शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा घोटाला प्रकरण

अरुण चौधरी र थापालाई ४/४ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहीबार, १८ माघ २०८०, १७ : ०७
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका  छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

तर,  प्रहरीले सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन । 

 प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो ।  यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ । 

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।

यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ । 

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी  बनाएको आरोप छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ ।

तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित सीआईबीको हिरासतमा राखिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप