बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित

अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माएको क्षेत्रलाई जहिल्यै उपेक्षा
मङ्गलबार, ०३ असार २०८२, २० : ५३
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गरेको आरोप छ।
  • बजेटमा 'एक जिल्ला, एक क्रिकेट मैदान' निर्माणका लागि रकम विनियोजन गरिए पनि खेलकर्मीहरूले यसलाई अपर्याप्त मानेका छन्।
  • खेलकुद परिषद्का अनुसार, सुदूरपश्चिममा खेलकुदको सम्भावना भए पनि सरकारको लगानी र योजना पर्याप्त छैन।

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्‍यो । तर फेरि पनि खेलकुद क्षेत्र उपेक्षामा पर्‍यो । 

क्रिकेट, फुटबल, भलिबलदेखि मार्सल आट्र्स, कुस्ती र बक्सिङसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने ‘उर्वर भूमि’ सुदूरपश्चिमले प्रदेश सरकारबाट जहिले पनि उपेक्षा मात्रै महसुस गर्दै आएको छ । 

यस पटकको बजेटले पनि त्यही निराशालाई निरन्तरता दिएको खेलकुदकर्मी र खेलप्रेमीहरूले गुनासो गरेका छन् ।

आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि केही खुद्रा कार्यक्रम र झिनो रकम छुट्याइएको छ । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा केही कार्यक्रम घोषणा गरेको छ । बजेट भाषणअनुसार, ‘एक जिल्ला, एक क्रिकेट खेल मैदान’ निर्माण कार्यक्रमअन्तर्गत प्रत्येक जिल्लामा क्रिकेट मैदान बनाउन एक करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, कैलालीको टीकापुरमा निर्माणाधीन ‘टीकापुर स्पोट्र्स एकेडेमी’का लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।

यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सम्मानसहित प्रोत्साहन गर्ने र युवा सशक्तीकरण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम उल्लेख छन् । 

तर तिनका लागि ठोस बजेट र कार्ययोजना स्पष्ट छैन । यी कार्यक्रमहरू हेर्दा प्रदेश सरकार खेलकुद विकासमा गम्भीर नभई केवल सतही र नारा केन्द्रित कार्यक्रममा अल्झिएको प्रस्ट हुन्छ ।

खेलकुद परिषद् भन्छः ‘बजेट अपर्याप्त छ’ 

प्रदेश सरकारको यो बजेटले खेलकुद क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न नसक्ने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्का बताउँछन् । उनका अनुसार, सुदूरपश्चिममा खेलकुदको अपार सम्भावना भए पनि त्यसलाई मूर्तरूप दिन आवश्यक लगानी र योजनामा सरकार चुकेको छ ।

उनी भन्छन्, ‘प्रदेश सरकारले खेलकुदका लागि केही रकम छुट्याउनु सकारात्मक भए पनि यो रकम अत्यन्तै कम छ । ‘एक जिल्ला, एक क्रिकेट मैदान’ को नारा राम्रो हो, तर एक करोड ३५ लाखले नौ जिल्लामा कसरी मैदान बन्छ? टीकापुर स्पोट्र्स एकेडेमी वर्षौंदेखि निर्माणाधीन छ, त्यसका लागि एक करोडले केही हुनेवाला छैन । यहाँ खेलाडी उत्पादन, उनीहरूको प्रशिक्षण, पूर्वाधार निर्माण र प्रतियोगिता आयोजना जस्ता महत्त्वपूर्ण पक्षमा सरकारको ध्यान नै पुगेको छैन । यो बजेटले सुदूरपश्चिमको खेलकुद विकासमा कुनै तात्त्विक भिन्नता ल्याउन सक्दैन ।’

सुदूरपश्चिमले क्रिकेटमा विश्व रेकर्ड राख्ने दीपेन्द्रसिंह ऐरी, भलिबलमा पनि दर्जनौ खेलाडी यहाँबाट राष्ट्रिय टिममा छन् । फुटबलमा अमृता जैसीजस्ता राष्ट्रिय जन्माइसकेको छ । मार्सल आट्र्सका कराते, तेक्वान्दो, उसुदेखि पौडी, कुस्ती र बक्सिङसम्मका खेलमा यहाँका खेलाडीले राष्ट्रियस्तरमा दबदबा कायम गरेका छन् । अन्तराष्ट्रियस्तरमा पनि रेकर्ड बनाएका छन् ।

स्थानीय खेलप्रेमी दिनेश रावत प्रदेश सरकारको उदासीनता देखेर आक्रोशित छन् । उनी भन्छन्, ‘सुदूरपश्चिम खेलकुदको उर्वरा भूमि हो भनेर खाली नारामा मात्रै सीमित गरियो ।

यहाँका खेलाडीले दुःख गरेर राष्ट्रको नाम राखेका छन्, तर प्रदेश सरकारले उनीहरूका लागि के गर्‍यो ? महिला खेलाडी उत्पादनमा पनि यो क्षेत्र अगाडि छ, तर उनीहरूलाई लक्षित गरेर एउटै कार्यक्रम छैन । बर्सेनि आउने यस्तो झारा टार्ने बजेटले खेलकुदको विकास हुँदैन । सरकारको नजरमा हाम्रो खेलकुद क्षेत्र सधैं उपेक्षित रह्यो ।’

उनको भनाइमा सुदूरपश्चिमका धेरै युवा खेलाडी सामान्य पूर्वाधारको अभावमा पनि आफ्नो प्रतिभा निखार्न बाध्य छन् । एउटा राम्रो मैदान, प्रशिक्षण केन्द्र र नियमित प्रतियोगिताको अभावमा कैयौं प्रतिभाहरू पलायन हुने वा खेलबाटै टाढिने अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप