यू–१९ विश्वकप क्रिकेट : नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको खेलमा नेपालले बंगलादेशलाई जितका लागि एक सय ७० रनको लक्ष्य दिएको छ ।
टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको हो । नेपालका लागि विशालबिक्रम केसीले सर्वाधिक ४८ रनको योगदान गरे । उनले एक सय बलको सामना गरी ६ चौका पनि हिर्काए ।
कप्तान देब खनालले पनि टोलीको खातामा ३५ रन थपे । उनले ६० बलको सामना गरी तीन चौका हिर्काएका थिए । सुवाष भण्डारी १८ रनमा अविजित रहे । ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४ रन बनाएका थिए ।
नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालले अतिरिक्त रुपमा पनि ३१ रन पाएको थियो । बंगलादेशका बलर रोहान्त बोर्सनले चार विकेट लिए । शेख परवेज जिबोनले पनि तीन विकेट हात पारे ।
‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेश दुबैले आफ्नो पहिलो खेल खेलेका हुन् । बंगलादेशको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जिवितै छ भने नेपाल ‘सुपर सिक्स’ चरणमा पहिलो खेल खेल्नुअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए । भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।
उक्त समूहबाट भारत, पाकिस्तान र बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत ६ अंकसहित पहिलो, पाकिस्तान पनि ६ अंकसहित दोस्रो, बंगलादेश दुई अंकसहित तेस्रो र न्युजिल्यान्ड दुई अंकसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा आसिन नेपाल र छैटौँ स्थानमा आसिन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् ।
न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड भने उपाधि होडबाट बाहिरिएका छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने छन् । नेपालले दोस्रो खेल भारतसँग खेल्नेछ । आफ्नो दुबै खेलमा विजयी भए पनि नेपाली टोलीको चार अंकमात्र पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण