शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’

शनिबार, ०७ असार २०८२, ०७ : ४३
शनिबार, ०७ असार २०८२

सारांश

  • इजरायलको आक्रमण जारी रहेकाले इरानले आणविक कार्यक्रमबारे वार्ता नगर्ने जनायो।
  • इरानले इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै आत्मरक्षाको अधिकार प्रयोग गर्ने बतायो।
  • इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई हप्ताभित्र निर्णय लिने बताए।

जेनेभा । आफूमाथि आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नहुने इरानले स्पष्ट पारेको छ। यो प्रतिक्रिया इजरायलका रक्षामन्त्रीले इरानसँग ‘लामो संघर्ष’ को चेतावनी दिएपछि आएको हो।

इरानी विदेशमन्त्री अब्बास अराघचीले जिनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गरेका थिए । उनलाई अमेरिकासँग आणविक कूटनीति पुनः सुरु गर्न आग्रह गरिएको थियो। तर उनले भने, ‘इजरायलको आक्रामकता रोकिएपछि मात्र कूटनीति सम्भव हुन्छ।’

तेहरानले आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ। अराघचीले थपे, ‘इरान आफ्नो वैध आत्मरक्षा अधिकार प्रयोग गर्न पछि पर्ने छैन।’

त्यसैबिच, इजरायली सेनाले इरानी मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रहरूमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ। यसअघि इरानले पनि इजरायलको मध्य क्षेत्रमा मिसाइल प्रहार गरेको थियो। तेल अभिभ नजिकै विस्फोटको ठुलो आवाज सुनिएको थियो । रिपोर्टअनुसार केही भवनमा आगलागी समेत भएको छ।

इजरायलका विदेश मन्त्री एयाल जामिरले भिडियो सन्देशमार्फत आफ्नो देश ‘कठिन दिनहरू’ का लागि तयार रहनुपर्ने बताएका छन्। इजरायलका संयुक्त राष्ट्रसंघका राजदूतले इरानलाई ‘विनाशकारी एजेन्डा’ बोकेको देश भन्दै आणविक केन्द्रहरू पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण नरोकिने बताए।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी हवाई आक्रमणबाट बच्नको लागि दुई हप्ताको समय दिएका छन्। उनले भने, ‘म निर्णय लिनुअघि अधिकतम दुई हप्ता कुर्नेछु।’

अब क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरूमा असर पार्ने देखिएको छ । यसले थप युद्धको सम्भावना गहिरिँदै गएको छ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप