शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लामाको नेतृत्वमा यूएनडीओ दर्ता, शर्माले बोलाए केन्द्रीय कार्यालयमा आईसीसी बैठक

बिहीबार, १८ माघ २०८०, २१ : २९
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) टुटफुटको शृङ्खला जारी रहेको छ ।  हालै परराष्ट्र मन्त्रालयले युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडिओ) नामको नयाँ संस्था दर्ता गरिदिएको हो।  एनआरएनएका पूर्वअध्यक्ष शेष घले निकटका सोनाम लामाको  नेतृत्वमा यूएनडीओ विदेशी पासपोर्ट लिएका नेपाली मूलका विदेशी मात्र सदस्य रहने जनाइएको छ ।

यसअघि १० औँ महाधिवेशनमा घलेकै नेतृत्वमा एनआरएनएको छुट्टै महाधिवेशन समेत भएर विनोद कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति बनेको थियो । जुन कार्यसमिति अहिले पनि कायम रहेको सन्दर्भमा फेरि यूएनडीओ दर्ता भएको हो । 

यसैगरी ११ औँ महाधिवेशनमा चुनावी नतिजाबारेको विवादले बद्री केसी र आरके शर्माले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् । यसरी एनआरएनएहरु छिन्नभिन्न हुँदा गैरआवासीय अभियान कमजोर भन्ने चिन्ता प्रकट गरिएको छ । 

यस्तो पृष्ठभूमिमा आरके शर्माले आफ्नोतर्फबाट सबैसँग एकताका लागि पहल हुने बताएका हुन् ।  ‘गत १० औँ महाधिवेशनमा बिराइएको बाटोलाई ११ औँ महाधिवेशनमा सच्याउने र एकताको महाधिवेशन बनाउने भनेर मैले धेरै पहल गरेपछि प्रधानमन्त्रीको उपस्थितिमा एउटा सहमति पनि भएको थियो’, उनले भने, ‘सो सहमतिबाट एकताको महाधिवेशन गर्न हामी धेरै नजिक पुगेका थियौँ । तर, केही साथीहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि त्यतिखेर एकताको महाधिवेशन गर्न वातावरण बिगार्नुभयो ।’

एनआरएनएजस्तो पवित्र अभियानलाई पवित्र ढङ्गले नै अघि बढाउनका लागि आफ्नो पहलकदमी हुने उनले बताए । ‘पहिला भएको सहमतिअनुसार नै सबैसँग छलफल गरेर अघि नबढिए अहिलेसम्म गैरआवासीय अभियानले प्राप्त गरेको गैरआवासीय नागरिकता, सामाजिक सुरक्षा कोषका विषय र समृद्ध नेपालका जुन छ त्यो नै कमजोर हुन सक्छन् । यो कुरा मलाई महसुस भएको छ र उहाँहरूले पनि महसुस गर्नुहुनेछ भन्ने विश्वासका साथ हामी छिट्टै नै एक ठाउँमा उभिन पहल गर्नेछौँ,’ उनले भने ।

उनले सबैलाई एकताबद्ध गराउनु पहलकदमी लिनु आफ्नो कर्तव्य भएको पनि बताए । ‘त्यसको लागि ढिलो होला । तर, सम्भव छ र सबै गैरआवासीय नेपाली संघ एउटै छाताभित्र उभिनुपर्छ । त्यसको विकल्प छैन’, उनले भने । 

अहिले खुलेको भनिएको नयाँ संस्थाको उद्देश्य जे भएपनि नेपाली मन नै भएको भन्दै विगतलाई हेर्दा पनि केही स्वार्थी समूहले गरेको व्यवहारले निम्ताएको दुर्घटना भएकाले अझैपनि एकता सम्भव रहेको उनको भनाइ थियो । भएको गल्तीमा ११ औँ महाधिवेशनमा कोर्स करेक्सन गर्न आफू निरन्तर लागेको भएपनि केही व्यक्तिहरूको चुनावी धाँधलीले त्यसले मूर्तरुप पाउन नसकेको बताए । उनले चुनावमा भएको छानबिन समिति गठन भइसकेकाले छिट्टै निकास पाउने विश्वास पनि व्यक्त गरे । 

परराष्ट्र मन्त्रालयका अनुसार २९ पुस २०८० मा परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो । लामाले गतवर्ष यही संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिए पनि परराष्ट्रले छुट्टै संस्था दर्ता गर्न अस्वीकार गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले  संस्था दर्ताका लागि बाटो फुकाएको थियो । यसैगरी बद्री केसी नेतृत्वको एनआरएनएले पनि एकताका लागि पहल हुने बताएको छ ।

यसैबीच शर्माले आईसीसीको बैठक संघको कार्यालय बालुवाटारमा बोलाएका छन् । बद्री केसी पक्षले कार्यालय प्रवेश नै नदिइरहेको बेला शर्मा पक्षले कार्यालयमै बोलाइएको बैठकलाई महत्वका साथ हेरिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को प्रत्यक्ष बैठक आगामी फागुन ९ र १० (फेब्रुअरी २१ र २२) मा संघको केन्द्रीय कार्यालय बालुवाटारमा बस्ने शर्मा भनाइ छ । बैठकमा नागरिकता, वैदेशिक रोजगारीसम्बन्धी संघको साझा एजेन्डाका साथै आगामी योजनाका सन्दर्भमा पनि वृहद छलफल हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप