अरुण चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।
तर, प्रहरीले सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन ।
प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो । यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ ।
थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।
यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ ।
तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित सीआईबीको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण