शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा घोटाला प्रकरण

प्रहरीलाई ४५ मिनेट कुराएपछि आफ्नै गाडीमा सीआईबीमा जान तयार भए अरुण चौधरी

पक्राउपछि भने–‘मेरो सबैकुरा सिध्याइदिनुभो’
बिहीबार, १८ माघ २०८०, १८ : ४७
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । व्यापारी अरुण चौधरीलाई पक्राउ गर्ने तयारीबारे केन्द्रीय अनुसन्धान ब्यूरोका उच्च तहका अधिकृतहरु मात्रै जानकार थिए । बिहीबार बिहान ६ बजेतिर डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई एकजना ‘उच्च घराना’का व्यवसायी पक्राउ गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले आदेश गरिन् ।

आदेशसँगै भण्डारी आफ्नो टिम लिएर लाजिम्पाटस्थित सिर्जना मार्गमा गए । आदेश थियो,‘रेकी मात्रै गर्नु ।’ त्यतिन्जेल चौधरीको नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थिएन ।

बिहान १० बजेपछि सीआईबीको एउटा टिमले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि अरुणलाई पक्राउ गर्न ब्यूरो प्रमुखले आदेश गरिन् । त्यसपछि डीएसपी भण्डारी अरुणको घरमा प्रवेश गरे । अरुण हंगेरीको अवैतनिक महावाणिज्य दूत हुन् । अनुसन्धान अधिकृतहरुले भने,‘हाम्रो मान्छे हंगेरीमा पक्राउ परेको छ, छुटाउनका लागि अरुण सरसँग कुरा गर्नुपर्ने छ ।’ तर, सुरक्षागार्डले भित्र जान नदिएपछि ‘हामी प्रहरी हौँ’ भन्दै ब्यूरोका अधिकारी घरमा प्रवेश गरेका हुन् ।

प्रहरी आएको सूचना पाएपछि अरुले बाहिर खबर पठाए–‘नुहाउँदै छु भन्नु ।’ ब्यूरोको टिम घर कम्पाउण्डमा कुरेर बस्यो । फेरि खबर आयो–‘कपडा लगाउँदै हुनुहुन्छ ।’ प्रहरीलाई करिब ४५ मिनेट कुराएपछि चौधरी निस्केर सोधे–‘के थियो होला ?’

ब्यूरोमा गएर एआईजी किरण बज्राचायसँग कुरा गर्न आग्रह गरेपछि चौधरीले सोधे,‘मेरो गाडीमा जान मिल्छ ?’ डीएसपी भण्डारीले उनकै गाडीमा जान मिल्ने बताए ।

उनको गाडीमा प्रहरी अधिकृतहरुपनि सँगै बसे । त्यसपछि प्रहरीले उनलाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरोको नयाँ कार्यालयमा ल्याए । ब्यूरोमा आएपछि एआईजी बज्रचार्यको कार्यकक्षमा उपस्थित भएका अरुणले भने,‘मेरो सवैकुरा सिध्याइदिनुभो ।’

आफू बिरामी भएको र औषधी सेवन गरिरहेको अरुणले प्रहरीसँग बताएका छन् । अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजीकरण गरेको आरोप छ ।

चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्वअध्यक्ष अजित नारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका वर्तमान अध्यक्ष संजय ठाकुरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप