बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
विज्ञको सुझाव

बाँदर आतङ्क कसरी गर्ने व्यवस्थापन ?

बिहीबार, १८ माघ २०८०, ०६ : ५०
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढ्दो छ । बाँदर आङ्क अहिले राष्ट्रिय मुद्दा बनेको छ । संसदीय समितिमा समेत यसबारे छलफल चलिसकेको छ ।

कतिपय स्थानमा बाँदरले दुःख दिएकै कारण किसानले बाली लगाउन छोड्नुका साथै बसाइसराइ समेत गरेको पाइएको छ । वर्षौंदेखि खेतीपाती हुँदै आएको जग्गामा पछिल्लो समय बाँदर आतङ्ककै कारण किसानले खेती लगाउन नसक्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे चासो स्वाभाविक रुपमा बढेको छ ।

वन्यजन्तु वैज्ञानिक प्रा.डा. मुकेश कुमार चालिसे पछिल्लो समय बाँदरको प्राकृतिक गुण नष्ट भइरहेको बताउँछन् । उनका अनुसार बाँदर सिकारु जनावर भएकाले मानिसले गर्ने हरेक क्रियाकलाप सिक्ने गर्दछ । बाँदरले मानिसबाट सिकेको क्रियाकलाप बिस्तारै दोहो¥याउँछ र मानिसकै जस्तै व्यवहार गर्न खोज्दा किसानले हैरानी खेप्नु परेको उनको भनाइ छ ।

‘बाँदरमा मानिसले गरेको क्रियाकलाप सिक्न सक्ने क्षमता छ,’ उनले भने, ‘मान्छेले जे गरेको देख्छ, बाँदरले त्यही कुरा गर्न खोज्छ ।’

प्रा.डा.चालिसेका अनुसार जङ्गलमा खोजेर, पत्ता लगाएर, ठाउँठाउँमा गएर खानु पर्ने ठाउँमा बाँदर अचेल मान्छेले कुन ठाउँबाट खानेकुरा ल्यायो, त्यो हेरेर बस्ने र खाने गरेको छ । ‘प्रकृतिमा बसेका बाँदरलाई हामीले खाने कुरा दियौँ भने तर्सेर भाग्छन्, तर सहर बजार नजिक भएका बाँदरमा बिस्तारै प्राकृतिक गुण हराउँदै गएको छ ।’

dr. mukesh ku. chaliseमानिसले खाने वस्तु खाएर बाँदरमा विभिन्न खाले रोग देखिएको चालिसेले बताए । ‘प्राकृतिक रुपमा पाइने वस्तु नखाएर वा कम खाएर मान्छेसँग भएको वस्तु खानपिन गर्ने बाँदरमा विभिन्न रोग देखिन थालेको छ,’ उनले भने, ‘मान्छेका खाने कृत्रिम खाद्यवस्तु तथा बोसो, चिल्लो, चिनी, अमिलो, पिरो, नुनिलो खाने कुरा खाएर सहरतिर पाइने बाँदरमा रोग लाग्न थालेको छ ।’

बाँदरमा छाला खुइलिने रोग, रौँ झर्ने, श्वासप्रश्वासका रोग देखिएको चालिसेले उल्लेख गरे । ‘बिरामी बाँदरमा विभिन्न रोगका किटाणु भएकाले खुला रुपमा दिसापिसाब गर्दा मानिसमा पनि रोग सर्ने सम्भावना बढेको छ,’ उनले भने, ‘जनावरबाट सर्ने रोग अत्यन्तै खतरनाक हुन्छ, किनकि उनीहरुबाट सर्ने रोगको अध्ययन अनुसन्धान कमैमात्र भएको हुन्छ ।’

पछिल्लो पटक देखिएको कोरोना भाइरस पनि जनावरबाटै सरेको भन्दै उनले जनावरबाट सरेका रोगहरु उपचार गर्न गाह्रो हुने बताए ।

नेपालमा बाँदरले दुःख दिएर किसानले ठुलो क्षति बेहोर्नुपरेको उनले सुनाए । ‘हरेक वर्ष दुःख पाउनुभन्दा बसाइ सरेर जानु बेस भनेर धेरै ठाउँमा बसाइ सराइ भएको छ,’ चालिसेले भने, ‘संखुवासभातिर, बैतडीतिर, पोखरादेखि लिएर अर्घाखाँचीसम्म, पूर्वमा धनकुटादेखि लिएर खोटाङसम्म बाँदरका कारणले खेती गर्न नसक्ने स्थिति भएर बसाइ सरेका छन् ।’

bijay srestha

पहिला जङ्गल फँडानी गरेर बस्ती बसाउने चलन थियो । यसरी जङ्गल कम हुँदा बाँदर लगायत जङ्गली जनावरलाई खानाको कमी भएकाले गाउँ पस्न थालेको डल्फिन संरक्षण केन्द्रका सचिव तथा प्रकृति संरक्षक विजयराज श्रेष्ठ बताउँछन् । ‘जङ्गल मासिँदै गयो, जनावरलाई खाने कुरा पुगेन,’ उनले भने, ‘जङ्गलमा खान नपाएपछि गाउँघरमा देखिन थाले ।’

बाँदरको स्वभाव फरक–फरक

घना जङ्गलमा बस्ने बाँदर र गाउँ छेउमा बस्ने बाँदरको स्वभाव फरक भएको वन्यजन्तु वैज्ञानिक प्रा.डा. चालिसेले बताए । ‘गाउँ नजिक बस्ने बाँदर सबै चिज खान खोज्छ, देखेर सिकेर,’ उनी भन्छन्, ‘जङ्गलमा बसेको बाँदरलाई अम्बा, केरा खान दिएमा तर्सेर भाग्छ ।’

उनका अनुसार जङ्गलमा खोजीखोजी खानुभन्दा खेतबारीमा तयार भएको कृषि बाली खान बाँदर पल्किने गर्दछ ।

बाँदर सर्वभक्षी जनावर भएकाले प्रायः सबै थोक खाने गरेको चालिसेले बताए । मान्छेको खेतबारीमा उब्जाउ भएको धान, गहुँ, मकै, केराउ जस्ता बाली मान्छेको गतिविधि हेर्दाहेर्दै बाँदरले खान सिक्ने र खाँदै गर्दा बाली नष्ट गर्ने गरेको उनको भनाइ छ ।

थरी थरीका बाँदर

नेपालमा विभिन्न थरीका बाँदर छन् । रातो बाँदर, कालो बाँदर, पहरे बाँदर (पूर्वी नेपालमा एक थरी र पश्चिम नेपालमा अर्को थरी), लङ्गुर बाँदर (तराई, पहाड र हिमालमा बस्ने फरक–फरक) छन् ।

रातो बाँदरले खानेकुरालाई खाएर घाँटीमा जम्मा गरेर राख्ने हुनाले बालीनालीमा सबैभन्दा धेरै क्षति पु¥याउने प्रा.डा. चालिसेले उल्लेख गरे । ‘रातो बाँदर धेरैजसो दाना, किरा फट्याङ्ग्रा, फलफूल खाने भएकाले सबैभन्दा बदमास मानिन्छ,’ उनले भने, ‘किनकि यो बाँदर खाना ननिली घाँटीमा जम्मा गर्छ, लङ्गुर बाँदर र अरु बाँदरले चपाएर निल्ने गर्दछन् ।’

प्रा.डा. चालिसेको अध्ययन अनुसार नेपालमा रातो बाँदरको संख्या एक लाखको हराहारीमा छ । करिब पचास÷पचास हजारको संख्यामा लङ्गुर र पहरे बाँदर छन् ।

बाँदर व्यवस्थापन कसरी गर्ने ?

बाँदर नियन्त्रण गर्न ठाउँ अनुसार अध्ययन गरी सोही अनुसार व्यवस्थापन गर्न विज्ञहरुले सुझाएका छन् । ठाउँ अनुसार बाँदरको जात फरक–फरक छ । उनीहरुले किन दुःख दिएका हुन् भन्ने पत्ता लगाउन प्रा.डा. चालिसेले सुझाए । ‘बाँदरले कहाँ बढी दुःख दिन्छ, कुन जातकोले बढी दुःख दिन्छ, उनीहरुले दुःख दिने कारण के हो, जङ्गलबाट बाहिर किन आउँछन् भन्नेजस्ता कुरा अध्ययन गरेरमात्र यसको नियन्त्रणका उपाय निकाल्न सकिने उनले बताए । जङ्गलमा खानपिन कम भएको हो भने उनीहरुलाई जङ्गलमै खानपिनको व्यवस्थापन गरेर पनि खेतबारीमा आउनबाट रोक्न सकिने उनको भनाइ छ ।

उनले भने, ‘जहाँ बाँदर छन्, त्यहाँको अध्ययन गर्ने, रातो बाँदर औषधि परीक्षण गर्न धेरै काम लाग्ने भएकाले जहाँ त्यस्ता बाँदर बढी हुन्छ, त्यहाँ परीक्षणको प्रयोगशाला बनाइ अध्ययन गर्न सकिन्छ ।’

उनले बढी बाँदर हुने क्षेत्रमा सा–साना चिडियाखाना बनाउन सकिने बताए । ‘सहरी क्षेत्रमा रहेका बाँदरलाई समातेर सा–साना चिडियाखाना बनाउने हो भने सहरी क्षेत्रका मान्छेलाई मनोरञ्जन हुनुका साथै आर्थिक आयआर्जन पनि हुन्छ,’ उनले भने ।

बाँदर नियन्त्रण वा व्यवस्थापनका लागि जङ्गलमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम लागु गर्न सकिने प्रकृति संरक्षक श्रेष्ठले सुझाए । ‘सामुदायिक वनमा आँप, केरा, अम्बा जस्ता फलफूल लगाएर बाँदरलाई आहारको व्यवस्था गर्न सकिन्छ,’ श्रेष्ठले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप