका लागि ३ हजार रुपैयाँ दिइने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप