बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
महानगर

धरहराको निःशुल्क पार्किङमा मोबाइलको बत्ती ! (भिडियो रिपोर्ट)

बुधबार, १७ माघ २०८०, १७ : ५६
बुधबार, १७ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीकै प्रमुख व्यापारिक क्षेत्र न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको केही दिनमै धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । यससँगै न्युरोड क्षेत्रमा हुने पार्किङ अब धरहरामा हुन थालेको छ । यसअघि न्युरोड क्षेत्रमा निजी कम्पनीले शुल्क लिएर पार्किङ स्पेश उपलब्ध गराउँदै आएको थियो । 

महानगरपालिकाले धरहरामा गत आइतबारदेखि नै निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको हो । यस्तै काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा पनि निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । 

न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ हटाइएपछि सुरुमा सवारी चालक, सर्वसाधारण र खासगरी व्यापारीहरूले व्यापारमा असर पर्ने भन्दै विरोध गरेका थिए । विरोधपछि महानगरले पुरानो बसपार्कसँगै धरहरामा पनि निःशुल्क पार्किङको व्यवस्था मिलाएर विरोधको स्वरलाई मत्थर बनायो । 

416376875_410190421681359_603640966738751043_n

अहिले धरहरा क्षेत्रमा पार्किङ गरेर सवारी धनीहरु न्युरोड क्षेत्रमा जाने गरेका छन् । तर, केही व्यवस्थापकीय पाटो भने सुधार गर्नुपर्ने आवश्यकता रहेको त्यहाँ पार्किङ गर्न पुग्नेहरूको अनुभव छ । 

पार्किङ क्षेत्र ठुलो र न्युरोड जान पनि नजिकै भएकाले यो ठाउँमा पार्किङको व्यवस्था गरेको राम्रो भएको तर उज्यालो भने नपुगेको पार्किङका लागि पुगेका सरोज रिमालले बताए ।  मोबाइलले बत्ती बाल्दै आफ्नो सवारीसाधन खोज्नु पर्ने अवस्था रहेको उनले अनुभव सुनाए । 

निर्माणाधीन चरणमै भए पनि लाइटको व्यवस्था भने पहिला गरिदिएको भए राम्रो हुने उनको भनाइ थियो । 

416333914_884611909818019_6425373012113723006_n

पहिला विरोध गरेपनि अहिले व्यवस्थित पार्किङ धरहरामा भएपछि समस्या सुल्झिएको न्युरोडका व्यवसायीले पनि बताउन थालेका छन् । अहिले न्युरोडमै पार्किङ नहुँदा आवतजावत गर्न धेरै सहज भएको व्यापारीहरु बताउँछन् । यस्तै पार्किङ हटाएर व्यापारमा पनि असर नदेखिएको भन्दै  व्यवसायी रमेश शाक्यले ग्राहकहरु पनि आइनैरहेको धारणा राखे । 

महानगरपालिकाका अनुसार न्युरोड जाने सवारी धनीहरूका लागि २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ ।  यो संख्या साबिक न्युरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको संख्याभन्दा धेरै भएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । 

416476358_1154700529232010_6721355179418364461_n

अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन्  । 

महानगरका अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता थियो  । 

भिडियो रिपोर्ट हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपा दाहाल
दीपा दाहाल
लेखकबाट थप