बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशले गण्डकी प्रदेशलाई  १४५ रनले हरायो

बिहीबार, ११ माघ २०८०, १५ : ५७
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई एक सय ४५ रनको विशाल अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा आठ खेल खेलेको मधेस प्रदेशको यो पाँचौँ जित हो । तीन खेलमा मधेस प्रदेश पराजित भएको छ । हालसम्म ६ खेल खेलेको गण्डकी प्रदेशको भने यो चौथो हार हो । दुई खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेस प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने ३९.५ ओभरमा अलआउट हुनुअघि एक सय ९० रनमात्र बनाउन सक्यो ।

मधेस प्रदेशले बिहीबार बनाएको रन कुनै पनि टोलीले जारी प्रतियोगितामा तयार पारेको सर्वाधिक योगफल पनि हो । यसअघि मधेस प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो ।

जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले तीनपटक मात्र तीन सय वा त्योभन्दा बढी रन बनाउन सकेका छन् । त्यसमध्ये दुईपटक त मधेस प्रदेशले नै यस्तो उपलब्धि हासिल गरेको छ । यसअघि मधेस प्रदेशले सुदूरपश्चिमविरुद्धको खेलमा पनि नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो ।

गण्डकीविरुद्धको खेलमा मधेस प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अनिलले एक सय २७ रनको योगदान गरेका थिए । लामो समय क्रिजमा सङ्घर्ष गरेका अनिलले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि हिर्काए । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

यसअघि एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी सुदूरपश्चिम प्रदेशका नरेन भट्ट थिए । नरेनले मधेस प्रदेशविरुद्धकै खेलमा एक सय २१ रन बनाएका थिए । बिहीबारको खेलमा मधेस प्रदेशका अनिलले नरेनलाई नै पछि पारेका हुन् । जारी प्रतियोगितामा हालसम्म आठजना खेलाडीले शतक प्रहार गरिसकेका छन् ।

अनिल जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि पहिलो स्थानमा छन् । उनले हालसम्म आठ खेल खेलेर ४६.२५ को औसतले कुल तीन सय ७० रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा बागमती प्रदेशका आशुतोष घिरैया दोस्रो स्थानमा छन् । उनले आठ खेलमा ४६ को औसतले कुल तीन सय ६८ रन बनाएका छन् ।

गण्डकीविरुद्धको खेलमा मधेस प्रदेशका लागि अनिलका अतिरिक्त अरनिको यादबले पनि अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अरनिकोले केवल ३४ बलको सामना गरी तीन छक्का र पाँच पनि हिर्काए ।

पवन सर्राफले पनि टोलीका लागि ४० रनको योगदान गरे । चौथो नम्बरका ब्याट्सम्यान पवनले ३८ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रुपेश सिंहले २३ रन जोडे । उनले ३५ बलमा तीन चौका हिर्काए ।

मयान यादबले पनि टोलीको खातामा २७ रन थपे । उनले ४४ बलमा दुई चौका प्रहार गरे । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित २७ रन थपे । उनले केवल १९ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाह दुई रनमै पेभेलियन फर्किएका थिए । मधेस प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सन्दीप पराजुलीले दुई विकेट लिए । कृष्ण पौडेल र कमल परियारले पनि एक–एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि ओपनर इश्वर क्षेत्री र कमल परियारले २७–२७ रन बनाए । कृष ऐयरले पनि २६ रन जोडे । रोशन गौतम २२ रन बनाउँदै पेभेलियन फर्किए । समिर कँडेल र मुस्कान थापाले १८–१८ रन बटुले ।

चन्द्र पौडेल २३ रन बनाउँदै पेभेलियन फर्किए । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १३ रन पायो । मधेस प्रदेशका बलर रंजित कुमार एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ५१ रन खर्चिए । हरिशंकर शाहले पनि तीन विकेट लिए । प्रदिप पासवानले दुई विकेट हात पारे । अर्को एक विकेट राजेश यादबले लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप