आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सेवा सुविधा

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक कति ?

पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा यस्तो छ अतिरिक्त सुविधाको व्यवस्था
बुधबार, १० माघ २०८०, १५ : ५७
बुधबार, १० माघ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको पारिश्रमिकमा मात्र मासिक ५ लाख ६९ हजार रुपैयाँ खर्च हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद छ, जसमा ६ मन्त्री र दुई राज्यमन्त्री छन् ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७१ हजार रुपैयाँ तोकिएको छ । यस्तै, मन्त्रीको मासिक पारिश्रमिक ६३ हजार रुपैयाँ र राज्यमन्त्रीको ६० हजार रुपैयाँ तोकिएको छ ।

सो ऐन अनुसार मुख्यमन्त्रीको ७१ हजार रुपैयाँ, ६ मन्त्रीलाई जनही ६३ हजार रुपैयाँका दरले ३ लाख ७८ हजार र दुई राज्यमन्त्रीलाई जनही ६० हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइँदै आएको छ ।

यस अतिरिक्त सुदूरपश्चिमका मुख्यमन्त्रीले आवास, फर्निचर, सवारी साधन, आवश्यक परिमाणमा सवारी इन्धन पनि प्राप्त गर्दछन् । पुस महिनामा मात्र मुख्यमन्त्रीले तीन वटा गाडीको इन्धनबापत एक लाख रुपैयाँ बराबर इन्धनको भुक्तानी प्राप्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीलाई सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) बापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ ।

यस्तै, मुख्यमन्त्रीलाई आवश्यकता अनुसार धारा र बिजुलीको बिल भुक्तानीको व्यवस्थासमेत छ । मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता (स्वदेश) बापत २५ सय रुपैयाँ र विदेश भ्रमणबापत दैनिक २२५ अमेरिकी डलर प्राप्त गर्दछन् । मुख्यमन्त्रीलाई अतिथि सत्कारका लागि मासिक १० हजार रुपैयाँ उपलब्ध गराइँदै आएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीका सूचना अधिकारी जगदिश जोशीले सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको सुविधा प्रदेशको ‘मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५’ अनुसार भुक्तानी हुँदै आएको बताए ।

मन्त्रीहरुलाई के–के सुविधा ?

सुदूरपश्चिमका मन्त्रीहरुलाई पनि मासिक पारिश्रमिकका अतिरिक्त प्रति महिना आवास सुविधा बापत २५ हजार रुपैयाँ, सवारी साधन, मासिक २५० लिटर इन्धन, आवश्यकता अनुसार सवारीमा प्रयोग हुने मोबिल, सञ्चार सुविधा बापत मासिक २ हजार उपलब्ध गराइँदै आएको छ ।

मन्त्रीहरुको आवासमा बिजुली र धाराको बिल भुक्तानी, दैनिक भ्रमण भत्ता (स्वदेश) २५ सय रुपैयाँ, दैनिक तथा भ्रमण भत्ता (विदेश) बापत २२५ अमेरिकी डलर र अतिथि सत्कारका लागि मासिक ९ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था ऐनमा छ । त्यस्तै मन्त्रीहरुलाई सरकारी घरको बन्दोबस्त नभएको अवस्थामा फर्निचरबापत एकमुस्ट रकमसमेत दिने व्यवस्था ऐनमा छ ।

राज्यमन्त्रीको हकमा मासिक पारिश्रमिकका अतिरिक्त आवास सुविधाबापत मासिक २० हजार, सवारी साधन, २ सय लिटर इन्धन, ५ लिटर मोबिल उपलब्ध गराउने प्रावधान छ । यस्तै सञ्चार सुविधाबापत मासिक २ हजार रुपैयाँ, बिजुली र धाराको बिल अनुसार भुक्तानी, दैनिक भ्रमण भत्ता (स्वदेश) २५ सय रुपैयाँ, दैनिक तथा भ्रमण भत्ता (विदेश) बापत २२५ अमेरिकी डलर र अतिथि सत्कारका लागि मासिक ८ हजार रुपैयाँ राज्यमन्त्रीहरुले पाउँदै आएका छन् ।

सुदूरपश्चिममा प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री, नरेशकुमार शाही आर्थिक मामिलामन्त्री, शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री, झपटबहादुर साउद सामाजिक विकासमन्त्री, रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र रामेश्वर चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन् ।

यस्तै, गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र कैलाश चौधरी भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप