सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पति, पत्नी र मोबाइल

मोबाइल फोनले बिगार्दैछ सम्बन्ध
शनिबार, १३ माघ २०८०, ०८ : २७
शनिबार, १३ माघ २०८०

काठमाडौँ । विवाह होस् वा प्रेम सम्बन्ध, कुनै पनि सम्बन्धमा उतारचढाव आउँछ । सम्बन्धमा अनेकौँ चुनौतीहरू आउँछन् । नेशनल ओपिनियन रिसर्च सेन्टरले गरेको एउटा सर्वेक्षणमा ६० प्रतिशत सहभागीहरूले आफ्नो सम्बन्धबाट खासै  सन्तुष्ट नभएको बताएका थिए । सर्वेक्षणका अनुसार सम्बन्धमा धेरै किसिमको समस्याहरूको सामना गर्नु परिरहेको उनीले बताएका थिए । घर र काम जिम्मेवारी बिच तालमेल मिलाउन गाह्रो भइरहेको, बालबालिका हुर्काउन चुनौती भइरहेको, पैसा सम्बन्धी समस्या र विवादहरू हुने गरेको अनि सम्बन्धमा पर्याप्त घनिष्ठता नभएको वा यौन जीवन निरस भएको बताएका थिए ।

यी सबै सयौँ वर्षदेखि चल्दै आएका चुनौतीहरू थिए । अब यसमा अर्को नयाँ नाम थपिएको छ– ‘मोबाइल फोन’ ।  हो, पति–पत्नीको मोबाइल फोन नयाँ तगारो बनेको छ । साइन्स डाइरेक्ट डट कममा प्रकाशित एक अध्ययनअनुसार मोबाइल फोन सम्बन्ध बिग्रने देखि टुट्नेसम्मको कारण बनिरहेको छ ।

फबिङ अर्थात् पार्टनरभन्दा मोबाइल फोनलाई माया गर्नु हो । कसैले फोन वा अन्य मोबाइल डिभाइसमा ध्यान दिन आफ्नो पार्टनरलाई बेवास्ता गर्नु हो । सरल शब्दमा भन्दा आफ्नो पार्टनरसँग कुरा गरिरहँदा आँखा फोनमा गाडिरहने, फोनमा गेम खेल्नमै व्यस्त रहने आदि नै फबिङ हो ।

मोबाइल फोनले बिगार्दैछ सम्बन्ध
यो अध्ययन गर्ने डा. जेम्स ए. रोबर्ट्स बेलर युनिभर्सिटी, टेक्सासमा मार्केटिङका प्रोफेसर हुन् । एक अमेरिकी व्यक्तिले हरेक साढे छ मिनेटमा आफ्नो फोन चेक गर्ने अनि पुरा दिनमा लगभग डेढ सय पटक त्यसो गर्ने गरेका छन् । नेपालीहरुको स्थिति पनि यो भन्दा राम्रो छैन । डा. रोबर्ट्स लेख्छन्, “हाम्रो अध्ययनमा समावेश भएका ९२ प्रतिशतलेसधैं मोबाइल फोन चेक गर्ने पार्टनरको बानीले उनीहरूको सम्बन्ध बिगारिरहेको बताएका थिए । लगभग सबै सहभागीहरूले आफ्नो पार्टनरको फोन सधैँ आफ्नो हातमा रहेको बताए ।’

रिसर्चगेटको अर्को अध्ययनका अनुसार मोबाइल फोनको लतले दम्पतीबिचको तनाव र दूरी निम्त्याइरहेको छ । यस अध्ययनमा सहभागी ७० प्रतिशतले मोबाइलकै कारण आफ्नो पार्टनरसँग पूर्णरूपमा जोडिन नसकेको बताएका थिए । साथमै भए पनि उनीहरू सम्पूर्ण रूपमा सँगै थिएनन् ।

फोनको लतले सम्बन्ध र स्वास्थ्यमा नराम्रो प्रभाव

मोबाइलको लतका खतराहरूबारे सतर्क गराउँदै डा. क्लिन्ट म्याक्सवेलले आफ्नो पुस्तक ‘ब्रेकअप विथ योर फोन एडिक्शन’ मा यसबाट छुटकारा पाउने उपायहरू पनि बताएका थिए । उनी लेख्छन्, ‘मोबाइल फोनको लतका कारण हाम्रो मस्तिष्कलाई डोपामाइनको लतमा परिसकेको छ ।’ स्ट्यानफोर्ड मेडिकल स्कूलको न्यूरोसाइन्स विभागको अनुसन्धान अनुसार मोबाइल फोनले हाम्रो मस्तिष्कको डोपामाइन केन्द्रहरूलाई सक्रिय बनाउँछ । यही कारणले हामीसँग कुनै महत्त्वपूर्ण काम नहुँदा पनि हामी प्रत्येक पटक फोन उठाइरहन्छौँ । यदि फोन नजिकै छैन भने, हामी नर्भस र बेचैन महसुस गर्न थाल्छौँ ।

  • मोबाइल फोनको लतबाट कसरी छुटकारा पाउने

‘यो लत छोड्नु सिगरेट र रक्सी छोड्नु जस्तै चुनौतीपूर्ण काम हो । यसबाट छुटकारा पाउनको लागि पहिलो कुरा चाहिन्छ अठोट अर्थात् लतबाट छुटकारा पाउने मनसाय । यो लतले अल्पकालीन उत्तेजना दिन सक्छ, तर दीर्घकालीन रूपमा यो हाम्रो स्वास्थ्य र सम्बन्ध दुवैको लागि खतरनाक बनिरहेको छ भन्ने कुरा नबुझ्दा सम्म यो अठोट बन्दैन ।’ डा. म्याक्सवेल लेखेका छन् ।

१. नो मोबाइल टाइम

घरमा एउटा रुटिन बनाउनुस् । साँझको बेलामा घरका सबै सदस्यहरू एक घण्टा सँगै बस्नुस् अनि आपसमा कुरा गर्छन् । यो बेलामा मोबाइल साथमा नराख्नुस् ।

२. सँगै घुम्ने वा व्यायाम गर्ने

दम्पती एक साथ समय बिताउन हिँडडुलका लागि जानुस् । एउटा नियम बनाएर त्यति बेला फोन साथमा नलानुस् । यसरी तपाई प्रकृतिसँग नजिक रहनुहुनेछ अनि एक अर्कासँग बिना कुनै बाधा बिताउने मौका पाउनुहुनेछ । 

३. डिनर टेबलमा मोबाइल नलाने

घरमा खाना खाने बेलामा कसैले पनि आफ्नो फोन साथमा नराख्नुस् । यति बेला एकअर्कासँग कुरा गरेर बिताउनुहोस् । यस्तो खालको बानी बनायौँ भने यसको पालना अनिवार्य बनाउनुस् । यो बिस्तारै बानी बन्नेछ ।

४. फोनबाट सामाजिक सञ्जाल एपहरू हटाउने

मोबाइल फोनमा बिताउने ७० प्रतिशत समय अनावश्यक रूपमा सामाजिक सञ्जाल एपहरूमा स्क्रोल गर्नमा खर्च गर्छौ । फेसबुक अस्तित्वमा आएको २० वर्ष मात्रै भएको छ र यी २० वर्षमा विश्वभर भएका १ हजार भन्दा बढी सामाजिक अध्ययन र सर्वेक्षणहरूले सामाजिक सञ्जाल हाम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि खतरा भएको बताइसकेका छन् । त्यसैले आफ्नो फोनबाट फेसबुक, ट्विटर (एक्स), इन्स्टाग्राम, स्न्यापच्याट आदि सबै सामाजिक सञ्जाल एपहरू हटाइदिनुस् । यी एपहरू दिनमा एक पटक मात्र ल्यापटपमा चलाउनुस् ।

५. फोन डिटोक्स

हामीले हाम्रो शरीर डिटक्स गर्छौ त्यसैगरी शरीर, ल्यापटप र फोनलाई डिटोक्स गर्छौँ । त्यसरी नै अब मान्छेलाई फोन डिटोक्स चाहिएको छ । महिनामा दुई–तीन दिन निकाल्नुस् अनि मोबाइल फोनबाट पूरै छुट्टी लिनुस् । फोन स्विच अफ गरेर दराजमा थन्काइदिनुस् । महिनामा कम्तीमा दुई–तीन दिन मोबाइल डिटक्सको लागि छुट्याउनुस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप