आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टेस्लाबाट एलन मस्कले ५६ अर्ब डलर तलब पाउने ‘डिल’ अदालतले रोक्यो

बुधबार, १७ माघ २०८०, १३ : ४४
बुधबार, १७ माघ २०८०

क्यालिफोर्निया । अमेरिकी राज्य डेलावेयरका एक न्यायाधीशले घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कलाई तलब सुविधा बापत नै ५५ अर्ब ८० करोड डलर दिने भनेर सन् २०१८ मा भएको एउटा डिल खारेज गरिदिएकी छिन् । टेस्लाको सञ्चालक समितिले कम्पनीको शेयर प्रदर्शनका आधारमा तोकिएको अवधिभित्र मस्कलाई  तलब दिने सो प्रस्ताव पारित गरेको थियो । तर कम्पनीका एक शेयरधनीले भने सो रकम अति नै धेरै भएको भन्दै मुद्दा दायर गरेका थिए ।

न्यायाधीश क्याथलिन म्याककोर्मिकले टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको ठहर गरेकी छिन् । यो निर्णयले झट्का खाएका मस्कले आफ्नो स्वामित्वमा रहेको माइक्रोब्लगिङ वेबसाइट एक्समा डेलावेयरमा कम्पनी कहिल्यै नराख्नु भन्दै बुधवार एउटा पोस्ट गरेका छन् । मस्कलाई दिने भनिएको उक्त तलब कर्पोरेट इतिहासको सबैभन्दा ठुलो रकम थियो । यसबाट मस्क तलबै खाएर विश्वकै पहिलो अर्बपति बन्नेवाला थिए । एक हप्तासम्म चलेको सुनवाइमा संसारका सबैभन्दा ‘डाइनामिक’ उद्यमीले आफ्ना सारा ध्यान कम्पनीलाई निरन्तर दिइरहन्छन् भन्ने सुनिश्चित गर्न सो डिल गरिएको तर्क गरेका थिए ।

तर टेस्ला र मस्कका वकिलहरूले वार्षिक साधारण सभामा यस निर्णयको पक्षमा मत दिएका शेयरधनीहरुलाई पूरै सुसूचित गरेको चाहिँ प्रमाणित गर्न नसकेको न्यायाधीशको ठहर थियो । यस्तो भएको भए शेयरधनीहरुले मुद्दा हाल्ने थिएनन् भन्ने विश्लेषण गर्न थालिएको छ । यो खबर सार्वजनिक भएपछि मंगलबारको कारोबारमा न्यूयोर्कमा टेस्लाको शेयर मूल्य ३ प्रतिशतले घटेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमा टेस्लाको शेयर मूल्य २० प्रतिशत भन्दा धेरैले घटिसकेको छ । केही अघि मस्कले टेस्लामा २५ प्रतिशतको मताधिकार शेयर नपाएसम्म कम्पनी एआई र रोबोटिक्समा अग्रणी कम्पनी बनोस् भन्ने चाहना आफ्नो नभएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप