मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

गुट विवादले युवा सङ्घ कास्कीमा भाँडभैलो, अधिवेशन स्थलमा तोडफोड

आइतबार, १४ माघ २०८०, १० : ३४
आइतबार, १४ माघ २०८०

पोखरा । गण्डकी प्रदेशमा रहेको एमालेको दुई धारको प्रभाव भ्रातृ सङ्गठन युवा सङ्घमा पनि देखिएको छ । कास्कीको ११ औँ जिल्ला अधिवेशनमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समर्थितहरूबिच बेमेल हुँदा अधिवेशन नै रोकिएको छ । सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा सुरु भएको अधिवेशन कमिटी चयन नगरी स्थगित भएको छ ।

प्रतिनिधि छनोटको विषयलाई लिएर अधिकारी गुटका सहभागीहरूले विरोध जनाए । ‘अहिलेका अध्यक्षले प्रतिनिधि एकलौटी रूपमा हाले । सचिवालय बहुमत सदस्य राखेर इतरका प्रतिनिधिको नाम काटियो,’ अधिकारी समर्थित एक नेताले भने, ‘त्यसपछि खुला सत्र सकिने बित्तिकै प्रतिनिधिको नामावली माग्यौँ । माइन्युट माग्दा, माइन्युट हराएको जवाफ दिए । त्यसपछि अधिवेशन मान्दैनौँ भनेर रोकेका हौँ ।’

उनका अनुसार शुक्रबार बेलुका नै केन्द्रीय प्रतिनिधिको रोहबरमा लामो छलफल गरेर प्रतिनिधिको नयाँ नाम तोकिएको थियो । तर अध्यक्ष पानबहादुर जिसीले उक्त नामावलीमा आफ्नो सहमति नरहेको बताए । ‘अध्यक्षले प्रतिनिधिको नाम नस्वीकारेपछि नाराबाजी भयो । गमला र ढोका तोडफोड पनि भयो,’ उनले अघि भने, ‘त्यसपछि अधिवेशन गर्न सकिएन भनेर अध्यक्ष मण्डलले स्थगित गरेको हो ।’

युवा सङ्घको यो अधिवेशनलाई एमालेको जिल्ला अधिवेशनसँग पनि जोडिएको छ । दुवै पक्षले यसलाई शक्ति प्रदर्शनका रूपमा लिएका छन् । गुरुङ पक्षधरले सरस्वती पुरीलाई अध्यक्ष बनाउन खोजेको छ भने अधिकारी पक्षले हालका उपाध्यक्ष शङ्कर पौडेललाई अघि बढाएको छ । ‘छलफल समेत नगरी अचानक अधिवेशन घोषणा गरिएको छ । मनपरी प्रतिनिधि छनोट भएका छन्,’ अधिकारी पक्षधर नेताहरू भन्छन्, ‘एकलौटी चुनाव गर्ने तयारीमा लागेपछि हामीले नमानेको हो ।’

अध्यक्ष मण्डलले भने प्रतिनिधिहरूले हुल हुज्जत गरेका कारण अधिवेशन गर्न नसकेको निर्णय गरेको छ । ‘अध्यक्ष मण्डलको बैठक बसिरहेका बेला केही अराजक युवाहरूको समूहले बैठक बसिरहेको पार्टी प्यालेस तोडफोड र नाराबाजी गरे । पार्टी सचिव बैनबहादुर अधिकारी लगायतले सङ्गठनका उपाध्यक्ष तथा अध्यक्ष मण्डल सदस्यलाई व्यक्तिगत आरोप लगाए,’ निर्णयमा भनिएको छ, ‘यसबाट निर्वाचनको वातावरण असहज भएको छ । अर्को निर्णय हुँदासम्मको लागि सम्पूर्ण निर्णयको अधिकार अध्यक्ष मण्डलले लिने निर्णय गरियो ।’

युवा सङ्घका कास्की अध्यक्ष जिसीले प्रतिनिधि छनोटमा लगाइएको आरोप झुटो भएको बताए । ‘यसमा मेरो सीधै असहमति छ । सङ्गठनमा काम गरेको मान्छेलाई प्रतिनिधि छनोट गरेको हो । मैले अरू पार्टीको मान्छे ल्याएर राखेको हो र,’ उनले भने, ‘सङ्गठनमा दुख गरेको र सङ्गठनलाई मजबुत बनाउन हिँडेका सबै प्रतिनिधि मेरा हुन् । यसमा गुटगत व्यवहार गर्नु गलत हो ।’ अधिवेशनमा भएको असहमतिबारे उनले खुलेर कुरा गरेनन् ।

‘म अधिवेशनको मात्रै अध्यक्ष हुँ । अहिले म अध्यक्ष छैन,’ उनले भने, ‘त्यहाँ के भयो भन्ने कुरा आन्तरिक हो ।’ कास्कीका सचिव र दुई उपसचिवले युवासंघका केन्द्रीय इन्चार्ज महेश बस्नेतलाई ध्यानाकर्षण पत्र पनि पठाएका छन् । ‘आयोजक कमिटीको गणपूरक सङ्ख्या पुगेर बैठक बसेको हामीलाई जानकारी छैन । आयोजक कमिटीमा रहेको विवरण पनि पटक पटक थपघट मनोमानी तवरबाट गर्ने गरिएको छ,’ उनीहरुले भनेका छन्, ‘सङ्गठनको विधि विधानलाई समेत अङ्गीकार नगरी, विधान विपरीत अधिवेशन प्रतिनिधि मनोनीत गर्ने काम भएको हामीले देखेका छौँ ।’

उनीहरुले प्रतिनिधि टुङ्ग्याएर सहमतिमा मात्रै अधिवेशन गर्न सुझाएका छन् । ‘वास्तविक प्रतिनिधिको टुङ्गो नलगाई पदाधिकारीको बीचमा समेत छलफल नगरी अध्यक्ष मण्डल र निर्वाचन कमिटी अध्यक्ष संयोजकले हलमा घोषणा गरेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘एकलपाखे हिसाबले जिल्ला पदाधिकारीलाई बाइपास गरेर जिल्ला सदस्यलाई अध्यक्ष मण्डलमा राखियो, यसमा हाम्रो गम्भीर असहमति छ । जनसङ्गठनको अधिवेशन हुँदा पार्टी कमिटीसँगको छलफलबाट टुङ्ग्याउनुपर्छ ।’ एमाले जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा र अर्का उपसचिव नवराज ओझाले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप