बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

बागमती प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

हेटौंडास्थित होटलका ४५० कोठा भरिए
बुधबार, १० माघ २०८०, १९ : ५९
बुधबार, १० माघ २०८०

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेश अन्तर्गत ४ सिटका लागि बिहीबार हेटौंडामा निर्वाचन हुँदैछ ।

निर्वाचन प्रक्रिया अन्तर्गत मतदानका लागि तयारी पूरा भएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जनाकारी दिए । सञ्जेलको अध्यक्षतामा बुधबार दिउँसो सर्वदलीय बैठक बसेको थियो । बैठकमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका ६ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

बैठकमा मतदान प्रक्रिया, मतदाता र उम्मेदवारले पालना गर्नुपर्ने नियम लगायतका बारेमा जानकारी दिइएको थियो ।

बागमती प्रदेश अन्तर्गतको ४ वटा सिटका लागि हुने निर्वाचनका लागि हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको प्राविधिक भवन (एफ ब्लक)मा मतदानस्थल कायम गरिएको छ । सो भवनमा २ वटा मतदान केन्द्र निर्माण गरिएको छ । जसमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टै केन्द्रमा मतदान गर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत सञ्जेलले बताए । प्रदेशसभा सदस्यहरुका लागि महिला र पुरुष गरी २ वटा लाइनबाट एउटा केन्द्र र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि महिला र पुरुष गरी २ वटा लाइनबाट मतदानको व्यवस्था गरिएको उनको भनाइ छ ।

4

मतदानका लागि क्लस्टर अनुसारको मत पत्र रहेको र सोही अनुसार एक जना मतदाताले ४ वटा क्लस्टरका उम्मेदवारलाई मतदान गर्ने गरी एक केन्द्रमा ४ वटा बुथ राखिएको उनले बताए ।

बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुने मतदान कार्यक्रममा मतदान अधिकृतहरु तोकेर खटाइएको सञ्जेलको भनाइ छ । एउटा केन्द्रमा मतदान अधिकृतसहित १०÷१० जना गरी २० जना कर्मचारी राखिने छ भने मतदानमा सहजीकरण गर्न सम्बन्धित दलका उम्मेदवारले सिफारिस गरे अनुसार २ जना प्रतिनिधि उपस्थित हुन पाउने व्यवस्था गरिएको उनले बताए ।

मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक/फरक रहने छ । बागमती प्रदेशका लागि निर्वाचन आयोगबाट ४३० मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत सञ्जेलले बताए । उनका अनुसार निर्वाचनमा लागि बागमती प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि २९० र प्रदेशसभा सदस्यका लागि १४० वटा मतपत्र प्राप्त भएको छ । मतदान प्रक्रिया सकिए लगत्तै मतगणना सुरु गरिने सञ्जेलले बताए ।

निर्वाचनका लागि मतदाताहरु हेटौंडा आउने क्रम जारी रहेको र उनीहरुको सुरक्षा व्यवस्थाका लागि निर्वाचन विशेष सुरक्षा योजना तथार गरी कार्यान्वयन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइले बताए । उनका अनुसार निर्वाचनका लागि पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी राखिने छ भने दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी रहने छ भने नेपाल आर्मीलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई सूचना संकलन र प्रवाहमा प्रयोग गरिने उनको भनाइ छ ।

बागमती प्रदेशसभाका ११० सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख २३७ गरी कुल ३४७ जना मतदाता छन् ।

राष्ट्रियसभा सदस्य पदको रिक्त रहेको १९ पदमध्ये बागमती प्रदेश अन्तर्गत अन्य, महिला, अल्पसंख्यक/अपाङ्गता र दलित गरी ४ सिटमा निर्वाचन हुँदैछ । ती पदमा कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गता क्लस्टरमा श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरमा घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार छन् ।

एमालेका तर्फबाट महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा उम्मेदवार छन् । राप्रपाका तर्फबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता/अल्पसंख्यकबाट भरतमणि भट्ट उम्मेदवार छन् । नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतातर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ संगीता नेपाली उम्मेदवार छन् ।

हेटौंडाका होटल भरिभराउ

3

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार र मतदाताको चहलपहल हेटौंडामा बढेको छ । निर्वाचनका लागि प्रदेशका ११० सांसद र ११९ स्थानीय तहका प्रमुख र उपप्रमुखहरु हेटौंडा आउने क्रम जारी छ ।

निर्वाचन कार्यक्रमका लागि मतदाता र उम्मेदवारसँगै उनीहरुका सहयोगी तथा शुभचिन्तकहरु पनि हेटौंडा आएका छन् । निर्वाचनमा सहभागी हुन आएका मतदाताका कारण हेटौंडाका होटल भरिभराउ भएका छन् ।

होटल एशोशियसन बागमती प्रदेशका उपाध्यक्ष निप्पु सर्राफका अनुसार हेटौंडाका अधिकांश होटलका रुम पूर्ण रुपमा बुकिङ्ग भएका छन् । आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायीलाई राष्ट्रियसभा निर्वाचनले केही राहत मिलेको उनले बताए ।

हेटौंडाका पर्यटकीय र स्तरीय होटलहरुको करिव ४५० वटा कोठा बुकिङ्ग भएको उनले बताए । अधिकांश होटल बुधबार र बिहीबारका लागि बुक गरिएको उनको भनाइ छ ।

लामो समयपछि हेटौंडाका होटल पूर्ण रुपमा भरिएको सर्राफले बताए । राष्ट्रियसभा निर्वाचनका लागि बुक भएका होटलहरुमा बसोबास र खाना खर्चबाट मात्र २ दिनमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप