सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
आन्दोलन

६१ दिनदेखि एक्लै धर्नामा छन् ‘कृष्ण अटल’

‘आफ्ना माग पूरा नभएसम्म धर्ना दिन्छु’
मङ्गलबार, १६ माघ २०८०, ०६ : १६
मङ्गलबार, १६ माघ २०८०

विराटनगर । विराटनगर–१० का ४३ वर्षीय कृष्ण अटलको पारिवारिक पृष्ठभूमि व्यवसायी हो । १३ वर्षको उमेरदेखि उनी व्यापार–व्यवसायमा लागेका हुन् । उनका बाउबाजेहरू पनि व्यापार व्यवसायमै संलग्न थिए ।

अहिले कृष्ण अटलको दिनचर्या फेरिएको छ । आफूले सञ्चालन गर्दै आएको व्यवसाय चटक्कै छोडेर दैनिक दिउँसो २ बजेदेखि ४ बजेसम्म विराटनगरको व्यस्त बजार ट्राफिक चोकमा उभिएर धर्ना दिइरहेका छन् उनी । उनलाई मासिक एक लाख, दुई लाख कमाउन समस्या छैन । उनलाई राजनीतिको रहर लागेको पनि होइन । तर, ‘देशको माया लागेको’ उनी बताउँछन् ।

‘मैले व्यवासाय सञ्चालन गर्दा थाहा पाएको छु, नेपालको कर प्रणाली यति धेरै करप्टेड छ । यसलाई नसुधारेसम्म देश बन्दैन’, उनले भने, ‘अहिलेको नेताहरुले देश बनाउँछन् भन्ने पनि लाग्दैन । तर, अब ढिला भयो । सबै जनता जाग्नुपर्छ ।’

विराटनगरको केन्द्रमा पर्ने ट्राफिक चोकमा उनी उभिएकै ठाउँबाट दैनिक सयौँ मानिस ओहोरदोहोर गरिरहन्छन् । कोही पैदल हिँड्छन्, कोही सवारी साधनमा हिँड्छन् । कतिपयले सोध्छन्, चासो दिन्छन् । तर, उनलाई अहिलेसम्म कुनै पनि सरकारी निकायले गम्भीरतापूर्वक सोधेका छैनन् । सबै आ–आफ्ना धुनमा छन् । ट्राफिक चोकमा ट्राफिक प्रहरी कार्यालय छ । उक्त कार्यालयको उत्तरपट्टी आन्तरिक राजस्व मोरङको कार्यालय छ । राजस्व कार्यालयकै पूर्वतर्फ वालमा ६१ दिन यता उनी दैनिक दुई घण्टा धर्नामा बसिरहेका छन् । उनी कराउँदैनन्, चिच्याउँदैनन्, हुलहुज्जत पनि गर्दैनन् । तर, उनलाई आशा छ, ‘यसैगरी म मेरो माग पूरा गराउँछु ।’

२०८० मङ्सिर १३ गते (२९ नोभेम्बर २०२३) देखि शनिबार बाहेक उनी धर्ना दिइरहेका छन् । ‘भ्रष्टाचार विरुद्ध आन्दोलन’ शीर्षक र ‘आम नेपाली’को नाम दिएर उनले थालेको आन्दोनल फरक छ । माग पनि फरक छन् । उनले राखेका चारवटै माग आर्थिक विषयसँग सम्बन्धित छन् । जसमा सबै प्रकारका प्रचलित कर खारेज गर्नुपर्ने, बैंकिङ कारोबार कर प्रणाली लागु गर्नुपर्ने, १ सयभन्दा माथिका सबै मुद्रा प्रतिबन्धित गर्नुपर्ने र प्राकृतिक सन्तुलन बिग्रनेगरी हुने सबै प्रकारका निर्माण कार्य बन्द गर्नुपर्ने उल्लेख छन् ।

‘तपाईको यही खालको आन्दोलनले माग पूरा होला ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘जहिलेसम्म पूरा हुँदैन, तबसम्म म यसरी नै दैनिक २ घण्टा धर्नामा बस्छु ।’ आफ्ना माग पूरा नभए पनि आम नेपाली जागरुक हुने उनको विश्वास छ ।

तर, आन्तरिक राजस्व कार्यालयलाई आफ्नै वालमा ब्यानर टाँगेर बसेका यी युवकको मागबारे जानकारी÷चासो छैन भने विराटनगरबाट धेरै टाढा रहेको काठमाडौँभित्रको सिंहदरबार, अर्थ मन्त्रालय वा सिङ्गो सरकारलाई चासो होला भनेर अनुमानसम्म पनि गर्न सकिँदैन । तर, कृष्णमा आत्मविश्वास अचम्मको छ । ‘लोकतन्त्रमा भिडको कुरामात्रै होइन, एउटा नागरिकको कुरा पनि सरकारले सुन्नुपर्छ,’ उनी भन्छन् ।

चौथो माग भने उनको अलिक अनौठो छ । उनले भने, ‘माथिका तीनवटै माग पूरा भइसकेपछि देशमा धेरै रकम जम्मा हुन्छ । त्यसबाट ठुला विकास निर्माणका योजना सुरु हुन्छन् । तर, नेपालमा त्यस्ता आयोजना जथाभावी सुरु गरिन्छ । त्यहाँ प्राकृतिक स्रोत साधनको दोहन हुनसक्छ । त्यसकारण निर्माण कार्य प्रकृति मैत्री हुनुपर्छ भन्ने गरी चौथो माग राखेको हुँ ।’

उनी आफ्ना मागको विस्तृत व्याख्या गर्छन् । ‘सबै प्रकारका कर खारेज गरेर बैंकिङ कारोबारको आधारमा कर लगाउनु पर्छ । त्यो भनेको १ लाख बैंकबाट कारोबार गर्दा १ हजार कर तिर्नुपर्छ भनेको हो,’ उनले सुनाए, ‘नेपालमा दुई दर्जन बढी प्रकारका कर लगाइएको छ । कर छली नगरी कुनै पनि व्यवसाय सफल हुने देखिँदैन । अनि कर छल्नका लागि ऐन, कानुनमा त्यस्तै व्यवस्था गरेको छ । त्यसकारण सबै कर खारेज गरेर बैंकिङ कारोबारका आधारमा १ प्रतिशत कर लगाउँदा सरकारलाई राजस्व २० खर्ब बढी उठ्छ ।’  हाल सरकारले १४ खर्ब ७२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ ।

उनले १ सयभन्दा माथिका सबै मुद्रा प्रतिबन्धिन गर्नुपर्ने विषयको पनि थप व्याख्या गर्न खोजे । ‘क्यास लेस गर्नुपर्छ । एक पटकमा १० हजारभन्दा बढी क्यास बोक्न नपाउने कानुनी व्यवस्था गर्नुपर्छ । त्यसो भयो भने बैंकबाट मात्रै कारोबार हुन्छ र कालो धन थुपार्न वा अनियमितता गर्न पाउँदैनन्, कसैले कर छल्न पनि पाउँदैन । सबै करको दायरामा आउँछन्,’ उनको भनाइ छ ।

चौथो माग भने उनको अलिक अनौठो छ । उनले भने, ‘माथिका तीनवटै माग पूरा भइसकेपछि देशमा धेरै रकम जम्मा हुन्छ । त्यसबाट ठुला विकास निर्माणका योजना सुरु हुन्छन् । तर, नेपालमा त्यस्ता आयोजना जथाभावी सुरु गरिन्छ । त्यहाँ प्राकृतिक स्रोत साधनको दोहन हुनसक्छ । त्यसकारण निर्माण कार्य प्रकृति मैत्री हुनुपर्छ भन्ने गरी चौथो माग राखेको हुँ ।’

Krishna Atal (4)

उनले राखेका माग र गरेको आन्दोलनबारे कतिपय मारवाडी समुदायबाट अब्जेक्सन भयो । ‘माग मुद्दा त ठिकै हो । तर, हाम्रो समुदायको काम व्यवसाय गर्ने हो । यो आन्दोलन र राजनीति हाम्रो काम होइन भन्ने आफन्तहरुको कुरा आयो,’ उनले भने, ‘सुरु सुरुमा आफन्तहरुले पनि अप्ठ्यारो माने । तर, अहिले शुभकामना दिइरहेका छन् ।’

कृष्णले हालसम्म केही सञ्चारमाध्यमले बाहेक सरकारी निकायबाट कुनै रेस्पोन्स नआएको पनि सुनाए । तीन सन्तान र श्रीमतीको जिम्मेवारी टाउकोमा बोकेका कृष्ण अटल अहिले देशको माया लागेर आन्दोलनमा आएको बताउँछन् । तर, आफूलाई लोकप्रियताको वा कुनै राजनीतिक मोह भने नभएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप