बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सेवा सुविधा

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुको मासिक सेवा–सुविधा कति ?

मुख्यमन्त्री र ११ मन्त्रीको तलबमा मात्र प्रत्येक महिना ६ लाख ३२ हजारभन्दा बढी खर्च
बुधबार, १० माघ २०८०, १५ : २३
बुधबार, १० माघ २०८०

मकवानपुर । १२ सदस्यीय बागमती प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरुको तलबबापत मात्र मासिक ६ लाख ३२ हजार ९७० रुपैयाँ खर्च हुँदै आएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकारमा अन्य ११ मन्त्री छन् । २०७५ भदौ २९ गते प्रदेश राजपत्रमा प्रकाशित ऐन अनुसार मुख्यमन्त्रीले प्रतिमहिना ६० हजार ९७० रुपैयाँ तलब सुविधा पाउने छन् भने मन्त्रीहरुले ५२ हजार रुपैयाँ पाउँछन् । मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी ऐन २०७५ मा राज्यमन्त्रीलाई मासिक ४९ हजार रुपैयाँ र सहायक मन्त्रीलाई ४७ हजार रुपैयाँ तलब सुविधाको व्यवस्था गरिए पनि बागमती सरकारमा हाल राज्यमन्त्री र सहायक मन्त्री भने छैनन् ।

ऐनमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरुलाई सरकारी आवास सुविधाको व्यवस्थासमेत छ ।

मुख्यमन्त्री तथा मन्त्रीहरुले मासिक तलब भत्तासहित आवास, भ्रमण, बिजुली, सञ्चार, खानेपानी, सवारी साधन तथा इन्धन, बीमा, उपचार सुविधा, चाडपर्व खर्च, अतिथि सत्कार तथा भइपरी खाउने खर्च र सुरक्षा सुविधा लिने गरेका छन् ।

त्यसका अलावा मुख्यमन्त्री तथा मन्त्रीहरुले सचिवालय, तथा कर्मचारीको सुविधा पनि पाउने व्यवस्था ऐनमा गरिएको छ ।

निजी आवासमा बस्ने मन्त्रीहरुको हकमा घर मर्मत बापत वार्षिक १ लाख ३० हजार रुपैयाँ र फर्निचर खरिद बापत एक पटक एकमुष्ट १ लाख रुपैयाँ पाउने व्यवस्था ऐनमा गरिएको छ ।

आवास सुविधा उपलब्ध गराउन नसकेको खण्डमा मन्त्रीलाई २७ हजार रुपैयाँ, राज्यमन्त्रीलाई २५ हजार रुपैयाँ र सहायक मन्त्रीलाई २० रुपैयाँका दरले मासिक घरभाडा उपलब्ध गराइने व्यवस्था छ ।

त्यसका साथै मुख्यमन्त्री तथा मन्त्रीहरुलाई यातायात सुविधा अन्तर्गत एउटा सरकारी सवारी साधनको व्यवस्था हुनेछ । मुख्यमन्त्रीको हकमा सुरक्षा प्रयोजनका लागि आवश्यक भएमा थप एक सवारी साधन उपलब्ध गराइनेछ । जसमा १०० लिटर इन्धन सुविधाको व्यवस्था गरिएको छ । ऐनमा उल्लेख भएअनुसार सवारी इन्धन, मोबिल र यातायात सुविधा खर्च अन्तर्गत मुख्यमन्त्रीलाई १५० लिटर इन्धन र १० लिटर मोबिल उपलब्ध गराइने छ भने मन्त्रीहरुलाई १२५ लिटर इन्धन, ५ लिटर मोबिल र मन्त्री र राज्यमन्त्रीहरुलाई १२० लिटर इन्धन र ५ लिटर मोबिलको सुविधा छ ।

त्यसका साथै मुख्यमन्त्री र मन्त्रीहरुलाई भ्रमण भत्ताको व्यवस्थासमेत छ । उनीहरुलाई स्वदेश तथा विदेश भ्रमण भत्ताको व्यवस्था ऐनमा गरिएको छ ।

स्वदेश भ्रमण गर्दा मुख्यमन्त्रीले दैनिक ३ हजार रुपैयाँ, मन्त्रीले २ हजार ५०० रुपैयाँ पाउने छन् । विदेश भ्रमणमा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर, मन्त्रीले २०० अमेरिकी डलर पाउने व्यवस्था छ ।

साथै मुख्यमन्त्री र मन्त्रीहरुलाई भ्रमणका बखत १० लाख रुपैयाँको यात्रा बीमाको व्यवस्था गरिएको छ ।

युरोपियन मुलुक, अमेरिका, क्यानाडा, कुवेत, कोरिया, जापान, रुस, कतार, दुबई, सिङ्गापुर, लेबनान, बहराईनको भ्रमण गर्दा तोकिएको दरभन्दा ३३ प्रतिशत थप रकम दिने व्यवस्था छ ।

भारतको चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, दिल्ली, कोलकाता र बंलादेशको ढाका र चटगाउँ बाहेकका स्थानमा रात बिताउनु पर्दा तोकिएको दरमा २५ प्रतिशत थप रकम दिइनेछ । मुख्यमन्त्री र मन्त्रीलाई १० हजार रुपैयाँसम्मको स्वास्थ्य भत्ताको व्यवस्था छ ।

मुख्यमन्त्री र मन्त्रीहरुको सरकारी आवासमा बिजुली, धाराको महसुल बिल बमोजिम भुक्तानी गरिने व्यवस्था ऐनमा छ । सरकारी आवासमा बिजुली, फोन, पानीलगायत सबै सरकारी कोषबाट भुक्तानी हुने व्यवस्था गरिएको छ ।

मुख्यमन्त्रीलाई सञ्चार, बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिकाका लागि मासिक ५ हजार रुपैयाँसम्म खर्चको व्यवस्था गरिएको छ । यो शीर्षकमा मन्त्रीहरुलाई ३ हजार रुपैयाँ मासिक भुक्तानीको व्यवस्था छ ।

अतिथि सत्कार र भइपरी आउने खर्च अन्तर्गत मुख्यमन्त्रीलाई मासिक १० हजार रुपैयाँ, मन्त्रीलाई ५ हजार रुपैयाँ र राज्यमन्त्री तथा सहायक मन्त्रीलाई ३ हजार रुपैयाँको सुविधा रहने ऐनमा उल्लेख छ ।

सचिवालयको सुविधा

मुख्यमन्त्री तथा मन्त्रीहरुलाई स्वकीय सचिवालयको व्यवस्थासमेत गरिएको छ ।

ऐनमा भएको व्यवस्था बमोजिम मुख्यमन्त्रीले ४ जना स्वकीय, २ जना सवारी चालक र २ जना कार्यालय सहयोगीसहित कुल ८ जनाको सचिवालय सञ्चालन गर्न सक्ने छन् । मुख्यमन्त्रीले राप द्वितीय श्रेणीका १ जना स्वकीय सचिव, शाखा अधिकृतस्तरका १ जना स्वकीय सचिव, नायव सुब्बा स्तरका २ स्वकिय सचिव पाउने छन् भने २ जना सवारी चालक, २ कार्यालय सहयोगी पाउने व्यवस्था छ ।

त्यसैगरी मन्त्रीहरुले २ जना स्वकीय, १ जना सवारी चालक र २ जना कार्यालय सहयोगी सहितको सचिवालय सञ्चालन गर्न सक्नेछन् । जसमा शाखा अधिकृत र नायव सुब्बा स्तरका १÷१ जना स्वकीय सचिव, सवारी चालक १ जना, कार्यालय सहयोगी २ जना पाउने व्यवस्था छ ।

सचिवालयका कर्मचारीहरुको तलब, भत्ता तथा सुविधा सरकारी सेवाको स्तर र श्रेणी अनुसार पाउने व्यवस्था छ ।

हाल बागमती सरकारमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्मिलित छन् । जसअनुसार नेकपा माओवादी केन्द्रका जम्कट्टेल मुख्यमन्त्रीसहित ४ मन्त्री छन् । कांग्रेसका ६ र एकीकृत समाजवादीका २ मन्त्री छन् ।

बागमती सरकारमा बहादुरसिंह लामा आर्थिक मामिला तथा योजनामन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मुक्तान सामाजिक विकास, युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

यस्तै, तिर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ, रामकृष्ण चित्रकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकासमन्त्री छन् । यसैगरी लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात, पुकार महर्जन संस्कृति, पर्यटन तथा सहकारी, उत्तम जोशी स्वास्थ्य र मसिना खड्का वन तथा वातावरण मन्त्री छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप