सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘हामीले महसुस गर्ने बित्तिकै संघीय सरकार पनि छाड्छौँ’

मुख्यमन्त्री र अर्थमन्त्रीले २० प्रतिशत कमिसन नलिइकन कुनै पनि योजना अगाडि बढाउनु हुन्न : ई.दीपक साह, उपाध्यक्ष, जनमत पार्टी
शनिबार, १३ माघ २०८०, १३ : २५
शनिबार, १३ माघ २०८०

सप्तरीको मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाले मधेस प्रदेश सरकारबाट जनमत पार्टी फिर्ता भएको छ । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

जनमत पार्टीको सम्बन्ध संघीय सरकारसँग पनि राम्रो छैन । संघ सरकारबाट पनि जनमत पार्टी जनसूकै समयमा निस्किन सक्ने चर्चा चलिरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग देखिएको जनमत पार्टीको द्वन्द्व मधेसबाट केन्द्रसम्म पुगेको छ । यो द्वन्द्वले जनमतलाई कहाँसम्म पु¥याउँछ र पार्टीको आगामी योजना के छ भन्ने विषयमा केन्द्रित रहेर रातोपाटीका लागि एसके यादवले जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक साहसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उपाध्यक्ष साहसँग गरिएको कुराकानीका सम्पादित अंशः

  • केही दिन अघिसम्म यो सरकार कसैको बपौती होइन, हामी सरकारबाट बाहिरिँदैनौँ भन्नुभएको थियो मधेस प्रदेशबाट बाहिरिनु भयो त ?

–हामीले बपौती भनेका थिएनौँ । हामी कसैले भन्दैमा सरकारबाट निस्किने होइन, हामीलाई लागेको दिन मात्र निस्किन्छौँ भनेका थियौँ । हामी आफ्नो रणनीतिक आधारमा मात्र निस्किन्छौँ भनेका थियौँ त्यही आधारमा निस्केका हौँ ।

  • के रणनीतिको आधारमा निस्किनुभयो त ?

–हामीले सरकारमा जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो, त्यो आधारमा हामीलाई काम गर्न दिइएन । किसानको हरेक खालको समस्या समाधान गर्ने गरी हामीले कामलाई अगाडि बढाएका थियौँ । किसानलाई मलखादको समस्या नहोस्, बिउ बिजन, सिँचाइको समस्या नहोस् भनेर हामीले कृषि मन्त्रालय लिएका थियौँ । हामीले राम्रा कामका सुरुवात पनि गरेका थियौँ तर त्यो सहन नसकेर हामीबाट कृषि मन्त्रालय खोसियो ।

अहिले हामीले शिक्षाको क्षेत्रमा पनि राम्राराम्रा काम सुरुवात गरेका थियौँ तर त्यसमा पनि मुख्यमन्त्रीबाट विभिन्न अवरोध गर्ने काम भयो । बजेट नदिने, बजेट हाले पनि त्यसको कार्यान्वयनमा विभिन्न बाधा देखाउने गरेको कारण त्यहाँ काम गर्ने माहौल नै छैन । अहिलेका मुख्यमन्त्रीले काम गर्न दिँदैनन् भनेर हामी त्यहाँबाट निस्केका हौँ ।

अर्को कुरा, अहिलेका मुख्यमन्त्री सरोज यादवको पालो पनि सकिएको हो । एक वर्ष जसपाको नेतृत्वमा सरकार रहने, दुई वर्ष जनमत र दुई वर्ष कांग्रेसको नेतृत्वमा सरकार रहने मौखिक सहमति भएको थियो । सो सहमति अनुसार मधेस सरकारको नेतृत्व जनमतले गर्न पाउनुपर्ने पनि हो । तर सहमति अनुसार मुख्यमन्त्रीले सरकार नछाडेको कारणले पनि हामीले त्यो सरकार छाडेर निस्केका हौँ ।

dipak shah (1)

  • बाहिर त राजविराजमा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्याश गर्न नपाउँदा जनमतले सरकार छाडेको भनिन्छ नि, त्यो के हो त ?

–त्यो नै मुख्यकारण होइन । तर विभिन्न कारणमध्ये एउटा त्यो पनि हुनसक्छ । त्यहाँ त गडबड भएकै हो नि । विश्वविद्यालयलाई राजनीतिकरण गरेकै हो । मुख्यमन्त्री सरोज यादवले त्यहाँ आफ्नो नैतिकता देखाउन सक्नुभएन । जुन क्षेत्रमा एउटा व्यक्ति चुनाव हार्नुभएको छ, अर्को जिल्लामा गएर पुनः चुनाव जितेको छ । त्यो व्यक्ति हारेको आफ्नो क्षेत्रमा आएर सरकारी कार्यक्रमको प्रमुख अतिथि कसरी बन्नुसक्नु हुन्छ ? के यो नैतिकताको कुरा भएन र ? मुख्यमन्त्री भनेको जनताको मुख्यमन्त्री हो कुनै पार्टीको मुख्यमन्त्री होइन । त्यो कार्यक्रममा कुनै एउटा पार्टीका अध्यक्ष प्रमुख अतिथि कसरी बन्न मिल्छ ? कुन नैतिकताका हिसाबले मिल्छ ? तपाई नै भन्नुस् त ।

जबर्जस्ती बन्दुकका नालमा राखेर त्यो शिलान्यास कार्यक्रम गरेको हो । गणतान्त्रिक देशमा बन्दुकको नालमा शिलान्यास कार्यक्रम जायज होइन नि । यो राणा शासन वा पञ्चायती व्यवस्था होइन । राणा तथा पञ्चायती व्यवस्थामा पनि यस्तो हुँदैनथ्यो । मधेस सरकार निरकुंश भएपछि त्यो परस्थिति सिर्जना भएको हो । सरकार अराजक भएको हो । त्यो अति नै गरेको हो, तर त्यही कारणले हामी सरकार छाडेका चाहिँ होइनौँ ।

  • सरकारलाई अराजक भन्नुभयो तर तपाईंहरुले सरकारमै रहेर सरकारकै विरुद्ध आन्दोलन गर्नुभयो । माघ ३ गते मधेस स्वाभिमान दिवस मनाउने सरकारले निर्णय गरेको थियो तर त्यसमा पनि तपाईंका पार्टीका मन्त्रीहरुले विरोध गर्नुभयो । मधेस विश्वविद्यालयको शिलान्यास कार्यक्रम गर्ने सरकारी निर्णय हो, तर तपाईंकै पार्टीका मन्त्रीले विज्ञप्ति निकालेर त्यसलाई रोक्न प्रयास गर्नुभयो, रोकिएन भने त्यसबाट हुने क्षतिको जिम्मेवार मुख्यमन्त्री हुने भन्नुभयो । यस्ता धेरै गतिविधि तपाईंका मन्त्रीहरुबाट भयो अनि अराजक मधेस सरकार कि तपाईंका पार्टीका मन्त्रीहरु ?

–मधेस कृषि विश्वविद्यालयको शिलान्यासको बारेमा सरकारमा निर्णय भएकै छैन । मुख्यमन्त्री सरोज यादवले कठपुतलीको जस्तो काम गर्नुभएको छ । सरोकारवाला मन्त्री त हाम्रो पार्टीका महेश यादव हुनुहुन्थ्यो तर उहाँसँग यो कार्यक्रमको बारेमा एक पटक पनि सोधिएको छैन । विश्वविद्यालयको उपकुलपति शिक्षा मन्त्री हुनुहुन्छ, कार्यक्रमको बारेमा उहाँसँग सल्लाह हुनुपर्छ कि पर्दैन ? सरोकारवाला मन्त्रालय यहाँसम्म कि उपकुलपतिलाई नै बाइकट गरेर मुख्यमन्त्री अगाडि बढ्नु हुन्छ भने अराजक को भयो ? तपाईं नै भन्नुस् त ।

त्यो शिलान्यास शिक्षा मन्त्री वा मुख्यमन्त्री वा प्रधानमन्त्रीले गर्नुपर्ने हो । अर्को जिल्लाबाट चुनाव जितेका सांसद एवं पार्टीका अध्यक्षले शिलान्यास गरेको छ । यो जतिको बिडम्बना अरु के हुन्छ ? माघ ३ गते मधेस स्वाभिमान दिवस मनाउने सरकारी निर्णय थियो तर त्यो निर्णयमा कार्यक्रमको प्रमुख अतिथि उपेन्द्र यादवलाई बनाउने भन्ने थिएन । सरकारको कार्यक्रममा पार्टीका एउटा अध्यक्षलाई प्रमुख अतिथि बनाएपछि हामीले विरोध गरेका हौँ । विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका लागि निमन्त्रणा कार्ड वितरण गरिएको थियो तर त्यसको प्रमुख अतिथि को हुने भन्ने उल्लेख थिएन । यतिसम्मको बदमासी मुख्यमन्त्रीले गर्नुभएको छ ।
dipak shah (4)

  • उपेन्द्र यादव नै प्रमुख अतिथि बन्दा के बिग्रियो त ? प्रतिकारकै अवस्थामा जाने स्थिति किन बन्यो ?

–हामीले प्रतिकार गरेका छैनौँ । शान्तिपूर्ण विरोध गरेका छौँ । उपेन्द्र यादवलाई फूलको गुच्छा लिएर स्वागत गर्न गएका थियौँ, त्यसलाई कसरी प्रतिकार भन्नुहुन्छ ?

  • शिलान्यास हुनुभन्दा पहिले नै तपाईंका पार्टीका अध्यक्ष सीके राउतले आफ्नो फेसबुकमार्फत उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएमा प्रतिकार गर्ने भन्नुभएको थियो त ?

–हामी सुशासनका लागि सरकारमा गएका हौँ तर मधेसका मुख्यमन्त्रीले पटक पटक गलत निर्णयहरु गर्नुभएको छ । सरकारमा बसेर त्यहाँ सुशासन कायम गराउन नसकेको अवस्थामा हामी जनतामार्फत सुशासन कायम गराउन पहल गर्छौं । कुनै सार्वजनिक कार्यक्रमलाई राजनीतिक कार्यक्रम बनाएपछि त्यसलाई रोक्ने हाम्रो दायित्व पनि हो । शान्तिपूर्ण तरिकाले हामीले त्यसलाई रोक्ने प्रयास ग¥यौँ । हामीले त्यसलाई रोक्न फूलकै माला लिएर गएका थियौँ । स्वागतको ब्यानर नै बोेकेका थियौँ तर त्यो कार्यक्रमसँग सम्बन्धित मन्त्रीको टाउको फुटाउने काम उताबाट भएको हो नि । प्रतिकार त गुण्डागर्दी शैलीमा प्रहरीबाट उनीहरुले गर्न लगाएका थिए ।

  • जनमत पार्टीका गतिविधिबाट आजित भएर त्यहाँका मुख्यमन्त्रीले तपाईंको पार्टीलाई सरकारबाट बाहिर निकाल्ने तयारीमा पुग्नुभएको थियो, त्यो थाहा पाएर तपाईंहरु आफैँ राजीनामा दिएर निस्किनुभएको भन्ने टिप्पणी भइरहेको छ, यसमा के भन्नु हुन्छ ?

–हामी जनमत पार्टी जनसम्प्रभुताको कुरा गर्छौं । जनताका लागि हामी सधैँ लडिरहेका हुन्छौँ । जनताका लागि भनिएको काम नहुने भएपछि हामी त्यसको विरुद्धमा आन्दोलन गर्छौं । हामी सरकारमा होस् या सदनमा होस् या सडकमा । हामी जहाँ भए पनि जनताका लागि बोल्ने हो, जनताका लागि आन्दोलन गर्ने हो । तर उहाँहरुले हामीलाई राख्ने, उहाँहरुले हामीलाई निकाल्ने हुँदैन । उहाँहरुका कारण हामी राजनीतिमा आएका होइनौँ नि, उहाँहरुका कारण हामी चुनाव जितेका होइनौँ नि । मधेस प्रदेशमा जसपाभन्दा बढी मत पाएका छौँ । जसपाले पनि राम्रो काम गरोस् भनेर नै सरकारका लागि सहयोग गरेका थियौँ । तर सरकार अराजक भयो । मुख्यमन्त्री र अर्थमन्त्रीले २० प्रतिशत कमिसन नलिइकन कुनै पनि योजना अगाडि बढाउनु हुन्न । यो कुरा आमजनताले बडो राम्रोसँग बुझेका छन् । गठबन्धनको सरकार भएपछि उहाँले कसैलाई निकाल्ने र राख्ने एक्लै गर्न सक्नु हुन्न । यदि गर्नुभयो भने त्यो निरकुंश हुनजान्छ ।

  • अब मधेस प्रदेशमा कसरी अगाडि बढ्नुहुन्छ, तपाईहरुको सम्बन्ध, गठबन्धन कोसँग हुन्छ ?

–मुख्यमन्त्री सरोज यादवले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हुन्छ । गठबन्धनमा भएको मौखिक सहमति अनुसार उहाँ एक वर्षका लागि मात्र मुख्यमन्त्री बन्नुभएको हो । अब दुई वर्ष जनमत पार्टीले मधेस सरकार चलाउने हो, त्यही भएर मुख्यमन्त्रीले अब राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग हो । यदि उहाँले राजीनामा दिनुभएन भने पार्टीमा थप छलफल गरेर अगाडि बढ्छौँ ।

dipak shah (2)

  • मधेस प्रदेशमा एमालेसँग तपाईंहरुको सहकार्य कस्तो हुन्छ ?

–हामीले एमालेसँग वा कुनै दलसँग सहकार्य गर्ने विषयमा छलफल गरेका छैनौँ । पार्टीमा त्यसको बारेमा छलफल हुन बाँकी नै छ । अहिलेसम्म हामी सत्ता गठबन्धनमै छौँ । त्यसलाई नै अगाडि बढाउने हाम्रो सोच हो । सहकार्यबिना देशको राजनीतिलाई अगाडि बढाउन सकिँदैन । कुनै दलसँग सहकार्य गर्दा त्यो दलको सोच र व्यवहार कस्तो छ, राज्यप्रति उसको उत्तरदायित्व कस्तो छ जस्ता विषयमा पनि ख्याल गर्नुपर्ने हुन्छ । जनताको हितमा जसले काम गर्छन्, ती दलसँग सहकार्य हुनसक्छ तर एक वर्षको अध्ययनले कुनै दलसँग सहकार्यको अवस्था देखिएको छैन ।

  • सरकारमा फर्किने सम्भावना कतिको छ अब ?

–जनमत पार्टीले डमोक्रेटिक व्यवस्थालाई स्वीकार गरेको छ भने सरकारमा नगइकन हुँदैन । जनताको काम गर्नका लागि सरकारमै जानुपर्छ । सरकारबिना जनताको काम हुँदैन । त्यही भएर जनमत पार्टी सरकारमा जान्छ । तर अहिलेको मुख्यमन्त्रीको नेतृत्वमा रहेको सरकारमा हामी जाँदैनौँ । सहमति अनुसार यो मुख्यमन्त्रीको आयु सकिएको छ । उहाँले अब तत्काल राजीनामा दिनुपर्छ । उहाँले राजीनामा दिएपछि बन्ने अर्को सरकारमा हामी जान्छौँ । अब बन्ने सरकारको नेतृत्व गर्ने टर्म नै हाम्रो हो ।

  • जसपाका नेताको भनाइ अनुसार त सरकारको आलोपालोको सहमति एमाले–माओवादी गठबन्धनको समयमा भएको थियो । त्यसपछि गठबन्धन परिवर्तन हुँदा कुनै सहमति भएको छैन रे नि, हो ?

–एमाले–माओवादी गठबन्धनको समयमा आधा–आधा टर्म नेतृत्व गर्ने सहमति भएको थियो । अढाई वर्ष जसपा र अढाई वर्ष जनमतले नेतृत्व गर्ने सहमति थियो । त्यसपछि बनेको कांग्रेस–माओवादी गठबन्धनमा एक वर्ष जसपा, दुई–दुई वर्ष जनमत र कांग्रेसले मधेस सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । हामी हाम्रो नेतृत्वमा सरकार बनाउने प्रयास गर्छौं ।

janamat party (1)

  • जसरी मधेस सरकार तपाईंहरुबाट आजित भएको थियो, त्यसरी नै संघीय सरकार पनि तपाईंहरुबाट आजित भएको छ, जनमत पार्टी सरकारबाट गइदिए हुन्थ्यो जस्तो अवस्था सिर्जना भएको छ, अब संघीय सरकार कहिले छोड्नु हुन्छ ?

–हामीलाई सरकार छाड्ने अवस्थाको महसुस भयो भने हामी सरकार छाड्छौँ । तर तत्कालै सरकार छाड्ने कुनै तयारी छैन । हामी अहिले सरकार छाड्दैनौँ । हामीले प्रचण्ड सरकारले गरेको राम्रो कामको समर्थन गर्दै आएका छौँ । नागकिरता विधेयक, मिटर ब्याजी सम्बन्धी कानुनलगायतका काममा हामीले तारिफ नै गरेका छौँ तर कतिपय काम गलत पनि गरेको छ यो सरकारले । हामी जनतालाई डेलिभरी दिनका लागि सरकारमा गएका हौँ, कुनै पार्टीलाई चुनावमा सहयोग गर्नका लागि सरकारमा गएका थिएनौँ । तर गठबन्धनले एउटा पार्टी विशेषलाई प्रमोट गर्दा हामीले त्यसको विरोध गरेका हौँ । बाराको उपचुनाव, राष्ट्रपति, उपराष्ट्रपतिको चुनावमा पनि गठबन्धनले गडबड गरेको हो । त्यसबेला हामीले विरोध गरेका थियौँ । सरकार गठनका लागि गठबन्धन बनेको थियो, चुनावका लागि गठबन्धन बनेको थिएन । चुनावका लागि गठबन्धन बन्छ भनेर हामीले सहमति जनाएका थिएनौँ । गठबन्धनभन्दा बाहिर रहेर हामी चुनाव लडेका थियौँ । चुनावपछि सरकार गठनका लागि हामी गठबन्धनमा गएका थियौँ । हामी कुनै नेताका लागि गठबन्धन बनाएका होइनौँ, जनताका लागि गठबन्धन बनाएका हौँ ।

  • जुन गठबन्धन तपाईंको सोच, तपाईंको विचारमा चल्दैन भने त्यो गठबन्धन छाडेर निस्किँदा पनि हुन्छ नि, किन त्यहाँ बसिरहनु प¥यो ?

–के घरमा चोर छिरेपछि घरै छाडेर भाग्ने हो त ? त्यो चोरलाई समात्ने हो वा धपाउने हो । आफूले धपाउन सकिएन भने छिमेकी गुहार्ने हो तर घर छाडेर भाग्नु हुँदैन । हो, गठबन्धनमा पनि त्यही भएको छ । त्यहाँ कोही बदमास भएको छ भने त्यसलाई सुधार्ने हो । त्यहाँबाट भाग्ने होइन । चोरलाई सुधार्ने प्रयास गर्छौं । रत्नाकर डाकु बाल्मिकी बन्नसक्छ भने बिग्रेका नेतालाई किन सुधार गर्न सकिँदैन ? त्यसमा हामी लागेका छौँ । हामी सुशासनका लागि काम गरिरहेका छौँ । हाम्रो दायित्व जनतामा डेलिभरी गर्नु हो ।

  • संसदको चुनाव सकिने बित्तिकै सरकारमा जान सबैभन्दा बढी हतार जनमत पार्टीलाई थियो तर सरकारबाट निस्किन पनि सबैभन्दा बढी हतार जनमतलाई नै छ, किन ?

–हो, हामीलाई जनताको काम गर्न हतार छ । सरकारमा नगइकन जनताको काम गर्न सकिँदैन । त्यही भएर हामीलाई सरकारमा जान हतार थियो । तर सरकारमा गएपछि त्यहाँको अवस्था झन् खराब देखियो । काम गर्ने चाहना कसैमा देखिएको छैन । जनताको नाममा लुट्ने, भ्रष्टाचार गर्ने, जनताको कामलाई अल्झाउने कामबाहेक सरकारले केही गरेको छैन । अनि हामी पनि त्यहाँ अल्झेर के गर्ने त भन्ने लागेर सरकारबाट निस्केका हौँ । अरु कसैले राम्रो सरकार बनाएर चलाए भने हामी त्यसलाई पनि सहयोग गर्छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप