सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई हराएको आरोपबारे के भन्छन् सुनिल शर्मा ?

शनिबार, १३ माघ २०८०, २० : २१
शनिबार, १३ माघ २०८०

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्की पराजित भएसँगै गठबन्धनमा तरङ्ग उत्पन्न भइरहेको छ । गठबन्धन पराजित भएर एमालेको उम्मेदवार रुकमिणि कोइरालाले जित हात पार्नुमा कांग्रेसकै ३ जना सांसद र १३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले मत नदिएको खुलेको थियो । 

सत्ता गठबन्धनले पाउने भोट कसरी एमालेको उम्मेदवारले पाइन् भन्ने विषयमा विविध चर्चा भइरहेको छ । धेरैले काँग्रेस नेता शेखर कोइराला खेमाले भोट नहाल्न चलखेल गरेको बताइरहेका छन् भने कतिपयले कांग्रेस सांसद डाक्टर सुनिल शर्माले चलखेल गरेको बताइरहेका छन् । 

माओवादी केन्द्रले संस्थागत निर्णय गर्दै कांग्रेसबाट पटकपटक धोका भएको जनाएको छ । माओवादीले यसअघि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन लागेको समूहले नै आफ्नो उम्मेदवार पराजित गरेको दाबी गरेको छ । यही विषयमा हामीले मोरङ क्षेत्र नम्बर ३ बाट विजयी बनेका काँग्रेसका सांसद सुनिल शर्मासँग प्रश्न गरेका छौँ । 

यस्तो छ उनको प्रतिक्रिया:

‘सुनिल शर्माले माओवादी उम्मेदवारलाई हरायो भन्नु गलत कुरा हो । त्यसरी जुन माओवादी नेताले भन्यो त्यो असाध्यै अपरिपक्व, गैर राजनीतिक मानिसले भनेको होला । म त्यसको घोर भर्त्सना गर्छु । मैले त्यस्तो गर्ने हो भने माओवादीलाई हराउने मेरो प्लान हुन्थ्यो भने म भनेरै हराइदिन्थे । मलाई कुनै मतलब थिएन । म किन डराउँथे ? तर मेरो त्यस्तो कुनै कुरा थिएन । प्रदेश सरकार बनाउँदा संविधानको धारा १६८ (५) अनुसार सरकार बनाउँदाको परिस्थिति हो । मेरो गिरफ्तारी कुरा अर्कै कुरा हो । उनीहरूले दादागिरी देखाए । अदालतले छोड्यो । मैले न्याय पाइसकेँ ।’ 

‘तपाईंलाई त कांग्रेसकै एउटा पक्षले पनि सुनिल शर्मा मुख्य योजनाकार हो भन्छन् नि ?’ भन्ने प्रश्नमा पनि उनले भने, ‘देउवावाला काँग्रेसले भन्दैनन् । शेरबहादुर दाइसँगै मेरो राम्रो छ । उहाँले पठाएरै सिटौला दाइलाई जिताउन ७ जिल्ला दौडेको हुँ ।’ 

‘त्यही जिल्ला दौडले त खेलोफड्को बिग्रियो भन्छन् त ?,’ भन्ने प्रश्नमा शर्माले आफू कुनै त्यस्तो योजनामा नभएको बताए । ‘होइन, अहिले मानिसहरू अपराधी र लोभी भए । अर्को कुरा माओवादीसँगको गठबन्धनलाई काँग्रेसभित्र धेरैले पचाएको छैन । यो त्यसैको रियाक्सन पनि हो । नेताहरू माथि निर्णय गर्छन्, तल लाद्छन् । काउन्सिलिङ गर्नुपर्थ्यो नि त । अहिले लोभीपापीको जमानामा पैसाको चलखेल होला । मेरो विश्लेषण त्यो हो । मैले माओवादीका माथिल्लो तहका नेतासँगै कुरा गरिसकेको छु नि । उहाँहरूले पनि पैसाको चलखेलबाटै भएको हो भनेर भन्नुभएको छ । दुवै साइडको समीक्षा नै यही हो । हामीले हिर्काएको भए यस्तो झारे तरिकाले हिर्काउँथ्यौ र हामी ? हामी त टिमले नै हान्ने हो नि हान्ने हुँदा । त्यसो हुँदा १२ जना सांसद र ३० जना स्थानीय तहका प्रतिनिधिले नै थाहा हुने गरी हान्थ्यौँ नि । हामी त त्यसरी म्यासेज दिन्थ्यौँ नि । यस्तो केटाकेटी काम गरिन्छ ? बुद्धि नभएर हो नि यस्तो काम गर्नेको । एउटा सांसद म्यानेज गरेको भए एमाले हारिसकेको थिएन ?’

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा महिलातर्फको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादीकी चम्पा कार्कीविरुद्ध एमालेकी रुक्मिणी कोइरालाले सर्प्राइज जित निकालिन् । कोइरालाले ५०८६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४९९२ मत मात्र पाइन् । कोइरालाले ४९ सांसदको मत पाउँदा कार्कीले ४४ जनाको मात्रै पाइन् । यस्तै स्थानीय तहबाट कोइरालाले १३१ जनाको २ हजार ४८९ मत पाउँदा कार्कीले भने १४० जनाको २ हजार ६५० मत पाइन् । महिला उम्मेदवारले पराजय बेहोर्दा सत्ता गठबन्धनबाटै काँग्रेस नेता कृष्ण प्रसाद सिटौला भने विजयी भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप